Hamrohealth

नयाँ बजेट भाषणको चमत्कार।पालिकाहरुले एम्बुलेन्स खरीद गर्दा लाग्ने भन्सारमा ९९ प्रतिशत छुट

काठमाडौँ, १६ जेठ । सरकारले स्थानीय तहले खरीद गर्ने एम्बुलेन्सको भन्सार महशुलमा ९९ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा पालिकाहरुले खरीद गर्ने एम्बुलेन्समा १ प्रतिशत मात्रै भन्सार महशुल लिइने उल्लेख छ ।

बजेटमा यस्तो सुविधा मन्त्रालयको सिफारिसमा गाँउपालिकाले २ वटा, नगरपालिकाले तीनवटा र उपमहानगर तथा महानगरपालिकाले चार वटासम्म एम्बुलेन्स गर्दा पाइने उल्लेख छ ।

यो छुटले एम्बुलेन्स खरीदको लागत मूल्यमा कमी हुने देखिएको छ ।

सिनियर डाक्टरको ‘दुर्व्यवहार’पछि डाक्टर पायलले गरिन् आत्महत्या, घटनामा संलग्न तीन जना डाक्टर पक्राउ

बिबिसी – मुम्बईको एक सरकारी अस्पतालमा विशेषज्ञ तह अध्ययनरत डाक्टर पायल तडवीले आत्महत्या गरेकी छिन्। डा पायलको परिवारले सिनियरले गरेको दुव्र्यवहार सहन नसकेर पायलले आत्महत्या गरेको आरोप लगाएका छन्।

उनको आत्महत्यापछि प्रहरीले तीन जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ परेका डाक्टरसँग यो विषयमा अनुसन्धानको काम भइरहेको मुम्बई प्रहरीले जनाएको छ।

डा पायलले मे २२ तारिखमा आत्महत्या गरेकी थिइन्। उनकी आमा आबेदा तडबीले पक्राउ परेका तीन जना डाक्टरले छोरीलाई केही महिनादेखि दुःख दिँदै आइरहेको बताएकी छिन्।

मेडिकल कलेजका तीनजना वरिष्ठ आवासीय डाक्टरले उनीविरुद्ध जातीय विभेदका शब्दको प्रयोगको गरेको आरोप लागेको छ। जातीय विभेदलाई लिएर उनलाई दुर्व्य वहार गरेका थिए। परिवारले उनीहरुको दुर्व्यव्यवहारका कारण आजित भएर पायलले आत्महत्या गरेको दावी गरेका छन्।

मुम्बई प्रहरीले यो विषयमा नियन्त्रणमा लिएका तीन डाक्टरलाई अत्याचार विरोधी, र्‍यागिङ विरोध र सूचना प्रविधि ऐन अनुसार मुद्धा दर्ता गरेको छ। 

प्रहरी नियन्त्रणमा रहेका डाक्टरहरुले भने अरोपको खन्डन गरेका छन्। उनीहरुले आवासिय चिकित्सकहरुको संस्थामार्फत यो विषयमा निष्पक्ष जाँच गर्न माग गरेका छन्। 

उत्तरी महाराष्ट्रको जल गाउँकी पायल ताडावी टोपीवाला मेडिकल कलेजमा गाइनोकोलोजिष्ट अर्थात प्रसूति तथा स्त्री रोग विशेषज्ञ विषय पढिरहेकी थिइन्। आफ्नो पढाई पूरा गरिसकेपछि उनले आदिवासी क्षेत्रमा काम गर्ने सोच बनाएकी थिइन्। 

उनले पश्चिम महाराष्ट्रको मीराज(सांगली मेडिकल कलेजबाट एमबिबिएस अध्ययन गरेकी थिइन्।

उनी पिछडिएकी वर्गकी भएका कारण उनले आरक्षण कोटामा भर्ना भएकी थिइन्।

कलेजका डिन डा रमेश भरमालका अनुसार घटनाको भोलिपल्ट नै एन्टी रैङ्गिग समितिले नियमानुसार अनुसन्धान सुरु गरिसकेको छ। समितिले २५ जनाको बयान समेत लिइसकेको छ। 

पायलकी आमा आबेदा ताडावीले बीवाईएल नायर अस्पतालका डिनलाई यस सम्बन्धी लिखित उजुरी समेत दिएकी थिइन्। ‘म यसअघि नै उजुरी दिनेवाला थिएँ तर पायलले मलाई रोकेकी थिइन्, उसलाई डर थियो उनीहरुविरुद्ध उजुरी दियो भने आफूप्रति झन धेरै दुर्व्यवहार हुन्छ, जसका कारण मैले आफूलाई रोकेकी थिएँ’ उनले उजुरीमा लेखेकी छिन्।

गरीब र पिछडिएको परिवारबाट आएकी पायलले मेडिकल शिक्षामा सफलता हासिल गरिरहेकी थिइन्। आफ्नी छोरीप्रति गर्व महसुस भइरहेको आबेदाले बताएकी छिन्।

वरिष्ठ महिला डाक्टरहरुले बिरामीका अगाडि पायलको बेइज्जत गर्ने गरेको बताएकी छिन्। उनले भनिन्, ‘यसका कारण मेरी छोरीमाथि मानसिक दबाब परिरहेको थियो।’ आफ्नो मानसिक स्वास्थ्यलाई लिएर पायल चिन्तित भएको आबेदाले बताएकी छिन्। यतिमात्र नभएर पायलले आफ्नो विभाग समेत परिर्वतन गर्ने सोच बनाएकी थिइन्।

पायलका साथ काम गरिरहेका अन्य डाक्टरहरुले सोसल मिडियामा रिसले भरिएका गुनासा व्यक्त गर्नुका साथै अभियुक्त डाक्टरहरुविरुद्ध कडा कारवाहीको माग गरेका छन्।

स्वास्थ्यका लागि कतिको पोषिलो निगुरो साग ?हेर्नुहोस फाइदै फाइदा। जानिराखाैँ अनि सबैमाझ सेयर गरौं ।

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् ।

निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात, यो पूर्णत जैविक हुन्छ ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधी प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसयान वा विषादी मिसाउने गरिन्छ ।

कसरी खाने ?

निगुरो तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।

कति पोषिलो ?

निगुरो खानुको फाइदै फाइदा छन् । आफै बनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । बनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाई छ ।

के हुन्छ त निगुरोमा ?

पोषणविद्हरु भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरु बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविदहरुले यसमा कोलेस्ट्रोल एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने बताएका छन् ।

तर, सर्तक हुनुपर्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय विरामी परेको खबर पनि बारम्बार आउने गर्छ । त्यसैले आफुले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हाम्रो भोजन कसरी बनाउने सन्तुलित ?

शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व आवश्यक मात्रामा रहेको भोजनलाई सन्तुलित भोजन भनिन्छ। मानिसको शरीरलाई स्वस्थ्य राख्न विभिन्न पोषक तत्वको आवश्यकता पर्छ। शरीरलाई आवश्यक पोषक तत्वहरू कार्बोहाइड्रेड, प्रोटिन, फ्याट, भिटामिन, खनिज पदार्थ तथा पानी हुन्। एउटै मात्र खानाले शरीरमा चाहिने सम्पूर्ण पोषक तत्व प्राप्त गर्न सकिँदैन। त्यसैले विभिन्न थरिका खानेकुरा खानुपर्ने हुन्छ जसले गर्दा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्वहरु आवश्यक मात्रामा पूर्ति हुने गर्छ।

सन्तुलित भोजनले हाम्रो शरीरका कोष तथा तन्तुलाई राम्रोसँग काम गर्न सघाउने भएकाले हाम्रो शरीर स्वस्थ रहन्छ। सन्तुलित भोजन प्राप्त नभए विभिन्न रोग लाग्ने, छिटो थकान महसुस हुने साथै शरीरको कार्यक्षमता घट्छ। बालबालिकाले सन्तुलित भोजन नपाए उनीहरुको वृद्धि विकासमा समस्या आउँछ। सन्तुलित भोजनको अभावमा मुटु सम्बन्धी रोग, क्यान्सर, मधुमेह, स्ट्रोक, रत्नधो, गलगाँड, रक्तअल्पता जस्ता रोग लाग्छन्।

हामीले खाने क्यालोरी र खर्च गर्ने क्यालोरी दैनिक रूपमा बराबर हुनुपर्छ। हाम्रो तौल, उमेर, लिङ्ग, श्रम आदिका आधारमा कसैलाई धेरै क्यालोरी चाहिन्छ भने कसैलाई अलि कम भए पुग्छ। हामीले खाने क्यालोरी र खर्च गर्ने क्यालोरी दैनिक रूपमा बराबर नभएमा स्वास्थ्यमा नकारात्मक असर गर्छ। क्यालोरी धेरै भएमा हाम्रो शरीरमा बोसोका रूपमा जम्मा हुने र नकारात्मक असर गर्छ भने कम क्यालोरीले शरीर दुब्लो हुँदै गएर कमजोरी बढ्नेछ।

कसरी बन्छ सन्तुलित भोजन ?

हामीले सन्तुलित भोजनका लागि हार्भड स्कुल अफ पब्लिक हेल्थ र हार्भड मेडिकल स्कुलका विशेषज्ञले तयार पारेको ‘हेल्दी इटिङ’ (सन्तुलित भोजन) प्लेटको प्रयोग गर्न सक्छौँ। हेल्दी इटिङ प्लेटमा शरीरलाई आवश्यक पर्ने कार्वोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज तथा पानी आवश्यक मात्रामा मिलाएर राखिएको छ। कार्वोहाइड्रेडको मुख्यस्रोत अन्न, प्रोटिनको मुख्य स्रोत गेडागुडी, माछा, कुखुराको मासु, अण्डा, दूधजन्य पदार्थ हुन् भने भिटामिन, खनिज पदार्थका मुख्य स्रोतहरू सागपात तथा फलफूल हुन्।

सागपात तथा फलफूल

हामीले खाने खानाको आधा भाग सागपात तथा फलफूल हुनुपर्छ। सागपात तथा फलफूलबाट हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन तथा खनिज पदार्थ पाइन्छ। सगपातहरूमा लट्टे, पालुङ्गो, मेथी, रायो, मुलाको साग, चम्चुर, सिस्नो, निगुरो, सिमिसाग, तोरिको साग आदि खान सकिन्छ। यस्तै, आँप, अम्बा, केरा, स्याउ, एभोकाडो, किवी, अनार, कटहर, सुन्तला, नस्पाति, मौसम, अङ्गुर, आलुबखडा, स्ट्रबेरी, लिची, मेवा, आरू, काफल, नरिवल, खर्बुजा लगायतका फलफूल मौसमअनुसार खानुपर्छ।

अन्न

हामीले खाने खानामा चार भागको एक भाग अन्न हुनुपर्छ। अन्नबाट हाम्रो शरीरले मुख्य गरेर कार्वोहाइड्रेड पाउँछ। कार्वोहाइड्रेडका मुख्य स्रोतहरू चामल, गँहु, मकै, फापर, कोदो, जौँ, आलु, सख्खरखण्ड आदि हुन्। सकेसम्म कम प्रशोधित अन्नको प्रयोग गर्नु राम्रो हो। जस्तो, नफलेको चामल, प्रशोधन नगरिएको गँहुको पिठोको परिकार आदि।

प्रोटिन

हामीले खाने खानामा चार भागको अर्को एक भाग प्रोटिनजन्य खानेकुरा हुनुपर्छ। प्रोटिनले शरीरको विकासमा सहयोग गर्छ। मुख्यगरी गेडागुडीमा बढी मात्रामा प्रोटिन पाइन्छ। भटमास, चना, केराउ, सिबी, बोडी, बदाम, राजमा, मास, मसुरो, रहर आदि गेडागुडीका साथै माछा, कुखुराको मासु, अण्डा, दूधजन्य पदार्थमा पनि प्रोटिनके मात्रा बढी हुन्छ। दूध तथा दही भने दैनिक दुई सयदेखि चार सय मिलिलिटर मात्र खानुपर्छ। सकेसम्म रातो मासु, फ्राइ गरेका तथा तेलमा तारेका खानाहरू खानु हुँदैन।

चिल्लो पदार्थ

हाम्रो खानामा केही मात्रा स्वस्थ चिल्लो पदार्थ पनि आवश्यक पर्छ। चिल्लो पदार्थले शरीरलाई शक्ति दिनुका साथै विभिन्न भिटामिनलाई घुलाउन सहयोग गर्छ। चिल्लो पदार्थका लागि शुद्ध तोरिको तेल, जैतुनको तेल, सूर्यमुखि तेल, बदामको तेल प्रयोग गर्नु पर्दछ। घ्यु तथा वनस्पति घ्यु सकेसम्म कम प्रयोग गर्नु राम्रो।

पानी

पानी शरीरका लागि नभई नहुने तत्व हो। शरीरलाई दैनिक ६ देखि ८ गिलास पानीको आवश्यकता पर्छ। पानीको केही मात्रा चिया, कफी, दूध, फलफूल, सागपातबाट पनि पूरा हुन्छ। चिया अथवा कफी खाँदा चिनीको प्रयोग नगर्ने अथवा कम गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो।

व्यायाम

स्वस्थ रहनका लागि सन्तुलित भोजनसँगै शारीरिक व्यायाम पनि चाहिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक एक घण्टा पसिना आउनेगरी

हिँड्नुपर्छ। हिँडाइसँगै अन्य शारीरिक गतिविधि पनि गर्न सकिन्छ। यदि स्वास्थ्यमा कुनै समस्या छ भने शारीरिक व्यायाम चिकित्सकको सल्लाह अनुसार मात्र गर्नुपर्छ।

सन्तुलित भोजनका लागि केही सुझाब

१. नुन दैनिक ३ देखि ५ ग्राम मात्र प्रयोग गर्ने।

२. सकेसम्म फलफूल, सागपात, गेडागुडी र फाइबरयुक्त खाना बढी खने।

३. स्वस्थ्यका लागि धेरैपटक थोरैथोरै गरेर खानु राम्रो। बिहान–बेलुका एकै पटक धेरै मात्रामा खाना खानु स्वास्थ्यका हिसाबले उति राम्रो मानिँदैन।

४. हामीले खाने क्यालोरी र खर्च गर्ने क्यलोरी बराबर हुनुपर्छ। जसले गर्दा स्वस्थ रहन र तौल नियन्त्रण गर्न सहयोग मिल्छ।

५. फ्याटको मात्रालाई सकेसम्म कम गर्नु पर्दछ। वनस्पति स्रोतको फ्याट शरीरलाई लाभदायक हुन्छ।

६. बासी, सडेगलेको, फोहोर खानेकुरा खानु हुँदैन।

७. बेलुकाको खाना ७ बजेभन्दा अगाडि खानुपर्छ। खाना खाएको १–२ घण्टापछि मात्र सुत्नुपर्छ।

८. शुद्धीकरण गरिएको पानी मात्र पिउनुपर्छ।

९. सकेसम्म कम प्रशोधित अन्न खाने। घरमा बनाएको खाना प्रयोग गर्ने। सेतो चिनीको कम प्रयोग गर्नु पर्दछ।

१०. धूमपान तथा मध्यपानको सेवन नगर्ने।

११. गर्भावस्था तथा सुत्केरी अवस्थामा केही बढी पौष्टिक तत्व आवश्यक पर्ने भएकाले थप खाना खानु पर्छ।

१२. शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउने र ६ महिनापछि थप तथा पूरक खाना खुवाउने।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

बढ्यो कर्मचारीको तलब राजपत्र अनंकितलाई २० प्रतिशत र राजपत्र अंकितलाई १८ प्रतिशतले बढ्यो कर्मचारीको तलब कसको कति?

काठमाडौं– सरकारी कर्मचारीको तलब रकम बढेको छ। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो।

महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।

कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन। 

यद्यपि, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महंगी भत्ता २ हजार रुपैयाँ र पोशाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।

त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।

स्वास्थ्यको बजेट ६८ अर्व ७८ करोड : के के कार्यक्रम परे ?

काठमाडौँ, १५ जेठ ।अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि बजेट पेश गरेका छन् । आज संसदको दुबै सदनको संयुक्त बैठकमा उनले आर्थिक बर्ष २०७६/ ७७ को सरकारको बजेट पेश गरेका हुन् ।
बजेटमा यसपटक स्वास्थ्यले  ६८ अर्व ७८ करोड रुपैयाँ बजेट पाएको छ ।

यसपटक स्वास्थ्यको के – के विषय परयो ? अर्थमन्त्री डा. खतिवडाकै शव्दमा ….

  • देशभरका सबै सामुदायिक अस्पतालका छात्राहरुलाई सेनिटरी प्याड निशुल्क उपलव्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
  • विकासको साध्य र साधन दुबै नागरिक नै भएकोले सबै नागरिकलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सबल मानव पूजि निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरेको छु ।
  • आधारभुत स्वास्स्थ्य सेवालाई निशुल्क गर्दै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ । स्वास्थ्य सेवालाई सर्भसुलभ र गुणस्तरीय बनाइने छ । स्थानीय तहका सेवा प्रदायक संस्था बाट प्रदान गरिने तोकिएका आधारभूत स्वास्थ्य सेवा भरपर्दो बनाइने छ ।
  • सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने गरी कार्यक्रम तय गरिएको छ । स्वास्थ्य बिमाले समेटने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्यकेन्द्रबाट उपलव्ध गराइनेछ । विमितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि न्युनतम गुणस्तर मानक निर्धारण गरिनेछ । मुलुकका सबै जिल्लामा स्वास्थ्य बिमा योजना सञ्चालन गर्न छ अर्व विनियोजन गरेको छु ।
  • महिलाहरुमा बढदो क्रममा रहेको सर्भाइकल तथा स्तनक्यान्सर जस्तो घातक रोग पहिचानका लागि निशुल्क स्वास्थ्य परीक्षण, र सर्भाकल क्यान्सर विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्न र सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • हरेक स्थानीय तहका वडास्तर देखि नै पूर्ण खोप सुनिश्चित गर्ने कार्यलाई अभियानको रुपमा गरिनेछ ।
  • विपन्न नागरिकका लागि आठ प्रकारका जटिल र असाध्य रोगको उपचारका लागि अनुदानमा बृद्धि गरी रु २ अर्व २० करोड पुरयाएको छु ।
  • क्यान्सर उच्चरक्तचाप र मधुमेहको जस्ता बढदो प्रबृत्तिका रोगहरुको रोकथाम र निदान कार्यक्रम गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • आमा र बच्चाको पोषण सुनिश्चित गर्न गर्भावस्ता दे िखनै प्रसूति सुरक्षा सेवा पुरयाउइनेछ । यस अन्तरगर्त गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संसथमा सुत्केरी हुनेका लागि प्रदान हुने यातायात खर्चका लागि रु २ अर्व २२ करोड विनियोजन गरेको छु ।
  • बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि रु ६ अर्व बिनियोजन गरेको छु ।
  •  मुलुक भरका करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै उनीहरुको कार्यलाई थप प्रोत्साहन गर्न बार्षिक रुपमा उपलव्ध गराउदै आएको यातायात खर्च स्वरुप बार्षिक रु ३ हजारका दरले उपलव्ध गराउन रु १५ करोड विनियोजन गरेको छु ।
  • पश्चिम तराईमा रहेको सिकलसेल एनिमिया रोकथाम गर्न विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेको छु ।
  • क्षयरोग, एडस तथा यौन रोग र कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि रु १ अर्व ८२ करोड विनियोजन गरेकोछु ।
  • स्थानीय तह प्रदेश र विभिन्न संघसंस्था स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई साझेदारीमा सञ्चालन गर्न रु १ अर्व विनियोजन गरेकोछु ।
  • स्वास्थ्य पूर्वाधार नभएका स्थानीय तहहरुमा कम्तिमा एक प्राविधिक अस्पताल स्थापना गरी सबै स्थानीय तहमा न्युनतम १ चिकित्सकको व्यवस्था गरिनेछ ।
  • आधारभूत स्वास्थ्य सेवा स्थानीय तहका सबै वडाहरुमा उपलव्ध गराउन स्थानीय तहको लागत सहभागिता स्वास्थ्य संस्था निर्माण गर्न रु ५ अर्व विनियोजन गरेकोछु ।
  • निर्माणाधिन अस्पतालहरुरको भवन निर्माण सम्पन्न गर्न रु ५ अर्व ५७ करोड र १५ सैयाँको प्राथमिक अस्पताल स्तरोन्नती गर्न रु १ अर्व २६ करोड विनियोजन गरेको छु ।
  • सबै प्रदेशमा कम्तिमा एक अस्पतालबाट विशिष्टीकृत सेवा प्रदान गर्ने नीति अनुरुप कोशी अस्पताल भरतपुर अस्पताल,नारायणी उपक्षेत्रीय अस्पताल,भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गर्न रु १ अर्व बिनियोजन गरेको छु ।
  • गण्डकी प्रदेशमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, कर्णाली प्रदेशमा क्षेत्रीय अस्पताल सुर्खेतबाट यस्तो सेवा उपलव्ध हुनेछ ।
  • राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न रु ४० करोड विनियोजन गरेको छु ।
    मनमोहन कार्डियोभास्कुलर टान्सप्लान्ट सेन्टरको पूर्वाधार निर्माण, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालमा ल्याउन, सिराहामा क्यान्सर अस्पताल निर्माण गरी विपी कोइरालाको विस्तारीय सेवा प्रदान गर्न र जिपी कोइराला राष्ट्रिय स्वास्वप्रस्वास केन्द्रको उपचार सेवा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मानवअंगको म्याचिङ टेष्ट स्थापना गर्न अनुदानको व्यवस्था मिलाएको छु ।
  • वीर अस्पताललाई अन्तराष्ट्रिय स्तरको विशिष्ठकृत सेवा सहितको उत्कृष्ठता केन्द्रको रुपमा विकास गरिनेछ ।
    भक्तपुरको दुवाकोटमा बीर अस्पतालको सेवा विस्ताररका लागि आगामी आवमा विस्तृत अध्ययन सम्पन्न गरी आधुनिक भवनको निर्माण कार्य अघि बढाउन रु ४० करोड विनियोजन गरेकोछु ।
  • केन्द्रीय प्रयोगशालालाई अत्याधुनिक प्रविधियुक्त निदानकेन्द्रको रुपमा स्तरोन्नती गरिनेछ । तीन बर्ष भित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्रहरु सञ्चालनमा ल्याइनेछ ।
  • सम्वन्धीत प्रदेशसंगको लागत सहभागितामा पदेश जनस्वास्थ्य प्रयोगशाला सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारण निर्माण तथा जनशक्ति व्यवस्थापन गरिनेछ ।
  • आधुनिक चिकित्साका अलावा आयुर्वेदिक होमियोप्याथिक युनानी,अकुपेन्चर आम्ची र प्राकृतिक चिकित्सा जस्ता बैकल्पिक उपचार पद्धतीको अनुसन्धान विकास र उपयोगमा जोड दिइनेछ ।
  • प्राथमिक अस्पतालहरुमा टेलिमेडिसिन शिक्षा पद्धतीमार्फत २४ घण्टा आधारभूत स्वास्थ्य सेवा उपलव्ध हुनेछ ।
  • स्वस्थ नागरिक स्वास्थ समाज स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याइनेछ ।
  • सार्वजनिक स्थल र सवारी साधनमा धूमपान  र मध्यपान पूर्णरुपमा निशेध गरिनेछ ।
  • टोलटोलमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिनेछ ।
  • सबै स्थानीय तहका वडा स्वास्थ्य केन्द्र र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी आव भित्र सम्पन्न गरिनेछ ।
  • स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा रु ६८ अर्व ७८ करोड विनियोजन गरेको छु ।

कर्मचारीको तलब बढाउने गृहकार्य, पियनको २३ हजार पुग्न सक्ने

काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने गृहकार्य गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्युनतम १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धिको प्रस्ताव गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।

तर, गत वर्षहरुमा जस्तो सबै कर्मचारीहरुको समानुपातिक रुपमा तलब बढ्ने छैन । तल्लो तहका कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउन प्रस्ताव गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

सबैभन्दा कम अनुपातमा मुख्य सचिवको तलबवृद्धि १५ प्रतिशतले हुनेछ । कार्यालय सहयोगीको तलब सबैभन्दा बढी अनुपातमा बढ्ने दाबी स्रोतको छ ।

हाल तल्लो तहका कर्मचारीले महिनामा न्युनतम १८ हजार ४ सय रुपैयाँ तलब पाउँछन् । २५ प्रतिशतले वृद्धि भएमा उनीहरुले मासिक २३ हजार पाउनेछन् । यता, कर्मचारीतन्त्रको माथिल्लो पद मुख्य सचिवको तलब ५५ हजार २ सय रुपैयाँ छ । १५ प्रतिशतले बढेमा मुख्य सचिवले ६३ हजार ४ सय ८० तलब पाउनेछन् ।

यो वर्ष तलब बढाउन सरकारी कर्मचारीले सरकारमाथि दबाव सिर्जना गरेका थिए । सरकारले आर्थिक वर्ष २०७३/७४ मा पनि कर्मचारीको तलब २५ प्रतिशतले बढाएको थियो । आव २०७४/७५ मा तलब बढेन । चालु आर्थिक वर्ष २०७५/७६ मा पोशाक भत्ता र अन्य केही भत्ता बढाइएको थियो । यसपालि तलब नबढे त्यसले कर्मचारी प्रशासनमा आर्थिक विकृति बढ्ने तर्क गर्दै विभिन्न कर्मचारी संघ संघठन र युनियनहरुले सरकारलाई दबाव दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैंले पनि कर्मचारीको तलब बढाउने प्रबन्ध गर्न निर्देशन दिएको अर्थ मन्त्रालय स्रोत बताउँछ । त्यसो त अर्थमन्त्री डा. युवराज खतिवडा यो वर्ष कर्मचारीको तलब बढाउने विषयमा धेरै नकारात्मक थिएनन् । उनैले माथिल्लो पदका कर्मचारीलाई भन्दा तल्लो तहमा कार्यरत कर्मचारीको तलब बढी अनुपातमा बढाउने प्रस्ताव गरेका हुन् ।

अर्थमन्त्रीले १५ देखि २५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको भए पनि बजेट भाषण अगाडिसम्म यो अनुपात हेरफेर हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । यदि प्रधानमन्त्रीबाट नयाँ निर्देशन आएमा यो प्रस्ताव प्रभावित बन्न सक्ने स्रोतको भनाइ छ ।

३ गुणा बढाउनुपर्ने कर्मचारीको माग !

गत साता निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कार्यालय सहयोगीको तलब नै ३५ हजार रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । अर्थमन्त्री खतिवडाले बुझेको सो ज्ञापनपत्रमा कार्यालय सहयोगीको तलब न्युनतम् २ गुणाले र मुख्य सचिवको तलब ३ गुणाले बढाउन माग गरिएको थियो ।

ज्ञापनपत्रमा परिवहन भत्ता, खाजा भत्ता, शैक्षिक भत्ता र घरबहाल भत्ताको व्यवस्था गर्नुपर्ने मागसमेत गरिएको छ । ‘यो वर्ष कर्मचारीको समाजिक सुरक्षाका लागि पनि केही विशेष घोषणा हुन सक्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका निर्वतमान अध्यक्ष मोहन घिमिरे यो वर्ष कर्मचारीहरुलाई समायोजनका नाममा ‘मोरल डाउन’ गरिएकाले पनि तलब बढाउनै पर्ने बताउँछन् ।

तल्ला तहका कर्मचारीको तलब राष्ट्र बैंकले न्युनतम जीविकोपार्जनका लागि आवश्यक भनेको रकमभन्दा कम भएकाले त्यसलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ ।
‘३ वर्षदेखि तलब बढेको छैन, यस्तो अवस्थामा पनि कर्मचारीले दत्तचित्त भएर काम गरेका छन्,’ उनले भने, ‘यत्रो मूल्यवृद्धि हुँदा पनि राज्यकै कर्मचारी आधारभूत स्तरको जीवन जीउन सक्ने पारिश्रमिकबाट बञ्चित गरिनु राम्रो होइन ।’

उनले राजश्व वृद्धिका हिसाबले पनि कर्मचारीको तलब बढाउनुपर्ने भन्दै अब हरेक वर्ष मूल्यवृद्धि हेरेर वैज्ञानिक रुपमा तलब बढाउनुपर्ने माग गरे ।

अधिकारिक ट्रेड युनियनले औपचारिक रुपमै स्वास्थ्य बीमा योजना र सावधिक जीवन बिमालाई बढाएर १० लाख पु¥याउनुपर्ने, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गर्नुपर्ने लगायतको माग पनि गरेको छ ।

निजामती कर्मचारीको लगानीमा ५ सय मेगावाटको ‘राष्ट्रसेवक हाइड्रो’ बनाउन डीपीआर बनाउनुपर्ने र कर्मचारीको लागि सुपथ मूल्य पसल स्थापना गर्नुपर्ने पनि माग भएको छ ।

शैक्षिक, खाजा, शिशु स्याहार र पारवहन भत्ताको व्यवस्था गर्दै कडा र असाध्य रोग लागेका निजामती कर्मचारी र निजका परिवारलाई निःशुल्क उपचारको प्रबन्ध गर्न पनि सरकारलाई कर्मचारीले आग्रह गरेका छन् ।

आफ्ना लागि १ प्रतिशतको सहुलियत ब्याजदरमै घर र गाडी किन्नका लागि कर्जा उपलब्ध गराउन पनि कर्मचारीले जोड गरेका छन् ।

ट्रेड युनियनको ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारीस्तरबाट सवारी साधन खरिद तथा मर्मतको कामलाई स्थगित गर्नुपर्छ ।’

यस्तै सरकारी संस्थानहरुको १० प्रतिशत सेयर कर्मचारीका लागि व्यवस्था गर्न पनि युनियनले माग गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा सञ्चालित नेपाल टेलिकम सहितका सार्वजनिक सरकारी संस्थानहरुलाई सबल र सक्षम बनाउन निजामती कर्मचरीको लागि १० प्रतिशत शेयर सुनिश्चित गर्न ज्ञापानपत्रमा भनिएको छ ।यो खबर बैशाख १२ को अनलाइन खबरमा छापिएको छ।


न्यूनतम तलब ३५ हजार बनाउन निजामती कर्मचारीको माग

काठमाडौं, ११ जेठ । निजामती कर्मचारीले बजेटमा आधारभूत तहको न्यूनतम तलब स्केल ३५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन् ।

आगामी आर्थिक वर्ष २०७६(७७ को बजेटका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसमक्ष यो माग राखेको हो ।

नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकको तुलनामा कर्मचारीको तलबमान न्यून रहेको र जीवन निर्वाहका लागि आवश्यक खाद्यवस्तु र सोबराबरको रकम विश्लेषण गर्दा न्यूनतम तलबमान ३५ हजार हुनुपर्ने माग कर्मचारीको छ ।

यस्तै कार्यालय सहयोगी र मुख्य सचिवको तलबमानको १ .५ को अनुपातमा हुनुपर्ने माग राखिएको छ । अहिले कार्यालय सहयोगीको तलब स्केल न्यूनतम १६ हजार २३० रुपैयाँ र मुख्य सचिवको ५५ हजार २०० रुपैयाँ छ ।

चालू आर्थिक वर्षमा २६ प्रतिशतले राजस्व वृद्धि भएको र मूल्यवृद्धि पनि ४।६ प्रतिशत मात्र रहेकाले तलब बढाउन सकिने आधार देखिएको कर्मचारीको तर्क छ ।

समाचार स्रोत NP NEWS

नागरिक लगानी कोषको राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीबन बीमासम्बन्धी सूचना !!!

नेपाल सरकारको आब २०७५/०७६ को बजेट बक्तब्यमा उल्लेख भए बमोजिम सबै राष्ट्रसेवक कर्मचारीहरुलाई साबधिक जीवन बीमा योजनामा सहभागी गराउनअ लागी नेपाल सारकार मंत्रीपरिषदको मिति २०७५/०८/०३ को निर्णय बाट “राष्ट्रसेवक कर्मचारीहरुको साबधिक  जीवन बीमा सञ्चालन कार्यबिधि २०७४”स्वीकृत भई कार्यान्वयनमा अईसकेको जानकारी गराउँदै सो सम्बन्धी निम्नानुसार गर्नु गराउनु हुन भन्दै नागरिक लगानी कोषले सम्बंधित सबैमा सूचना जारी गरेको छ /

हेर्नुहोस बिस्तृत बिबरण समेटिएको नागरिक लगानी कोषको सूचना 

ललितपुरका यी महान नर्स अनि अहेव जसले मृत्युको मुखमा पुगेकी सुत्केरीलाई बस भित्रै नयाँ जीवन दिएर यसरी बचाए।

सीता भुलुन (नाम परिवर्तन) गरेकी ३२ बर्सिय महिला ४ सन्तान सङै सानू बच्चा५ बर्षको थियो घरमा श्रीमानले आँखा नदेख्ने थिए। ललितपुर गिम्दी एक बिकट गाउँ जहाँ बाटो अप्ठेरो अनि गाडी त सपनाकै कुरा थियो हाम्रो आश्राङ स्वास्थ्य चौकी बाट त्याहा पुग्न करिब डेढ घन्टा लाग्छ भने उनको घरबाट गिम्दी स्वास्थ्य चौकी पुग्न करिब २ घन्टा ४५ मिनेट जति लाग्छ। सन्तानको रहर पुग्दा पुग्दै पनि बाध्यता बस फेरि गर्भवती बन्न पुगिन त्यसमा विविध कारणहरु थिए। उनी गर्भवती हुँदा गर्भपतनको लागि आइन् र मङ्सिर २५ गते गर्भ चेकजाँच गर्दा ५ महिना भैसकेको थियो अनि अब गर्भपतन गर्न मिल्दैन भन्दा उनी धेरै रोइन कराइन बिलौना गरिन अनि यसमा मैले बच्चा जनाउनु नै राम्रो हुन्छ गर्भ रहन दिनु नै राम्रो हुन्छ भन्ने बाहेक अरु उपाय के नै दिन सक्थे र।
पछि उनी प्रशुती हुने दिन नजिकिदै गर्दा प्रशुतिगृह पनि गएकी रहेछन  त्यहाँ उनलाइ रगतको कमि छ यहि बस्नु  अनि आफ्नो ज्यानको ख्याल गर्नु पर्छ अनि यहि अस्पतालमा सुत्केरी हुनु पर्छ भनेको रहेछ तर घरमा अपांग श्रीमान अनि बच्चाबच्चिको बिजोग सम्झी घर फर्किछन। घफ फर्किएको १५ दिनमा सुत्केरी ब्याथा लागेछ। घरमै बच्चा  पाउछु भन्नेउनको जबर्जस्ती २०७६/०२/७ गते २ बजे घरमा बच्चा जन्मिएछ। गिम्दी सुवानेमा घर भएकी उनको बच्चा पैदा त भएछ तर सालनाल निस्केन गाउँमा हारगुहार गरि मान्छे जम्मा पारी लान खोज्दा गाउँका मान्छेहरुले सालको नालमा कोदालोको पाता झुन्ड्यानु पर्छ अनि साल आउँछ भनेर त्यसो गर्दा त्यत्रो कोदालोमा भएको फलामको पातो  झुन्ड्याउदा नाल चुडिएर अत्यधिक रगत बगि गम्भीर अबस्थामा पुग्नु भएछ। त्यस लगत्तै केही समय पछि स्टेचरमा बोकि साझको ७:३० मा त्यही आश्राङ स्वास्थ्य चौकीका अहेव उद्दब घिमिरेको घरमा पुर्याएछन। अनि उद्दब सरले मलाइ फोन गरि सिस्टर retained placenta आउदै छ भनेपछी हुन्छ स्वास्थ्य सस्था पठाउनुस म हेर्छु सक्ने भएपछी यतै गरौला नत्र यो रातीमा गाडी खोजेर काठमाडौ पठाउला भने । त्यो रात परिसकेको अबस्थामा एम्बुलेन्स त के  सानो गाडी पनि थिएन । चापागाउबाट भर्खरै फर्केको आइचर बसलाई सम्पर्क गरि सुत्केरीको अबस्थालाइ मध्यनजर गर्दा पुर्ण रुपमा blood pressure छैन pulse respiration हल्का मात्र छ हामी आफै खर्च गरेरै भएपनी काठमाडौ सम्म पुर्याउ भन्नू भयो अनि मैले भने हैन सर पठाउनु पर्ने नै भएपनी कम्तीमा iv drip दिउँ त्यस्तै छलफल गर्दा गर्दै धेरै समय बितिसक्यो । एकाअर्कामा हाम्रो स्वास्थ्यकर्मी साथिहरुसङ्ग सल्लाह गर्यौ अनि आफुले आफुलाइ सोच्यौ हामी SBA छौँ birthing का लागि खटाइएका हामी हौं ।गाउँ गाउँमा SBA दिएर सरकारले ठुलो आशा गरेको छ कि दुर्गममा बस्ने गर्भबती अनि सुत्केरी हरुले राम्रो र सर्बसुलभ अनि गुणस्तरीय स्वास्थ्य सेवा पाउन भनेर त्यसैले हामिले यसको उपयोग गर्नु पर्छ भन्ने लागेपछी हामिले सक्ने उपचार र ब्यावस्थापन गर्ने सोच्यौ।
उपचार ढिलाइ हुनाका कारणले धेरै आमाहरुको ज्यान खेर गैरहेको छ त्यसैले हामिले यसलाइ जसरी भएपनी उपचार गर्नु पर्छ भन्ने सोछ भयो किनकी सानो गाडी नभएको अबस्था अनि ठूलो गाडिमा काठमाडौ सम्म ४ घन्टाको बाटो मा यात्रा गर्दा सुत्केरीको बिच बाटोमै पनि मृत्यु हुन पनि सक्छ त्यसैले हामिले चाहिने सामान जति झोलामा हालेर हामी सुकेरी भएको ठाउमा गयौ सोच्यौ बरु यो रात नखाउला नसुतौला तर उनलाइ बचाउनु पर्छ भनेर हिड्यौ करिब १० बजे पुग्यौ। हामी  २ जना अ.न.मी.हरु बिमला सन्जेल अनि उषा पुन साथमा २ जना अहेब उद्दब घिमिरे अनि हेमा राना उपचरमा लाग्यौ। सुत्केरीलाई काठमाडौ पठाउनको लागि बसमा राखिसकेको अबस्था थियो त्यसैले हामीले उपचार पनि बस भित्रै औरु गर्यौ  सुत्केरीको अबस्था हेर्दा होस हराएको जस्तो pulse respiration ठिक थियो blood pressure भेटिदैन। vein पनि collapse जस्तै भएको अबस्था थियो त्यही पनि IV open गरेर drip सुरु गरेपछि blood pressure अलिकती भएपनी ठिक गर्न सक्यौं। vein open गरि बल्ल तल्ल ५०० मिलि जति RL चढाउन सकियो साथै oxytocin पनि दिइयो अनि बिस्तारै सुत्केरी आमाले आँखा खोलिन। पिसाब निकाली placenta हेर्दा cord नै छैन टुक्राटुक्रा परेको थियो बस भित्रै करिब ३ घन्टाको अथक प्रयास पछि बिस्तारै कोशिश गर्दा placenta निकाल्न सफल भइयो। करिव ११:४५ मा फेरि iv drip दियौं २५० मिलिमिटर दिइयो। पछि मलाइ तिर्खा लाग्यो भोक लाग्यो पिसाब आयो बिस्तारै बोलिन। रातीको ३ बाजे सम्म सुत्केरीको observe मा बस्यौं। vital sign ठिक हुँदै गयो bleeding पनि रोकियो पछि एकजना स्वास्थ्यकर्मी त्यही बसि counselling र motivation गर्ने काम भयो किनकी सुत्केरी आफै पनि अलि मानसिक तनाबमा भएको अबस्था थियो। अहिले उक्त सुत्केरी बिरामिको काठमान्डुमा उपचार भइरहेको छ। यसरि कोहि सुत्केरी महिलाको अकालमा ज्यान जान बाट बचाउदा धेरै नै खुशी लागेको छ। धन्यवाद।

पत्रीकामा डाक्टरको समाचार कति वास्तबिक,कति सतही?

डा सन्देश दाहाल

काठमाडौँमा बज्ने सबै एफ एम र प्रमुख टिभीमा बज्ने एक बिज्ञापन बजिरहन्छ, सायद सबैले सुनेको हुनुपर्ने हो/ पाइल्स, फिस्टुला, जन्डिसको ग्यारेन्टीका साथ उपचार गरिन्छ, फलानो क्लिनिक, फलानो डाक्टर/ यी प्रचार सुन्दा मलाई सधैं नै आश्चर्य लाग्थ्यो, लाग्छ/ पित्तनलीमा क्यान्सर भएको दुइ महिला यस्तै विज्ञापनको भर परेर अकालमा ज्यान गुमाउन बाध्य भए एक हप्तामा मैले नै हेरेको वार्डमा/ यस बिषयमा मैले एउटा आर्टिकल पनि लेखेको छु/ मलाई यकिन नै छ, यस्ता विज्ञापनको भ्रममा परेर अकालमा स्वास्थ्य, पैसा र ज्यानसम्म गुमाउने असंख्य नै छन्/ बैकल्पिक उपचार गर्छु भन्न पाइन्छ/ डाक्टरको आचारसंहिताले उसलाई सहि उपचार गरेपनि बिज्ञापन गर्न रोकेको छ/ यस्ता विज्ञापनमा डाक्टर भनिएका ठगहरुको त आचारसंहिता छैन, त्यसमा कुनै दुइमत छैन/ मिडिया हाउस वा पत्रकार जगत त राज्यको चौथो अंग भन्छन/ बिज्ञापनको पैसा पाए, त्यसको लागि जे पनि बजाउन, प्रचार गर्न मिल्ने हो र? काठमाडौँमा यसरि प्रचार गरेका धेरै अबैध संस्था गैरकानुनी प्रमाणित भएका छन्/ विज्ञापन गर्ने संस्थाको बैधता नै पुस्टि नभई यसरी बिज्ञापन हुँदा जनतामा के असर परिरहेको होला? मलाई थाहा छैन, सायद कानुनी हिसाबमा पैसा लिएर बिज्ञापन गर्न पाइन्छ होला, तर चौथो अंग दाबी गरेपछि समाजप्रति उत्तरदायी हुनुपर्ने होला कि/ यस्तो विज्ञापनको झन् बिकराल रुप मैले झापा आएपछि देखें/ यहाँको रेडियो र पत्रिकामा बिज्ञापन बज्छ, “भारतको पानीटंकीमा पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार गरिन्छ/ माता पाथिभरा क्लिनिक/ सम्पर्क फलानो घिमिरे, शान्तिनगर झापा/” माता पाथिभरा नाममा खोलिएको अबैध धन्दाले मृत्युको मुखमा पुर्याएको करिब २२ जनालाई आइसीयुमा राखेर मेरै टिमले उपचार गरेको छ/ बिज्ञापन कति प्रभावकारी हुन्छ भने नेपालीले नेपालीलाई उपचार गर्न नेपालको सट्टा भारतमा क्लिनिक खोल्नु ठगीधन्दा हो भन्ने घाम जत्तिकै छर्लंग भए पनि विज्ञापनको भर परेर मान्छे ठगिन जान्छन दिनदिनै/ यसमा कसको गल्ति होला त?

मलाई यो बिषयमा केहि लेख्न पहिले नै मन थियो/ आज झन् अचम्मको समाचार आयो, त्यो पनि देशको एक नम्बर दावी गरेको रास्ट्रिय दैनिक कान्तिपुरमा/ समाचारको शिर्षक छ, “मृत घोसणा गरिएका बालक जीवित भेटिएपछी अस्पताल तनाबग्रस्त/” (२०७५/०६/०६ कान्तिपुर अनलाइन) / घटना के हो त भन्ने कौतुहल भयो/ यो सगरमाथा अंचल अस्पतालको घटना रहेछ/ उक्त बालकलाई हेर्ने डाक्टरको फेसबुकमा स्टाटस आयो,”यो बच्चा सुरुमा मैले हेरेको हो, ल्याउँदा मृत नै थियो, र परिवारले खाटबाट लडेको भनेको थियो/ समाचारमा सर्पले टोकेको र पुन जीवित भएको भनेको के कसरी हो थाहा भएन/” अनि केहि घण्टामा कान्तिपुरमा समाचार सच्याइएको छ, र भनिएको छ,’अगाडिको समाचार बच्चाको आफन्तको भनाइमा आधारित भएकोले सच्याइएको छ/’ अहिलेको समाचार छ, “सर्पदंशले बालक मृत्यु भएपछी अस्पतालमा तनाव/” र यसमा लेखिएको छ, बालक मृत नै छ, तर जिउँदो भएको दाबी गर्दै आफन्तले शब् गृह तोडफोड गरेर हेर्दा पनि बालक मृत नै भेटिएको छ/” यो घटना वस्ताबिकतामा सर्पले टोकेर मृत भएको बालकको मृत्यु स्वीकार गर्न नसकेको परिवारजस्तो देखिन्छ, वा सर्पले टोकेको मान्छे “मरेजस्तो देखिए पनि जिवितै हुन्छ” भन्ने अन्धबिस्वासबाट प्रेरित देखिन्छ/ तर कान्तिपुरको पहिलो समाचार वा त्यसको शिर्षक जसले पढे, उनीहरुको नजरमा समाचारको अर्थ “डाक्टरले मृत र जीवितबिचमा फरक छुट्याउन सकेनन” भन्ने हो/ यो समाचारमा सूचना वा जिम्मेवारी कहाँ छ? यसमा समाचार सूचना दिने सम्बाददाता देखि यसलाई सम्प्रेसन गर्ने बिभिन्न तहमा समाचारको वास्तविकता बुझ्ने मनस्थिति कसैको देखिंदैन/ आबेश, आक्रोश, दोषारोपण मात्र छ समाचारमा/ यसले सूचना दिएको छैन, यसले अविस्वासलाई प्रोत्साहन गरेको छ/ यसलाई पत्रकारिता भन्न मिल्दैन/ यो लापरबाही हो, जसले डाक्टर, अस्पतालको बिश्वास घटाएको मात्र छैन, यसले सामाजिक सन्तुलनमा नै घातक प्रहार गरेको छ/  

रबि लामिछाने पछिल्लो समयमा निकै चर्चामा छन्, उनको टेलिभिजन कार्यक्रमको लागि/ उनको मिडिया स्टन्ट हेर्न लायकको हुन्छ, हाउभाउ, एक्सप्रेसन, बिषय सबैमा बेजोड प्रस्तुति/ उनको कार्यक्रम हेर्दा लाग्छ, गणतान्त्रिक नेपालको मुक्तिदाता उनै हुन्/ देशको जनताको लागि पहल कदमी गर्नु एकदम सकारात्मक कुरो हो, उहाँको कामको प्रसंसा गर्नै पर्छ/ केहि समय अगाडी भाद्र पहिलो हप्तातिर एउटा सनसनीखेज समाचार आयो, पर्बतको जिल्ला अस्पतालमा नभाँचिएको हातमा प्लास्टर गरेर डाक्टरले चरम लापरबाही गरे भनेर/ हज्जारौं नेपाली जनताले डाक्टरलाई गाली गरे, गालीको स्वरले फेसबुक रंगयाए/ फेवासिटी अस्पतालमा भोलिपल्ट एक्स रे मा हड्डीमा चोट नभएपछि प्लास्टर निकालियो भनियो/ कुरा बुझ्दै जाँदा, हात सुनिएको भएर स्ल्याब राखेको रहेछ, एक हप्तामा सुनिएको कम भएपछी प्लास्टर निकालिएको रहेछ/ रबि जि लाइ कार्यक्रम बनाउन यति हतारो रहेछ कि, हाडजोर्नीको पुर्जा राख्नुपर्ने ठाउँमा नाक काँ घाँटीको परेछ/ एकहप्तामा निकालेको प्लास्टरलाइ एकदिन भन्दिनुभएछ/  उक्त बिरामी हेर्ने दुवै डाक्टरको प्रस्टीकरण, र सम्पर्क नम्बर लेखकसंग सुरक्षित छ/ सनसनी पनि भयो, खरो समाचार पनि, दबंग रबिजीको टिआरपी पनि बढ्यो होला/ डाक्टरलाई गाली गर्न पनि पाए मान्छेले, अविस्वास पनि भयो/ भएन के भन्दा जिम्मेवारीयुक्त सहि सूचना, जुन पत्रकारितामा आम मानिसले आश गर्ने हो/ रबिजीलाइ म्यासेज गर्न खोंजे, फेसबुकमा वहांको सयौं आइडी छ, कुन सहि ठम्याउन सकिएन/ वहांको सहकर्मी रिया भण्डारीलाई सुझाब दिएँ, वास्तविक पत्रकारिता गरेको हो भने फेरी सबै डाक्टर संग फोन बार्ता गरेर अर्को कार्यक्रम बनाउनु भनेर/ मलाई थाहा नै थियो, आफ्नु कट्टु खुस्केको कसैले लोकलाई देखाउन खोज्दैन/ रबिजीको अर्को कार्यक्रम आएको छैन आजसम्म सो बिषयमा/

करिब भाद्र पहिलो हप्तामा नयाँ पत्रिकामा एउटा स्वास्थ्य सम्बन्धि लेख आयो, अनुहारमा हुने चाया मेलास्मा (melasma) को बारेमा/ उक्त लेखको टाइटल छ, “कुरूप बनाउने मालेस्मा”/ यो समान्य प्राबिधिक त्रुटी हो, तर यसले जनाउँछ, स्वास्थ्यको समाचार वा सम्प्रेषणमा नेपाली मिडिया कतिको सचेत हुने चेस्टा गर्छ/ अझ रमाइलो प्रसंग छ, मनमोहन अस्पतालको/ एकजना बिरामीको मृगौलाको पत्थरीको अपरेसनको क्रममा रक्तश्राब ज्यादा भएर ज्यान बचाउनको निम्ति मृगौला नै निकाल्नुपर्ने स्थिति आयो/ परिवारको सहमतिमा मन्जुरिनामा लिएर मृगौला निकालियो/ बिरामी निको भयो, घर गयो/ पछी के भयो कुन्नि, फेरी बिरामीको त्यो समुह मनमोहन अस्पताल आन्दोलन गर्न आइपुग्यो/ त्यस बखतका सबै पत्रिकामा समाचार आए, “मनमोहन अस्पतालले मृगौलाको चोरी तस्करी गर्यो/” केहि समाचारपत्रको समाचार साभार गर्दा, ई-रातो खबर- “मिर्गौला तस्करी गर्दै मनमोहन अस्पताल/” एभरेस्ट दैनिक,”मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानबिन समिति गठनको माग/” सेतोपाटीलाइ अनलाइन पत्रिकाहरु मध्येको सबैभन्दा बिस्वाशनीय मानिन्छ/ मनमोहन प्रकरणमा सेतोपाटीको समाचार,”मनमोहन अस्पातालमा पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो, बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड/” यहि यस्तै समाचारमा सत्यता देखेर एकजना माननीयले सांसदमै प्वाक्क बोल्दिहाले, “मनमोहन अस्पतालले मानव अंग तस्करी गर्यो/” पछी छानबिन समिति बन्यो, सबै कुराको खोजबिन भयो/ झिकेको मृगौला फर्मालिनको बट्टामा अस्पतालमा नै थियो, ज्यान बचाउन मृगौला निकाल्नुपरेको हो भन्ने प्रमाणित भयो/ छानबिन समितिको निष्कर्ष समाचार बनाउने आँट न त पत्रिकाले गरे, न त यसको निष्कर्षको बारेमा समाचार पढेका सांसद र जनताले नै जान्न खोजे/ त्यहि समयको भ्रामक समाचार पढेर आज पनि धेरै नेपाली नेपालमा मृगौला तस्करी हुन्छ भनेर बिश्वास गर्छन/ यसमा पत्रकारिताले सहि धर्म निभाएको होला त?

अस्पतालमा भएको जुनसुकै मृत्युलाइ डाक्टरको लापरबाही भनेर समाचार लेख्नु अहिलेको पत्रकारले नैसर्गिक अधिकार नै ठान्छ/ समाचारमा किटानी नै गरिएको हुन्छ कि डाक्टरले लापरबाही गरेको हो/ पढ्दा वा सुन्दा यस्तो लाग्छ कि पत्रिकाको समाचार हैन, अदालतको न्यायाधिसले लेखेको फैसलाको पूर्णपाठ हो/ यस्ता पत्रिकाले किटानी गरेका लापरबाहीका ०.१ % पनि प्रमाणित भएका छैनन्/ उदाहरण दिन चाहन्छु, hamroeconomy.com १९ श्रावण २०७४, ओम अस्पतालको सन्दर्भमा, “ज्यानमारा अस्पतालले अस्पतालले लियो अर्की महिलाको ज्यान, स्वास्थ्यमन्त्रीको किन पुगेन ध्यान?” यसमा लापरबाही किटान मात्र गरिएको छैन, अस्पताललाई ज्यानमारा नै भनिएको छ/ सौर्य दैनिक २०६९/०६/०७ रौतहटको एक अस्पतालको डाक्टरको नाम सहित, “डाक्टरको लापरबाहीले बिरामीको मृत्यु/” कान्तिपुरमा बिभिन्न समयमा प्रकासित समाचारहरु, धुलिखेल अस्पताल, किस्ट अस्पतालको सम्बन्धमा/ अस्पताल र डाक्टरको सम्बन्धमा गलत समाचार सम्प्रेषण हुनु पर्याप्त सावधनी नहुनु र बिषयगत ज्ञान नहुने पत्रकार हुनु, र मिडिया हाउसमा स्वास्थ्य बिशेषज्ञ सल्लाहकार नहुनु प्रमुख कारण हुन्/ तर यति मात्र कारण भने अवस्य हैन, पत्रकार वा सम्पादकको डाक्टरलाई हेर्ने नजर होलसेलमा पुर्बग्रही हुनु पनि हो/ बीर अस्पतालको एक चर्चित डाक्टरको फेसबुक पेजको एउटा स्वास्थ्य बहसमा प्रतिक प्रधानले भन्नुभएको छ, “एक दुइ डाक्टर ठिक छन् तर अधिकांस छैनन् डा. साप/ सबैको ठेक्का सहि डाक्टरले यसरि लिनथाले त बदमास डाक्टरलाई त्यसै उन्मुक्ति मिल्ने भयो/” वहाँ जत्तिको उचाइको मान्छेको कत्रो आग्रह छ भने नेपालको ९८% डाक्टर बदमास छन्/ अब यस्तो पूर्वाग्रह राखेर बसेको मान्छेले मिडिया हाउस कमाण्ड गर्दा अस्पतालको बारेमा आएको समाचारमाथि सत्यता विश्लेषण गर्नेभन्दा पनि डाक्टरलाई अपराधी करार गर्ने सम्भावना ज्यादा हुन्छ/ कुन अनुसन्धानको आधारमा ९८% डाक्टरलाई बेठिक भनियो त्यो मैले आजसम्म बुझेको छैन, र बुझेर काम पनि छैन किनभने त्यो मनगढ़ंते आग्रह हो, सत्य हैन र हुनै सक्दैन/

एकजना स्तम्भकार हुनुहुन्छ खगेन्द्र संग्रौला/ वहांको ट्वीटरमा लेखिएको स्टाटसमा भनिएको छ,”यमराज र डाक्टरमा के फरक हो भने, यमराजले प्राण हरण गर्छ, तर डाक्टरले पैसा, र त्यसपछि प्राण/” संयोग नै हो, यो स्टाटस लेखेको एक महिनामा वहांको प्रोस्टेटको सफल शल्यक्रिया भयो/ वहांको के हरण गरियो त्यो वहाँलाई थाहा होला, तर डाक्टर भएको नाताले एउटा कुरा त छाती ठोकेर नै भन्छु, आफ्नु ज्यान मर्ने प्रयास गरेको दुश्मन नै किन नहोस, उसको उपचार आफ्नै परिवारको जत्तिकै ध्यान पुर्बक गर्ने पेसा मेरो मात्र हो, अरु कसैको छैन/ संग्रौलाजीले बुझ्नु नबुझ्नुले यसमा खासै अर्थ राख्दैन, यो मेरो पेसाको पवित्रता हो/

अर्को समाचार छ, नागरिक दैनिकको २०७५/०२/२२ मा आएको/ समाचारको शिर्षक छ, “बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने बीर अस्पतालको दुइ डाक्टर फन्दामा/” यसै समाचारमा आएका आरोपिका दुइ नामहरु डाक्टर हैनन्, इमर्जेन्सीमा काम गर्ने सहयोगी हुन्, यसमा डाक्टर सामेल छैनन्/ ‘नागरिक’ देशको धेरै उच्च कोटिमा गनिने पत्रिका हो/ अर्को समाचार छ अन्नपुर्ण पोस्टको, २०७५/०३/३० गतेको, “चिकित्सकको गम्भीर लापरबाही: स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु/”  यो समाचार यति आबेगमा लेखिएको छ कि लेख्ने पत्रकारलाई स्वास्थ्य चौकीमा डाक्टरको दरबन्दी नै हुँदैन/ अब दरबन्दी नै नभएका डाक्टरको गम्भीर लापरबाही कसरी देखे पत्रकार महोदयले? अन्नपूर्ण पोस्ट पनि नेपालका धेरै मान्छेले पढ्ने पत्रिका हो/ यस्तो समाचार कि त एकदमै ज्ञान नभएको मान्छेले लेखेको हो, वा जानाजान डाक्टर पेसालाई बदनाम गर्ने मनशाय हो/

यस्ता धेरै फेहरिस्त छ, सबै लेख्यो भने एउटा महाकाव्य नै बन्नसक्छ/ यी केहि प्रतिनिधि घटना मात्र हुन्/ छापामा वा मिडियामा आएका जति डाक्टर वा अस्पतालसँग सम्बन्धित समाचार वा प्रचारहरु छन्, अधिकांस झुठा, अप्रमाणित, हचुवा प्रकृतिका छन्/ यसले मिडिया हाउसमा स्वास्थ्यसंग सम्बन्धित समाचारलाई कति हल्का र पूर्वाग्रहयुक्त वा दुवै मिसिएको बदनियतपूर्ण हिसाबमा लिन्छन भन्ने प्रस्ट देखिन्छ/ पत्रिकाले आम मानिसलाई सूचना प्रबाह गर्छ/ तर स्वास्थ्य सूचना दिनमा देशका सबै मिडिया हाउसले गरेको यो हदको लापरबाही पश्चात जनताले सहि सूचना पाउने उपाय के हुनसक्छ त? जनताले आफै समाचारको विश्वसनीयता जाँच्न सक्दैन र त्यसलाई हुबहु ग्रहण गर्छ/ समाचार ग्रहण हुनु मिडियाको शक्ति हो, तर जिम्मेवारीको पाटो कतही पुरा गरिएको त के समाचारको सत्यता जान्न प्रयास समेत गरिएको छैन/ यसले डाक्टर र बिरामीको दुरी बढेको छ, यत्रो फड्को मारेको स्वदेसी चिकित्सालाई जबर्जस्ति कलंकित गराएको त छदैछ, देशमा हुने सर्बशुलभ गुणस्तरीय स्वास्थ्य सेवाबाट सयौं नेपालीलाई बिमुख गराएको समेत छ/ पैसा नभएका जनता पानीटंकी, मध्यम बर्ग मेदांत र धनि बर्ग सिंगापुर अमेरिका पलायन गराएर देशको धनराशी समेत पलायन गरेको छ/ पेसाकर्मीको नजरबाट एक समाचार टिआरपी होला, करियर होला, एकदिनको पेज भर्ने मसला होला, तर आम मानिसमा यसले छोड्ने प्रभाव दिर्घकालिन हुन्छ/ तेसैले आम सरोकार राख्ने बिषय जस्तै उपचार, सामाजिक सद्भाव आदिजस्ता गम्भीर कुरामा समाचारको लागि समाचार नलेखौं, तथ्य मात्र लेखौं बरु दुइ दिन ढिला लेखौं/ सबै बस्ने घर जले डाक्टरको मात्र हानी हुँदैन, सबैको बराबर हुन्छ/ अन्तमा चर्चित एक भनाइ राख्न चाहन्छु, “with great power comes great responsibility.”

(यस आर्टिकलमा उल्लेख गरिएका सबै प्रसंग वास्तविक हुन् जसको प्रमाण यो लेखक संग सुरक्षित छ, समाचारको स्क्रिनसट भएको मितिमा समाचार लेखेकोले समाचार प्रकाशित भएको एक दुइ दिनको मिति अगिपछी हुनसक्छ)

धन्यबाद

समाचारको स्रोत Hamrodoctor.com

पुरानो पोस्ट