‘स्क्रब’ नर्सले दह्रो मुटु बनाएर काम गर्नुपर्छ

Sharing is caring!

शिक्षण अस्पताल महाराजगञ्जकी नर्स हुन् श्रीदेवी शर्मा। उनी ६ वर्षदेखि अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत छिन्। एक महिनाको प्रयोगात्मक अभ्यासकै भरमा शल्यक्रिया कक्षको स्क्रब नर्सजस्तो चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्न पुगिन् शर्मा। शल्यक्रिया कक्षमा काम गर्न थालेको ६ वर्षको अवधिसम्म उनले कुनै तालिम समेत लिन पाएकी छैनन्।

सुरु–सुरुमा शल्यक्रिया कक्षमा काम गर्न रमाइलो लागे पनि तालिमको व्यवस्था नहुँदा विस्तारै मनोबल घट्दै जाने अनुभव छ नर्स शर्माको। शल्यक्रिया कक्षमा रहेर शल्य चिकित्सकको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने भएकोले स्क्रब नर्सलाई नयाँ–नयाँ उपकरणको बारेमा जानकार बनाउनुपर्ने उनको धारणा छ। स्क्रब नर्स भएर भोगेका अनुभव उनकै शब्दमा :

पिसिएल नर्स पढ्दैगर्दा मलाई एक महिना शल्यक्रिया कक्षमा प्रयोगात्मक अभ्यास गर्ने मौका मिलेको थियो। शल्यक्रिया कक्षमा काम गर्ने दिदीहरुले जस्तोसुकै मुस्किल अवस्थामा पनि सबै काम छिटोछिटो गरेको देख्दा लाग्थ्यो, म पनि पढाइ सकिनासाथ शल्यक्रिया कक्षमा काम गर्ने  नर्स बन्छु। 

पिसिएल नर्सको पढाइ पूरा हुनासाथ सिभिल सर्भिस हस्पिटलमा काम गर्ने अवसर मिल्यो। त्यहाँ एनेस्थेसिया नर्स (शल्यक्रिया गर्नुभन्दा पहिला बिरामीलाई बेहोस बनाउने नर्स) भएर काम गर्ने अवसर प्राप्त भयो। त्यहाँको अनुभवले टिचिङ अस्पतालमा स्क्रब नर्स भएर काम गर्न सहज भयो। 

शल्यक्रिया कक्षमा काम गर्दा धेरै कुरा सिक्ने मौका मिल्छ। टिममा काम गर्ने भएकाले घरकै जस्तो वातावरण अनुभुति गर्न पाइन्छ। 

शल्यक्रिया कक्षमा काम गर्न सजिलो भने छैन। केस हेरेर ५÷६ घन्टासम्म पनि भोक, तिर्खा त्यागेर उभिनु पर्छ। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि बाहिर निस्कन पाइँदैन। स्क्रब नर्सले बिरामीसँग  भावुक हुनुभन्दा शल्यक्रियालाई कसरी सफल बनाउने भन्नेमा ध्यान दिन जरुरी छ।

स्क्रब नर्सको बिरामीसँग भावनात्मक सम्बन्ध हँुदैन। बिरामीसँग कुराकानी गर्ने अवस्था नै रहँदैन, किनकि शल्यक्रिया कक्षमा पस्नासाथ बिरामी बेहोस भइसकेका हुन्छन्। तर पनि आफूले शल्यक्रियामा सहयोग गरेको बिरामी कस्तो अवस्थामा छ भनेर हेर्न मन लाग्छ। कुनै बेलामा विशेष कारण शल्यक्रिया सफल हुन सकेन भने धेरै दुःख लाग्छ।   
 
जीवनको महत्व बुझाउने घटना 
शल्यक्रिया कक्षमा धेरैजसो दुर्घटनाका बिरामी आउँछन्। एउटा घटना मलाई अझै पनि याद छ। भूकम्पको बेला, एक जना १८ वर्षका किशोर घरले थिचेर हात–खुट्टा कामै नलाग्ने अवस्थामा आएका थिए। उनको हात–खुट्टा काटेर फाल्नु परेको थियो। त्यो घटनाले मलाई निकै दुःखी तुल्यायो। हात–खुट्टा गुमाएर बाँच्नु निकै पीडादायी हुन्छ। उनलाई अहिले पनि सम्झन्छु।

अर्को दुःखदायी घटनाले पनि मलाई झस्काइरहन्छ। १८÷१९ वर्षकी एक किशोरी जो सवारी चालक अनुमतीपत्र लिएकै दिन स्कुटर दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा उनको शरीरका भित्री अंग नै बाहिर निस्केका थिए। सबै विभागका डाक्टरहरु आएर शल्यक्रिया गर्दा पनि उनलाई बचाउन सकिएन।  

कति सुन्दर मान्छेहरु जलेर अनुहार नै पहिचान गर्न नसकिने अवस्था अस्पताल आउँछन्। अनुहारको स्टक्चर नै बिग्रिएर परिवारले नै नचिन्ने अवस्थामा पुगेको हुन्छ। हातमा ट्याटु बनाएर हिँड्ने मानिसको इन्फेक्सन भएर हात नै काटेर फाल्नुपर्ने अवस्थासम्म सिर्जना हुने गर्छ। यस्ता घटना देख्दा जीवन कति महत्वपूर्ण छ भन्ने कुरा सिकाउँछ। 

यस्ता दुखद घटनासँग प्रत्यक्ष जोडिएको छु म। यस्ता घटनाले जीवनमा सबैसँग मिलेर हाँसीखुसी बाँच्नु पर्छ, कसैलाई दुःख दिनु हँुँदैन भन्ने सिकाउँछ। आफ्नो काम इमान्दारपूर्वक गर्नुपर्छ भन्ने ज्ञान दिलाउँछ। सवारी साधन चलाउँदा पनि निकै सावधानी अपनाउन म सबैलाई अनुरोध समेत गर्छ चाहन्छ।

साहसी हुनुपर्छ स्क्रब नर्स 
स्क्रब नर्स भावनामा बग्नु हुँदैन। दिन–रात सर्जरी गर्ने डाक्टरलाई सहयोग गर्नुपर्ने हुँदा रगत र घाउको सामना गर्नुपर्छ। दह्रो मुटु बनाएर काम गर्नुपर्छ। सुरुसुरुमा त मेरा कतिपय साथीहरु रगत देखेर बेहोस हुन्थे। म नर्स पढ्ने बेलामा एक महिना प्रयोगात्मक अभ्यास गरेको हुनाले आत्मबल बलियो बनाएर काम गर्ने प्रयास गर्छु। सुरुदेखि नै मेरो कारणले शल्यक्रियामा समस्या आउला भनेर धेरै चिन्ता लाग्थ्यो। सुरु–सुरुमा सपनामा पनि शल्यक्रिया भएको देख्थें, सायद त्यसैको बारेमा धेरै सोचेर होला। 

सानो गल्तीले संक्रमणको डर
शल्यक्रिया कक्षभित्र प्रयोग हुने सामान, लगाउने लुगा सबै किटाणुरहित बनाइएको हुन्छ। त्यसलाई संक्रमणरहित राख्न स्क्रब नर्सको ठूलो भूमिका हुन्छ। शल्यक्रिया कक्षभित्र काम गर्ने स्क्रब नर्सको सानो लापरबाहीले बिरामीलाई संक्रमण हुनसक्छ। त्यसैले शल्यक्रिया कक्षभित्र सानो–ठूलो केसको सरसफाइमा बराबरी ध्यान दिनुपर्छ। शल्यक्रिया गर्दा थुप्रै जटिलता आउन सक्छन्। त्यसैले पहिले नै तयारी अवस्थामा बस्नुपर्छ। कसरी संक्रमणबाट बचाउने शल्यक्रिया कसरी सफलतापूर्वक व्यवस्थापन गर्ने भन्ने कुरामा ध्यान हुनुपर्छ। 

तालिमको व्यवस्था छैन 
मैले टिचिङ अस्पतालको शल्यक्रिया कक्षमा स्क्रब नर्स भएर काम गर्न सुरु गरेको ६ वर्ष भयो। तर अहिलेसम्म कुनै तालिमको व्यवस्था छैन। सुरु–सुरुमा त काम गर्न रमाइलो हुन्छ। काम गर्दै जाँदा हौसला प्रदान गर्ने र नयाँ–नयाँ कुरा सिकाउने तालिमको जरुरत पर्छ। तर हामीकहाँ त्यस्तो व्यवस्था छैन। कहिलेकाहीं तालिमको अवसर आयो भने पनि हामीभन्दा माथिल्लो तहमा रहेका दिदीहरु जानुहुन्छ। त्यसो गर्दा हामी नयाँ पिढीले सिक्ने मौका पाउँदैनौं र सेवालाई गुणस्तरीय बनाउन सक्दैनौं। त्यही कारणले नर्सहरु काम नै छोडेर विदेश गएका थुप्रै उदाहरण छन्। 

जोखिम भत्ता पनि छैन 
शल्यक्रिया कक्षमा काम गर्दा विभिन्न किसिमका ग्याँस, एक्सरे मेसिनसँग एक्सपोज हुनुपर्छ। अन्य स्वास्थ्यकर्मीले त्यस्तो मेसिनमा एक्सपोज भएबापत जोखिम भत्ता पाउने व्यवस्था छ तर नर्सहरुलाई कुनै भत्ता हुँदैन। नर्सले जोखिम भत्ता नपाउँदा दुःख लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *