घरमै बसेर अस्पतालको टिकट लिन सकिने, सिभिल अस्पतालबाट सुरु भयो सेवा।

Sharing is caring!

काठमाडौं– सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले टिकट काट्न लामो लाइन बस्नुपर्ने दुःख सम्झन्छन्। 

हुन पनि नेपालका सबै सरकारी अस्पतालमा जाँच गर्न जाँदा बिरामी र बिरामीका आफन्तले लामो लाइन बसेर ओपिडी टिकट लिनुपर्ने बाध्यता छ। लाइनलाई व्यवस्थित गर्न अस्पतालले टोकन प्रणालीको सुरुवात गरेको भए पनि टोकन पाउन पनि बिरामीका आफन्त बिहानैदेखि अस्पतालको लाइनमा नै बस्नुपर्ने बाध्यता छ।

अब भने अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्नु नपर्ने सुविधा भएको छ।

अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्ने छन्।

प्रभु पे मोबाइल एप मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ।

मेडिफ्लो सोलुसनले मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्नसक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने सिभिल अस्पताल पहिलो भएको छ। मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडिफ्लोका सिइओ सुरेन्द्र न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार मेडिफ्लोले अहिले यो सेवा आफ्नो एपबाट नभई प्रभु पेसँगको सहकार्यमा सुरु गरेको छ। भविष्यमा आफ्नो लगायत अन्य एपबाट पनि यो सेवा सुरु गर्ने उनले बताए। 

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै एप मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा दीर्घराज आरसीले जानकारी दिए। 

‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं। अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्नसक्ने भएका छन्।’

कार्यकारी निर्देशक डा आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपिडीमा आउने गरेका छन्।

मोबाइलबाट टिकट काट्न के गर्ने?


अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्छ। हाललाई यो सेवा एन्ड्रोइडमा उपलब्ध भएको र केही दिनपछि आइओएसमा पनि उपलब्ध हुने प्रभु टेक्नोलोजीका सिइओ खुसल रेग्मीले जानकारी दिए।

प्रभु पे वालेटमा रजिस्टर भएपछि व्यक्तिले आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिने छ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामती अस्पताल (सिभिल सर्भिस हस्पिटल)मा जानुपर्ने हुन्छ। सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ। 

त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकटको मूल्य प्रभु पेमा तपाईंको खातामा रहेको रकमबाट काटिने छ।

अनलाइन टिकट काट्ने समय

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ। तर, यो समय पनि क्रमशः आवश्यकता अनुसार बढाउँदै लैजाने कार्यकारी निर्देशक डा आरसीले जानकारी दिए।

उनका अनुसार पेइङ क्लिनिकतर्फ मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ। यो समय पनि विस्तारै बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले बताए।

यसका साथै अस्पतालले अस्पताल  हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिनसक्ने व्यवस्था समेत गरेको छ। 

यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ।

श्रोत:-स्वास्थ्य खबरपत्रिका२०७६ श्रावण २२ बुधबार १३:२१:००प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *