के हो घातक रोग स्क्र्ब टाइफस अनि कसरी वच्न सकिन्छ त डाक्टर राजन लुइँटेलको बिचार।

Sharing is caring!

स्क्रब टाइफस एउटा घातक सरुवा रोग हो । यो रोग रिकेटसिया सुसुगामुसी नामको किटाणुका कारण हुनेगर्छ । यो रोगको सुरुवात जापानबाट भएको थियो । सन् १९३० मा जापानमा मियाजिमा मिकिनोसुकेले पत्ता लगाएको यो रोकको सङ्क्रमण पछिल्लो समय नेपालमा पनि फैलँदै गएको छ । २०७२ सालको भूकम्पपछि यो रोगको सङ्क्रमण बढिरहेको छ ।

सुसुगामी नामको किटाणुका कारण सर्ने यो रोगका किटाणु चिगरमाइड्स भन्ने उपियाँ उडुस जस्ता साना किराले बोक्ने गर्छ । सो किराले टोकेपछि हाम्रो शरीरमा सार्ने गर्छ । खासगरी सुसुगामी किटाणु मुसामा हुने गर्छ ।

भूकम्पका कारण घरहरु भत्किँदा मुसाहरु यत्रतत्र छरिए । भूकम्पपछि नेपालमा यो रोगको प्रकोप बढ्नुको कारण मुसाहरु छरिनु पनि हो । मुसामा भएको त्यो किटाणुले मुसालाई असर गर्दैन तर चिगरमाइड्स भन्ने किराले मुसालाई टोकेको छ र त्यसले फेरि मान्छेको कुनै अङ्गमा टोक्यो भने त्यहाँ सानो खाल्डोजस्तो बन्छ । रोग सर्यो भने सुरुमा टाउको दुख्ने, घाँटी दुख्ने, आँखा दुख्ने  समस्या देखापर्छ । केही समयपछि धेरै ज्वरो आएर मानिसको शरीर र दिमाग लगायतका ठाउँमा असर गर्छ अनि मान्छेको मृत्यु हुन्छ ।

यसले मानिसको शरीरको कुनै अङ्गमा टोकेर बिमिरा आउँदैमा त्यसलाई स्क्रब भन्न सकिँदैन । कहिलेकाहीँ के हुन्छ भने पैतालमा टोक्यो भने त्यहाँ प्वाल देखिँदैन । त्यो कारणले चिकित्सकले स्क्रब हो कि भनेर उसको शरीर हेरेर थाहा नहुने तर जाँच गर्दा स्क्रब देखिने हुन्छ । पैतालामा टोक्यो भने बिमिरा, खटिरा पनि नदेखिन सक्छ ।

यो रोग सर्नुको मुख्य कारण किटाणु सङ्क्रमित मुसा र छुचुन्द्रा, सानो भुसुनाले टोक्नु हो । वर्षायाममा जङ्गल तथा जङ्गल फँडानी भएको ठाउँ, घासपात र झारपात भएको ठाउँ तथा नदी किनारामा यस्ता खालका भुसुना बढी पाइन्छन् । तिनले टोकेको ठाउँमा सानो घाउ आउने, घाँटी र गर्दनका भागमा ससाना बिमिरा आउने, बाथ सुनिने र धेरै ज्वोरो आउने लक्षण देखापर्छन् । मुसा वा भुसुनाले टोकेको दस बाह्र दिनपछि यो रोगको लक्षण देखापर्न थाल्छ ।

यस्ता हुन्छन् लक्षणहरु :

स्क्रब टाइफसको लक्षण टाइफाइडसँग मिल्दोजुल्दो नै हुन्छ । धेरै टाउको दुख्नु, एक्कासि ज्वरो आउनु, हल्का खोकी र आँखा रातो भई चिप्रा आउने, बाथ जिउ सुनिने, ढाड र कम्मर धेरै दुख्ने, टोकेको ठाउँमा सानो घाउ देखिने, केही समयपछि छाती तथा ढाडमा साना राता राता बिमिरा देखिने, डाक्टरले जाँचेर हेर्दा फियो, कलेजो सुनिएको पाइने, मुटुको माङ्सपेसी सुनिने, ब्लड प्रेसर घटेर जाने र अचेत हुने, नाडीको धड्कन बढ्ने र विषाक्त देखिएर अन्त्यमा मृत्युसम्म हुने यो रोगका लक्षण हुन् ।

यो रोग लाग्ने बित्तिकै घाउ बिमिरा नदेखिन पनि सक्छ । एक दुई हप्तापछि मात्र देखिन सक्छ या नदेखिन पनि सक्छ । यसैगरी कुनै भित्री भागमा घाउ हुन सक्छ । जुन घाउ नदुख्ने नपोल्ने पिप नआउने हुन्छ र पछि आफै खाटा बनी निको हुन्छ । कहिलेकाहीँ सुरुमै उपचार गरियो भने पनि देखिँदैन ।

यो रोगका कारण अन्य शारीरिक खतरा पनि हुन सक्छ । जस्तै मिर्गौला फेल हुने, मुटु फेल हुने, कडा निमोनिया हुने, मस्तिष्क ज्वोरो आउने, रगत जम्ने जस्ता समस्या देखिन सक्छ । रगत जाँचबाट यो रोग हो कि हैन भनेर थाहा पाउन सकिन्छ । सुरुमा डब्ल्यूबीसी घट्ने र केही समयपछि बढ्ने हुन सक्छ ।

उपचार कसरी गर्ने

सामान्य घरमा पानीपट्टी लगाउने, प्रशस्त झोलिलो गेडागुडी माछा मासु, चिल्लो कम राखेर फलफूल दिने, घरमा सिटामोल भए सिटामोल दिने ।

यदि बिरामीमा खतराको लक्षण देखिएको र साह्रै सिकिस्त देखिएमा आईसीयूममा राखेर कस्तो गम्भीर समस्या देखिएको छ, सोहीअनुसार उपचार गर्नुपर्छ ।

यो रोग पत्ता नलाग्दा बिरामीले मेरो लाखौँ खर्च भयो, आईसीयूमा राख्नुपर्यो भनेको सुनिन्छ । तर पहिलो अवस्थामै कुनै अस्पतालमा आएर स्क्रब टाइफस हो भन्ने निश्चित भयो भने २ सय रुपैयाँको औषधिले बिरामी निको बनाउन सकिन्छ ।

यो रोग बल्झियो भने मिर्गौला फेल हुने डर हुन्छ ।  पैसा धेरै खर्च हुनुका साथै बिरामीको ज्यानसम्म जाने हुन्छ । सही रोग पत्ता लागे दुई तीन सयको औषधिले निको हुन्छ । हाल यो स्क्रब टाइफसको जाँच अलि महँगो भएकाले अलि गाह्रो पनि छ ।

उपियाँ, उडुस जस्ता ससाना किराको प्रकोप गर्मी समयमा धेरै हुन्छ । वैशाख जेठदेखि असोजसम्म यस्ता किरा बढी सक्रिय हुन्छन् र यो समयमा स्क्रब टाइफस सर्ने जोखिम धेरै हुन्छ ।

यो रोगको उपचार पद्धति यही नै हो भनेर निश्चित छैन । अरू देशमा पनि उपचार विधि पत्ता नलागेर धेरै बिरामीको मृत्यु हुने गरेको छ । यसको लक्षण र टाइफाइडको धेरै लक्षणसँग मिल्न आउँछ । त्यसकारण धेरैजसो डाक्टरसावहरुले यो टाइफाइड हो कि भनेर टाइफाइडको औषधि दिएका हुन्छन् तर बिरामीलाई स्क्रब भएको हुन्छ । अचानक ज्वरो आएको छ र बिरामीको शरीरको अङ्गमा किराले टोकेर सानो बिमिराजस्तो खाल्टोजस्तो भएको छ भने यो रोगको आशङ्का गर्न सकिन्छ ।

पहिले स्क्रबको एन्टिबडीको जाँच नेपालमा खासै थिएन । अहिले भर्खर यसको टेस्ट सुरु भएको छ ।

सुरुमै यो रोग पत्ता लाग्यो भने अरू रोगको जस्तो दसौँ हजार रुपैयाँ खर्च गर्नुपर्दैन २ सय रुपैयाँ हाराहारीमै उपचार सम्भव छ । समयमै रोग पत्ता लाग्यो भने बिरामीलाई बचाउन सकिन्छ ।

यसरी गर्न सकिन्छ रोकथाम

स्क्रब टाइफस भएको क्षेत्रमा जाँदा सुरक्षित लुगा लगाउने र अग्रिम नै डोक्सिाइक्लाइन औषधि खाएर जानुपर्छ । यो रोगका कारण र लक्षणबारे जनचेतना फैलाउने, भुसुना नियन्त्रणका लागि आवश्यक विधि अपनाउने ।  यो रोग अन्य रोगहरु इन्डेमिक टाइफस, टाइफाइट फिभर, लेप्टोस्पाइरोसिस, डेङ्गु फिभर, भाइरल इन्फ्लुएन्जा जस्तै देखिने हुँदा बिरामी भएको ठाउँमा स्क्रब साइफस हुन सक्ने सम्भावनालाई पनि ध्यान दिएर जाँच गर्नुपर्ने हुन्छ ।

सानो सुलसुले जस्तो किरा जुन आँखाले देखिँदैन । खुट्टाबाट छिरेर शरीरको जुनसुकै भागमा पनि टोकिदिन सक्छ । एउटै राम्रो उपाय भनेको जुत्ता र चप्पल अनिर्वाय लगाउनुपर्छ ।  मुसा धेरै भएको ठाउँमा मुसाले नटोके पनि मुसामा भएको किटाणु भुइँमा झर्ने भएकाले खुट्टाबाट माथि शरीरमा जान नपाओस् भनेर चप्पल वा जुत्ता अनिवार्य लगाउनुपर्छ ।

पहिले कुनै कुनै देशमा मुसा मार्ने कि भन्ने कुरा पनि आएको थियो । तर अहिले मुसा नमार्न भनिएको छ । मुसा मा¥यो भने भुइँमा झन् धेरै किटाणु छरिन सक्छ । बरु मुसामै किटाणु घुमिरह्यो भने भुइँमा धेरै नछरिन सक्छ । कि त मुसा बढ्न नै दिनु भएन, निर्मूल नै पार्ने विधि अपनाउनुपर्यो ।

अहिले नेपालमा यसको लगभग महामारी जस्तै देखिन्छ । हामीले धेरै ठाउँका बिरामीको अनुभव सुन्दाखेरी विराटनगर, मोरङमा पनि लामो समयसम्म ज्वरो आएपछि टाइफाइड भनेर उपचार गरेको तर पछि स्क्रब भन्ने थाहा लागेको भन्ने कुरा आएको थियो । अन्य ठाउँबाट पनि यस्तो अनुभव आएको छ ।

सहरमा बस्नेहरुले जुत्ता लगाएका हुन्छन्, मुसा कम हुन्छ । त्यस्तो ठाउँमा कम हुन्छ भने गाउँघरमा खालीखुट्टा घाँस सेउला गर्ने चलन हुन्छ, त्यस्ता ठाउँमा बढी प्रकोप हुन्छ । ज्वरो आएपछि बिरामी कुन कस्तो ठाउँबाट आएको हो चिकित्सकले पनि र बिरामीले पनि बुझ्नुपर्ने हुन्छ ।

स्क्रब भएपछि ज्वरो यसरी आउँन थाल्छ कि त्यो थामेर थामी नसक्नु हुन्छ । कम्तीमा पनि एक सय पाँचदेखि एक सय सातसम्म ज्वरो आउँछ । ज्वरो घटाउने औषधि खुवाउँदा पनि एक छिन घटेको जस्तो हुन्छ र फेरि त्योभन्दा बढी ज्वरो बढेर जान्छ ।

टाइफाइडको सही औषधि नपर्दा पनि ज्वरोको औषधिले सात आठ घण्टा काम दिन्छ । तर बिरामीले कसरी बुझ्नुपर्छ भन्दा ज्वरोको औषधि खाँदा पनि ज्वरो घटेन भने स्क्रब टाइफसको शङ्का गर्नुपर्ने हुन्छ । यसको परीक्षण टेकु अस्पतालमा हुने गरेको छ भने कुनै कुनै निजी अस्पतालले पनि परीक्षण सुरु गरेका छन् । 

#जनचेतनाको लागि रातोपाटीबाट साभार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पुरानो पोस्ट