स्वास्थ्यको फर्जी रिपोर्ट बनाएर केही कर्मचारी संघमै समायोजन र पदस्थापन भएको भन्दै उजुरी

Sharing is caring!

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी रिपोर्ट बनाएर स्वास्थ्यका कर्मचारीहरू संघमा समायोजन भएको भन्दै चासो देखाएको छ । फर्जी रिपोर्ट बनाएर केही कर्मचारी संघमै समायोजन र पदस्थापन भएको भन्दै उजुरी परेपछि अख्तियारले चासो देखाएको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उजुरीमाथि छानबिन भइरहेको र दोषी ठहरिए कारबाहीको दायरामा ल्याइने बताए । ‘फर्जी रिपोर्ट बनाएर केही कर्मचारी संघमै समायोजन र पदस्थापन भएको भन्दै उजुरी परेको छ, अनुसन्धानमा दोषी ठहरिए कारबाहीको दायरामा ल्याउने छौं,’ प्रवक्ता कोइरालाले भने ।

फर्जी रिपोर्टका आधारमा संघमै समायोजन र पदस्थापन हुनेहरूमा वीर अस्पतालमा कार्यरत कर्मचारीहरू अरुण महतो, टीकाराम पनेरु, जीवन श्रेष्ठ, युवराज सुवेदीलगायत रहेका छन् ।
यस्तै, वीर अस्पतालमा कार्यरत डिल्ली खनाल, डिल्ली आचार्य, सविता जोशी, युवराज सुवेदीले पनि रोगी भएको भन्दै रिपोर्ट पेस गरेको पाइएको छ । यी सबै अहेबका रूपमा कार्यरत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नियुक्त हुँदा निरोगिताको प्रमाणपत्र पेस गरेर फेरि बोर्डमार्फत नै रोगीको प्रमाणपत्र पेस गर्नु अनुसन्धानको विषय भएको बताए । ‘एक वर्ष अगाडि नियुक्त हुँदा निरोगिताको प्रमाणपत्र पेस गर्ने र त्यही व्यक्तिले अहिले आएर बोर्डको सिफारिसमा रोगी भएको प्रमाणपत्र पेस गर्ने, यस्तो पनि हुन्छ र ? यो विषयमा छानबिन जरुरी छ ।’

स्वास्थ्य मन्त्रालयले समायोजनको सूचना प्रकाशित गरेसँगै कर्मचारीले आफ्नो नजिक रहेका चिकित्सकको रिपोर्टका आधारमा मेडिकल बोर्डको सिफारिसमा त्यस्तो काम गरेको पाइएको छ ।
स्रोतका अनुसार स्वास्थ्यअन्तर्गत समायोजनमा समस्या आएपछि स्वास्थ्य मन्त्रालयले गुनासो गर्ने समय दिएको थियो । यसपछि वीर अस्पतालका केही स्वास्थ्यकर्मीले फर्जी रिपोर्ट बनाएर पेस गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत समायोजनको सूची सार्वजनिक भएपछि वीरका अधिकांश कर्मचारीले बिरामी भएको भन्दै मेडिकल बोर्डमार्फत स्वास्थ्य मन्त्रालयमा विवरण पेस गरेका थिए । मेडिकल बोर्डले दिएको सिफारिसबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

एक वर्षअगाडि नियुक्त हुँदा निरोगिताको प्रमाणपत्र पेस गरेका छन् । अहिले आएर बोर्डको सिफारिसमा कसरी रोगी भए ? नियुक्त हुँदा निरोगी प्रमाणपत्र पेस गरेर फेरि बोर्डमार्फत रोगीको प्रमाणपत्र पेस हुनु अनुसन्धानको विषय हो 
महेन्द्र श्रेष्ठ, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

फर्जी रिपोर्ट बनाएर केही कर्मचारी संघमै समायोजन र पदस्थापन भएको भन्दै उजुरी परेको छ, अनुसन्धानमा दोषी ठहरिए कारबाहीको दायरामा ल्याउनेछौं
प्रदीपकुमार कोइराला 
प्रवक्ता अख्तियार

कर्मचारी र चिकित्सकको मिलोमतोमा तयार पारिएका रिपोर्टहरू मेडिकल बोर्डले पनि फटाफट सदर गरेको देखिएको छ । हालसम्म मेडिकल बोर्डबाट सिफारिस भएकै आधारमा ६० बढी कर्मचारीको समायोजन भइसकेको छ ।
निजामती सेवा नियमावली २०५० अनुसार कडा रोग भन्नाले मिर्गौला, मुटु र क्यान्सरसम्बन्धी रोगलाई जनाउँछ । तर, अस्पतालमा कार्यरत केही कर्मचारीको उच्च रक्तचाप, ढाडको दुखाइ, बाथजस्ता रोग भनी सिफारिस गरिएको छ । ती व्यक्ति प्रायः बोर्ड र सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीनिकट रहेको बुझिएको छ ।

अस्पतालमा कार्यरत अहेब अरुणकुमार महतोलाई जनरल फिजिसियनले सिफारिस गरेको पाइएको छ । सिफारिसमा महतोलाई थाइराइडको समस्या, घाँटीनेर ढाड खिइएको, उच्च रक्तचाप र पित्तथैलीमा गिर्खा भएको देखाइएको छ । सोसम्बन्धी इन्डोक्राइनोलोजिस्ट, अर्थोपेडिक सर्जन, फिजिसियन र सर्जनले हेर्नुपर्ने हुन्छ । तर, महतोलाई असम्बन्धित डाक्टरले दिएको रिपोर्टलाई आधार मानेर बिरामी भएको सिफारिस बोर्डले गरेको छ ।
बोर्डले तयार पारेको सिफारिसमा महतोलाई सर्भिकल स्पोनडायलोसिस, एचटीएन, हाइपोथाइरोइडिज्म मल्टिपल जिबिपोलिप्स भएकाले सम्बन्धित विशेषज्ञ डा. संजयकुमार ठाकुरले सुविधा सम्पन्न ठाउँमा बिरामीको नियमित फलोअप तथा उपचार गर्ने गरेको उल्लेख छ ।

स्रोतका अनुसार महतो स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव निकट हुन् । उनी संघमै समायोजनमा परेका छन् । वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. ठाकुरले रिपोर्टका आधारमा आफूले चेकजाँच गरेको बताए । उनले भने, ‘मैले उहाँलाई नियमित फलोअपमा पनि आउन भनेको छु । ’
यस्तै, अस्पतालमा कार्यरत अहेब टीकाराम पनेरूलाई बोर्डले ढाड दुख्ने समस्या भएको देखाएर संघकै फाजिलमा सरुवा गरिएको छ । उनी खेलाडीसमेत हुन् । तर, ढाड खिइएको भन्दै बोर्डले सिफारिस दिएको छ । धेरैबेरसम्म हिँड्न र उभिन नहुने भनेर सिफारिस गरिएको छ । स्रोतका अनुसार पनेरू सामान्य प्रशासन मन्त्रालयमा गठन भएको तत्कालीन समायोजन महाशाखाका प्रमुख केदार पनेरूका नातेदार हुन् ।

यस्तै, अस्पतालमा कार्यरत अहेब युवराज सुवेदीलाई बोर्डले ढाड दुख्ने समस्या भएको देखाएको छ । यही रिपोर्टका आधारमा उनलाई संघकै फाजिलमा पदस्थापन र समायोजन गरिएको हो । फर्जी रिपोर्ट बनाएको प्रमाणित भए डाक्टरको प्रमाणपत्र रद्ध गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई छ ।
यसैगरी, अस्पतालमा कार्यरत अहेब जीवन श्रेष्ठलाई बोर्डले ढाड दुख्ने समस्या भएको देखाएको छ । यसैलाई आधार बनाएर उनलाई संघकै फाजिलमा पदस्थापन र समायोजन गरिएको छ ।
कर्मचारी समायोजन ऐनको दफा ८ को उपदफा ४ मा प्रचलित कानुनले निर्धारण गरेको कडा रोग लागेको वा शारीरिक रूपमा अशक्त व्यक्तिले रोजेको ठाउँमा समायोजन हुन पाउने उल्लेख छ ।
नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेपछि मन्त्रालयले कर्मचारीलाई चाहेको स्थानमा समायोजन गर्ने व्यवस्था छ ।

सो दफालाई दुरुपयोग गर्दै वीर अस्पतालका १२ बढी कर्मचारी मेडिकल बोर्डबाट कडा रोग भनी सिफारिस बनाउँदै समायोजनमा पर्न सफल भएका हुन् । मेडिकल बोर्डको अध्यक्षमा अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरी, सदस्यहरूमा प्राडा विद्यानिधि न्यौपाने र प्राडा किरण श्रेष्ठ रहेका छन् ।

Source: rajdhani daily

Leave a Reply

Your email address will not be published. Required fields are marked *