त्यो बेलामा म नर्स भएको भए आमालाई बचाउन सक्थेँ कि!

Sharing is caring!

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी नर्सिङ अधिकृत हुन् आशालक्ष्मी प्रजापती। २०४२ सालदेखी नर्स भएर बिरामीलाई सेवा दिइरहेकी छन् उनी। सानै उमेरमा आमा गुमाएकी आशालक्ष्मीको लालनपालन दाजु–भाउजुबाट भयो। भाइलाई जन्म दिँदा धेरै रगत बगेर आमाको मृत्यु भएकै कारण माइला दाजुले उनलाई नर्सिङ क्षेत्रतर्फ लाग्न प्रेरित गरेका थिए। टिचिङ अस्पतालबाट बिएन सिध्याएपछि आशालक्ष्मी २०५० सालमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा प्रवेश गरेकी थिइन्। लामो समयदेखि नर्स भएर काम गर्दाका अनुभव उनकै शब्दमा :

हाम्रो घर झक्तपुर भए पनि कामको सिलसिलामा बुबा–आमा चितवनमा रहेकाले मेरो जन्म चितवनमै भयो। भाइ जन्मने बेलामा धेरै रगत बगेर आमाको मृत्यु भयो। त्यसपछि हाम्रो लालनपालन जेठा दाजु–भाउजुले गर्नुभयो। म पढाइमा तेज थिएँ। दाजुहरु पनि बहिनीले धेरै पढ्नुपर्छ भनेर जोड दिइरहनुहुन्थ्यो। भरतपुर हाइस्कुलबाट राम्रो नम्बर ल्याएर एसएलसी पास भएँ। त्यसपछि काठमाडौं बस्ने माइला दाजुले मलाई पढ्नका लागि काठमाडौं बोलाउनुभयो।

आमाको उपचारकै क्रममा मृत्यु भएकाले माइला दाजुको इच्छा बहिनी मेडिकल क्षेत्रमा प्रवेश गरोस् भन्ने थियो। काठमाडौं आएको एक÷दुई दिनमै उहाँले नर्सिङ कलेज भर्ना गरिदिनुभयो। उहाँले मेरो लुगा–फाटो प्याक गरेर नर्सिङ कलेजको होस्टलमा पु¥याइदिनुभयो र ‘अब तिमीले नर्स पढ्नुपर्छ, म बिदा हुनेबित्तिकै लिन आउँछु’ भन्दै फर्कनुभयो।

सुरुमा नर्सिङ पढ्न त्यति मन लाग्दैनथ्यो। तर, विस्तारै बानी पर्दै गयो र रमाइलो हुँदै गयो। पिसिएल नर्सिङ पढ्ने बेलामा ६ महिना मिडवाइफ्रीको पढाइ हुन्थ्यो। प्रयोगात्मक अभ्यासको बेलामा प्रसूति सेवाको बारेमा बुझ्ने र अभ्यास गर्ने मौका मिलेको थियो। त्यही बेलादेखि नै प्रसूति नर्स भएर आमा र बच्चाको सेवा गर्छु भन्ने लाग्थ्यो। 

स्टाफ नर्स भएर पाटन अस्पतालमा पोस्टिङ भयो। पाटन अस्पतालमा पहिलो दिन नै बच्चाको वार्डमा काम गर्ने अवसर मिल्यो। ड्युटी अवधि २ बजेदेखि ९ बजेसम्म थियो। यो अवधिमा पटकपटक गरेर पाँच जना बच्चाको मृत्यु भएको थियो। यो घटनाले मलाई निकै दुःखी बनायो त्यो दिनदेखि बच्चाको वार्डका काम गर्नै मन लाग्दैन। त्यो घटना अहिले सम्झँदा पनि दुःख लाग्छ।

टिचिङ अस्पतालबाट बिएन सिध्याएपछि २०५० मा परोपकार प्रसूति तथा स्त्री रोग अस्तालमा नर्सिङ अधिकृत भएर काम गर्ने मौका मिल्यो। यो दिन मेरो मनको इच्छा पूरा भएजस्तो लाग्यो। अस्पतालका प्रायः सबै वार्डमा इन्चार्ज भएर काम गरिसकेको छु। सबै वार्ड उत्तिकै संवेदनशील छन् तर मलाई सबै सबैभन्दा संवेदनशील बर्थिङ वार्ड लाग्छ। यो वार्डमा लाखौँ बच्चा जन्मिसके। कतिले बच्चा जन्माउने क्रममा ज्यान गुमाउनु परेको छ। बच्चा जन्मिएको २४ घन्टासम्म पनि आमाको मृत्यु हुने सम्भावना बढी हुन्छ।

एउटा घटना सम्झँदा अहिले पनि मेरा आँखा रसाउँछन्। म बर्थिङ वार्डको इन्चार्ज थिएँ। १७ वर्षकी किशोरी प्रसूति व्यथा लागेर वार्डमा भर्ना भएकी थिइन्। भर्ना भएको एक घन्टामै उनले बच्चा जन्माइन्। बाहिरबाट हेर्दा उनको स्वास्थ्य ठिकै देखिएको थियो, बच्चा पनि स्वस्थ नै देखिन्थ्यो। तर, बच्चा जन्मिएको निकै समयसम्म पनि उनको रगत बग्न कम भएन। पछि थाहा भयो– बच्चा जन्मिने ठाउँ नजिकै प्वाल परेको रहेछ। तुरुन्त डाक्टरले शल्यक्रिया गर्न लैजानुभयो। शल्यक्रिया गर्दा पनि रगत बग्न नरोकिएपछि पाठेघर नै काटेर फालियो। तर, पनि उनलाई बचाउन सकिएन।

कुनै घटना यस्ता हुन्छन्, जति प्रयास गरे पनि सफलता हात लाग्दैन। मेरो आमाको पनि यस्तै कारणले मृत्यु भएको थियो। त्यो बेलामा म नर्स भएको भए आमालाई बचाउँथे जस्तो लाग्छ। 

अस्पतालबाट शिविर लिएर गाउँ–गाउँमा जाँदा महिलाहरु थुप्रै स्वास्थ्य समस्या लिएर आउनुहुन्छ। त्यहाँ उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं बोलाएर सक्दो सहयोग गर्छु। बिरामीलाई सहयोग गर्न पाउँदा आफ्नै आमालाई सहयोग गरेजस्तो अनुभूति हुन्छ। 

सहयोगका नाममा फाटेका लुगा
अस्तालमा नवजात शिशु र आमालाई कपडा दिएर सहयोग गर्न थुप्रै संघ–संस्था, व्यक्ति आउँछन्। अस्पतालमा सहयोग गर्न चाहनेलाई हामीले रोक्ने कुरा पनि भएन। तर, कोही व्यक्ति यस्ता हुन्छन्, सहयोग गर्ने नाममा काम नलाग्ने, पुराना, फाटेका लुगा दिएर फर्कन्छन्।

एक जना विदेशी र एक जना नेपाली अस्पतालमा लुगा सहयोग गर्न चाहन्छौं भन्दै आएका थिए। भोलिपल्ट म अस्पतालमा थिइनँ, अर्को सिस्टरलाई लुगा दिएर गएछन्। अस्पताल पुगेपछि बच्चालाई लुगा बाँड्नुप¥यो भनेर हेर्छु त– सबै लुगा कामै नलाग्ने, फाटेका।

एक महिनापछि उनीहरु पुनः लुगा बाँड्न भन्दै आए। फेरि उस्तै फाटेका लुगा। यस पटक भने मैले उनीहरुलाई हप्काएर फर्काइदिएँ। सहयोग नै गर्नु छ भने राम्रै गर्नु नि। त्यो घटना सम्झँदा अहिले पनि रिस उठ्छ। 

सरकारी अस्पताल हो, यहाँ गरिब मात्र आउँछन्, जे गरे पनि हुन्छ भन्ने लाग्दो हो। यो अस्पताल सरकारी भए पनि सबैथरीका बिरामी आउने गर्छन्। आजभोलि पहिलाको जस्तो छैन। एक–दुई बच्चा जन्माउँछन्, आफ्ना छोराछोरीलाई दुःख गरेर भए पनि नयाँ लुगा लगाइदिन्छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पुरानो पोस्ट