मलाइ पढाउन श्रीमानले दाइ बनेर हस्ताक्षर गर्नुभयो।

Sharing is caring!

उमेरले ६५ वसन्त पार गरेकी लक्ष्मी मानन्धर ३६ वर्षे जागिर जीवनबाट सेवानिवृत्त भएको पनि ८ वर्ष बितिसकेको छ। तर बुढ्यौली अवस्थामा पनि उनको जोश र जाँगरमा भने कत्ति कमी आएको छैन। उनको दिनचर्याले जोकोहीलाई आश्चर्यचकित बनाउँछ, जोश र जाँगर भरिदिन्छ, काम गर्ने हौसला प्रदान गर्छ।

बिहान ४ बजेदेखि सुरु हुन्छ, लक्ष्मी मानन्धरको दिनचर्या। उनी बिहानको नित्यकर्मपछि  केही समय योग गर्छिन् र ९ बजे ड्युटी भ्याउन पुगिसक्छिन्। भन्छिन् ‘काम नगरी त एकछिन पनि बस्न सक्दिनँ।’ 

लक्ष्मी शनिबार पनि आराम गर्दिनन्। उनी शनिबारको दिन महिलालाई निःशुल्क उपचार सेवा दिन्छिन्। ‘बरु मन्दिर जाँदिन। मैले २०४० सालदेखि महिलालाई निःशुल्क उपचार सेवा दिँदै आएको छु। सेवाभन्दा ठूलो धर्म केही छैन।’

हाल उनी सिभिल अस्पतालमा सिनियर अनमी नर्सका रुपमा कार्यरत छिन्। गर्भपतन, परिवार नियोजनसम्बन्धी जानकारी चाहियो भने लक्ष्मी सिस्टर खोज्दै सिभिल अस्पताल धाउने गर्छन्, सेवाग्राही। 

काठमाडौंमा जन्मिएकी हुन् लक्ष्मी। तर त्यतिबेला छोरी पढाउने चलन थिएन। एसएलसीसम्म पढाएर बाबुआमाले २०२८ सालमा उनको विवाह गरिदिए।   

विवाहपछि उनको दैनिकी घरधन्दामै सीमित थियो। उनका श्रीमान् स्वास्थ्य सेवा विभागमा काम गर्थे। एक दिन श्रीमान्ले ‘तिमीले कति पढेकी छौ ?’ भनेर प्रश्न गरे। एक्कासि श्रीमान्को यस्तो प्रश्न सुन्दा उनी झसंग भइन्। ‘किन यस्तो प्रश्न गरेको होला भनेर मनमा डर पनि लाग्यो,’ उनले विगत सुनाइन्। त्यसपछि श्रीमान्ले उनलाई भरतपुर अस्पताल गएर अनमीको तालिम लिन सल्लाह दिए। ‘श्रीमती पनि आफ्नै खुट्टामा उभिनुपर्छ भनेर श्रीमान्ले विवाहपछि अनमी पढ्न प्रेरित गर्नुभयो,’ उनले भनिन्।

अनमीको तालिम गर्न तयार त भइन्, तर त्यो बेलामा विवाहित महिलाले पढ्न पाउँदैनथे। कलेज भर्ना हुन उनले अविवाहित भनेर ढाँट्नु परेको थियो। ‘भर्ना हुँदा मेरा श्रीमान्ले मलाई बहिनी भनेर साइन गर्नुभएको थियो,’ उनले सम्झिइन्।

अनमी पढ्न सुरु गरेको ६ महिनापछि बिरामी पहिलो पटक छुन पाउँदा उनी निकै खुसी भएकी थिइन्। दुई वर्षको पढाइ सिध्याएर २०३२ सालबाट प्रसूति तथा स्त्री रोग अस्पतालमा अनमी नर्सका रुपमा काम सुरु गरिन् मानन्धरले।

पहिलो पटक उनको पोस्टिङ एन्टिनेन्टल वार्डमा भएको थियो। ‘त्यो बेला सबैलाई स्टेथेस्कोप उपलब्ध हुँदैनथ्यो। त्यसैले बच्चाको धड्कन सुन्नुपर्दा गर्भवतीको पेटमा कान राखेर धेरैबेर सुन्नुपथ्र्यो,’ उनले अनुभव सुनाइन्।

स्टाफ कम हुने हुँदा एक जना नर्सले ५० जना बिरामीको रेखदेख गर्नुका साथै लगातार १५ दिनसम्म नाइट ड्युटी गर्नुपथ्र्यो। शल्यक्रिया (ओटी) मा काम गर्दा दिनमा ८ वटासम्म शल्यक्रियामा चिकित्सकलाई सहयोग गरेको अनुभव छ उनीसँग। 

शल्यक्रिया गरिसकेपछि सुत्केरीको रगत बगेको छ कि छैन, पिसाब भयो कि भएन, टाँका लगाएको ठाउँमा रगत आएको छ कि छैन, सुन्निएको छ कि छैन भनेर आफैंले जाँच गर्नुपथ्र्यो लक्ष्मीलाई। आजभोलिका नर्सले शल्यक्रियापछि आफ्नो काम सकियो भनेर बिरामीलाई ध्यान नदिँदा दुःख लाग्ने उनी बताउँछिन्।

नवजात शिशु युनिटमा काम गर्दा बच्चाको रेखदेखमा रातभर नसुतेको अनुभव पनि छ उनीसँग। ‘दूध खाने बच्चालाई कमिलाले टोक्यो कि, न्यानो लुगा लगाएको छ कि छैन, बच्चाले दिसापिसाब गरेको छ कि छैन भनेर रातभर निद्रा लाग्दैनथ्यो,’ उनले विगत सम्झिइन्, दिनमा १० देखि १५ जना बच्चालाई बिहानको घाममा तेल लगाएर मालिस गर्नुपथ्र्यो। आजभोलि बच्चालाई तेल लगाउन हुँदैन भनेको सुन्दा अचम्म लाग्छ।’  

एचआइभीसम्बन्धी परार्मश दिने काम पनि गरेकी छिन् लक्ष्मीले। ‘महिलाहरु आफूलाई एचआइभी लागेको थाहा पाउँदा छाँगाबाट खसेजस्ता हुन्थे। कुनै महिला आफ्नो परिवारलाई रोगको बारेमा भन्न रुचाउँदैनथे,’ उनले भनिन्, ‘यस्ता महिलालाई घरमा बच्चा जन्माउनुहँुदैन, रगतको माध्यमबाट अरुलाई पनि सर्नसक्छ, बच्चा जन्माउन अस्पताल नै आउनुपर्छ भनेर सम्झाउन निकै मुस्किल पथ्र्यो।    

गर्भपतनसम्बन्धी तालिम लिएकी लक्ष्मीले केही वर्ष त्यससम्बन्धी काम पनि गरिन्। उनले भनिन्, ‘त्यो बेला गर्भपतन गराउने मान्छे खुलेर आउँदैनथे। परिवारले थाहा पाउने डरले लुकेर अस्पताल आउँथे। कतिपय त परिवारले थाहा पाउने डरले अन्य मुलुकमा महँगो शुल्क तिरेर गर्भपर्तन गराउन बाध्य थिए।’ 

बिर्सन नसक्ने घटना 
२२ वर्षकी गर्भवती र उनका श्रीमान् जचाउन अस्पताल आएका थिए। रगतको जाँच गर्दा श्रीमतीलाई एचआइभी पोजेटिभ देखियो। एचआइभी भएको थाहा पाएपछि दुवै जनाले आफ्ना परिवारका सदस्यलाई नभन्न आग्रह गरे। पछि बुझ्दा थाहा भयो, दुई वर्ष अगाडि दाँत निकाल्ने क्रममा असावधानीबस उनलाई एचआइभी सरेको रहेछ।

नर्स लक्ष्मीले उनीहरुलाई बच्चा अस्पतालमा नै जन्माउन आग्रह गरिन्। बच्चा शल्यक्रिया गरेर निकालियो। ८ महिनापछि बच्चा जाँच गर्दा एचआइभी नेगेटिभ देखियो। रोग लुगाउने बानी र रोग लाग्यो, अब मर्छु भन्ने भावनाले ती महिलाको केही वर्षपछि मृत्यु भयो। त्यो घटना सम्झँदा अहिले पनि नरमाइलो लाग्छ उनलाई। 

प्रसूति गृहको नवजात शिशु युनिटमा काम गर्दा २० वर्षकी एक युवती बच्चा जन्मिएको ६ दिनपछि ज्वरो आएर अस्पताल भर्ना हुन आइन्। धेरै दिन अस्पताल बस्दा पनि उनका परिवारबाट कोही भेट्न आएनन्। लक्ष्मीले तिम्रो परिवार किन भेट्न नआएको भन्ने प्रश्न गर्दा उनले आफू नेपालगञ्जमा नर्स पढ्दैगर्दा भागेर विवाह गरेकोले परिवार रिसाएर नआएको बताइन्। 

श्रीमान् दिनरात नभनी श्रीमती र बच्चाको स्याहार गर्थे। दिन प्रतिदिन उनको स्वास्थ्य नाजुक बन्दै गइरहेको थियो। सायद अन्तिम अवस्था भएकोले उनलाई विभिन्न परिकार खान मन लाग्थ्यो। खान मन लाग्दा लक्ष्मीलाई बनाएर ल्याइदिन आग्रह गर्थिन्। लक्ष्मीले पनि माया गरेर ती बिरामीलाई खान मन लागेको कुरा बनाएर खुवाउने गर्थिन्।  

एक दिन ती युवतीले खाटमा सुत्दिन भनेर जिद्धी गर्न थालिन्। धेरै जिद्धी गरेपछि लक्ष्मीले कम्बल ओछ्याएर भुईंमा ओछ्यान लगाइदिइन्। श्रीमान् धेरै थकित देखिएकोले बाहिर आराम गर्न आग्रह गरिन्। श्रीमान् आराम गर्न गएका बेला ती युवतीको मृत्यु भयो।  

एक्लै लाश उठाउन नसक्ने भन्दै मान्छे खोज्न हिँडेका श्रीमान् तीन दिनसम्म पनि फर्किएनन्। त्यसपछि प्रहरीले लाश उठाए। उनीहरुको बच्चालाई एक जना हाकिमले पालेका छन्। अहिले पनि त्यो बच्चा देख्दा त्यो दम्पतीको याद आउँछ लक्ष्मीलाई।  

दार्जिलिङबाट एक जना महिला रगत बगेर अस्पताल आएकी थिइन्। पाठेघरमा समस्या भएकोले उनको तत्काल शल्यक्रिया गर्नुपर्ने थियो। विभिन्न कारणले तीन दिनसम्म शल्यक्रिया हुन सकेन। सानासाना छोराछोरी भएकोले आफूलाई केही भइहाल्यो भने ती बच्चाको कसले हेरचाह गर्ला भनेर चिन्ता व्यक्त गर्थिन् ती महिला।। तर दुर्भाग्य, शल्यक्रिया गर्नुअगाडि बेहोस गर्ने बेलामा औषधिको एलर्जीको कारण उनको मृत्यु भयो। त्यो बेलामा उनका श्रीमान्लाई सम्झाउन लक्ष्मीलाई निकै गाह्रो भएको थियो। स्वास्थ खबर बाट साभार।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पुरानो पोस्ट