नेपालमै हुने उपचारका लागि विदेश जान रोक्ने प्रयासमा छौं : प्राडा मोहनराज शर्मा [अन्तर्वार्ता]

Sharing is caring!

नेपाल न्युरो सर्जन समाज (निसोन) को दोस्रो अन्तर्राष्ट्रिय तथा सातौं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलनको उद्देश्य, क्रियाकलाप, नेपालमा न्युरो सर्जरीको अवस्थाबारे समाजका अध्यक्ष प्राडा मोहनराज शर्मासँग स्वास्थ्यखबरका लागि कल्पना पौडेलले गरेको कुराकानीः

निसोनले आयोजना गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय तथा सातौं राष्ट्रिय सम्मेलनको उद्देश्य के हो?
नेपाल न्युरो सर्जन समाज (निसोन) को जन्म २००८ मा भएको हो। यसको संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटा हुनुहुन्थ्यो। अहिलेको कार्यकारी कमिटी पाँचौ हो। 

विदेशी विशेषज्ञबाट हामीले ज्ञान हासिल गर्ने मात्र नभई, विदेशी विज्ञलाई पनि नेपालको न्युरो सर्जरीको अवस्था अन्तर्राष्ट्रिय स्तरको भएको महसुस गराउनु सम्मेलनको मुख्य उद्देश्य हो।

हामीले विश्व फेडेरेसन अफ न्युरोसर्जिकल सोसाइटीसँग मिलेर एजुकेसन कोर्ष पहिलो पटक नेपालमा गर्दैछौं। त्यो संस्थाको एक दिनको एजुकेसन कोर्ष नेपालमा गर्न हामी सक्षम भयौं।  

सम्मेलनको अर्को आकर्षण भनेको स्वदेश तथा विदेशमा न्युरो सर्जरीसम्बन्धी तालिम लिइरहेका र हालसालै तालिम सकेका ४० वर्षसम्मका युवा न्युरो सर्जनलाई प्रोत्साहन गर्न योङ इनभेस्टिगेटर अवार्डको पनि व्यवस्था गरेका छौं। जसमा प्रथम हुनेलाई ५० हजार र द्वितीय हुनेलाई ३० हजार रुपैयाँ दिने व्यवस्था मिलाएका छौं।

यो एजुकेसन कोर्ष किन महत्वपूर्ण छ?
विश्व फेडेरेसन अफ न्युरोसर्जिकल सोसाइटी हाम्रो सर्वोच्च संस्था हो। यो संस्थामा १ सय १९ देशका २० हजार न्युरो सर्जन आवद्ध छन्। यो संस्थाले एक दिनको कोर्ष नेपालमा गर्दैछ। फेडेरेसन र हामीले मिलेर यो कोर्ष गर्न लागेका हौं। यो कोर्ष दुई कारणले महत्वपूर्ण छ। कोर्षको राम्रो अन्तर्राष्ट्रिय फ्याकल्टी भेट्न गाह्रो छ। त्यसको खर्च सबै हामीले व्यहोर्नुपर्छ। 

एजुकेसन कोर्षमा मस्तिष्क नशा तथा मेरुदण्डसम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धान, न्युरो सर्जरी, बच्चाको न्युरो सर्जरी, दिमागको रगतको नलीसम्बन्धी रोग विशेषज्ञहरु आउनुभएको छ। 

न्युरो सर्जरीका ७/८ विधाका विशेषज्ञले रोगको निदान र उपचारबारे कसरी उपचार भइरहेको छ? नेपालमा हामीले पनि केके गरिरहेका छौं? त्यस विषयमा विचार आदानप्रादन हुनेछ।

विश्वका वरिष्ठ न्युरोसर्जनहरुले न्युरो सर्जरीमा अपनाइएका अन्तर्राष्ट्रिय पद्धति, प्रविधि र नयाँ विकास भएका उपकरणबारे बताउनेछन् भने हामीले पनि नेपालमा गरिरहेको उपचार पद्धतिबारे विचार आदानप्रदान गर्ने छौं। 

सम्मेलनमा कुनकुन देशका, कतिको संख्यामा सहभागिता हुँदै छ?
एजुकेसन कोर्षका लागि चीन, अस्ट्रेलिया, पोर्चुगल, जापान, भारत, अस्ट्रियाबाट आएका १० र नेपालका ४ न्युरो सर्जरीसम्बन्धी कार्यपत्र प्रस्तुत हुँदै छ।

स्वदेशी–विदेशी न्युरो सर्जन, न्युरोलोजिस्ट, न्युरो नर्स, फिजियोथेरापिस्ट लगायत १ सय ५० बढीको सहभागिता हुने छ। उचारका क्रममा भएका अनुभव उपचारका क्रममा आइपरेका जटिलता, सहजताको बारेमा अनुभव सेयर हुने छ। 

निसोनले यो सम्मेलनबाहेक गरिरहेका अन्य क्रियाकलाप केके हुन्?
हाम्रो मुख्य काम अन्तर्राष्ट्रिय सम्मेलन हो। त्यसबाहेक एड्भोकेसी गर्दै आएका छौं। एड्भोकेसी भन्नाले न्युरो सर्जनले केके गर्न सक्छन्, केके सुविधा छ, नेपालमा न्युरो सर्जरीसम्बन्धी उपचार कस्तो हुन्छ, कस्तो अवस्थामा बाहिर जानुपर्छ भन्ने कुरा बुझाउने काम गरिरहेका छौं। नेपालमै हुने उपचारका लागि बाहिर जान रोक्ने प्रयास गरिरहेका छौं।

अर्को महत्वपूर्ण कुरा, हामी टाउकाको बिरामी न्युरो सर्जरी भएको अस्पतालमा आउनुअघि कति वटा अस्पतालमा धोका खाएर आउँदारहेछन् भनेर अध्ययन गरिरहेका छौं। त्यो अध्ययनले अगामी दिनमा कसरी सुधार गर्ने भनेर सरकारलाई पनि फाइदा हुने विश्वास छ।

त्यसबाहेक एमबिबिएस/एमएस पढाइ हुने हरेक कलेजमा न्युरो सर्जरी पठाउने तर फुल टाइम न्युरो सर्जन नराख्ने चलन छ। यसबारे हामीले स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा कुरा राखेका छौं। किनभने जिल्लाजिल्लाका स्वास्थ्य संस्थामा उहाँहरुकै नेतृत्व हुन्छ। त्यसैले उहाँहरुलाई कस्तो अवस्थामा कहाँ रेफर गर्ने, कस्तो अवस्थामा आफैं हेर्ने भन्ने ज्ञान दिन आवश्यक छ। 

प्रचारपसार गर्ने, बस दुर्घटना रोक्न जनचेतना जगाउने, टाउकोमा चोट लाग्नबाट कसरी जोगिने, चोट लागेपछि न्युरो सर्जनकहाँ जानुपर्छ भनेर बुझाउने, कस्तो चोट लाग्दा कुन अस्पतालमा जाने भनेर बुझाउने काम पनि हामीले गर्दै आएका छौं।

अहिले नेपालको अवस्था कस्तो छ? विशेषज्ञ चिकित्सक जिल्ला जान किन मान्दैनन्?
नेपालमा टाउकोमा चोट लागिसकेपछि सम्बन्धित अस्पताल र चिकित्सककहाँ निकै ढिलोगरी पुग्दा धेरैजसो बिरामीको मृत्यु हुने वा पक्षघात हुने अवस्था धेरै छ। अन्तिम समयमा अस्पताल पुग्दा न्युरोसर्जनले चाहेर पनि केही गर्नसक्ने अवस्था हुँदैन।

नेपालमा ८० जना न्युरो सर्जन छन्। त्यसबाहेक २० जनाजति रेजिजेन्ट डाक्टर छन्। यो संख्याले अहिलेको अवस्थामा पुग्छ। तर सरकार तथा अस्पतालले काम गर्ने वातावरण बनाउनु आवश्यक छ।

धेरैजसो बिरामी सिधै न्युरो सर्जरी सेवा भएका अस्पतालमा पुग्नै सक्दैनन्। उनीहरुलाई धेरैतिर घुमाएर बल्ल सही ठाउँमा ल्याइन्छ। त्यो समयमा बिरामी, बिरामीका आफ्न्तको तनावको अवस्था र खर्चको स्थिति पनि धेरै माथि पुगिसकेको हुन्छ।

चिकित्सक राजधानी बाहिर नजाने भन्ने कुरै छैन। न्युरो सर्जरीका लागि अस्पतालमा आवश्यक उपकरण, भौतिक संरचना पनि हुनुपर्‍यो नि। आवश्यक पूर्वाधार केही नबनाउने अनि राजधानी बाहिर विशेषज्ञ चिकित्सक जाँदैनन् भन्नु गलत हो।

सरकारले आवश्यक सबै पूर्वाधार र उपकरण, औषधि व्यवस्था गरोस् निसोनले चिकित्सक पठाउने ग्यारेन्टी लिन्छ। उपकरण र भौतिक पूर्वाधार भएन भने न्युरो सर्जनले कसरी सेवा दिने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *