Sharing is caring!

चौंथो दिन सप्तरीको बिसनपुरबाट हिँडेका हामीलाई जसरी पनि जनकपुर पुग्नु थियो। तर खोइ के भयो जति नै जोड गरे पनि साइकल चलिरहेकै थिएन। तीन पटकसम्म रोकेर साइकलको कन्डिसन चेक गरेँ। अघिल्लो दिन ब्रेक प्याडले टायर छोएर साइकल डेग चलेको थिएन। फेरि त्यही समस्या दोहोरिएछ भन्ठानेर झर्दै मिलाउँदै हिँडिरहेको थिएँ। अलि अघि पुग्छु त सागर साइकल दौडिएन भनेर धमाधम टायरमा हावा भर्दै रहेछ।

‘केटा हो मेरो पछाडिको चक्का हेरिदेओ त , फेरि पन्चर भएछ कि क्या हो?’ उता पचास हजारको साइकल पनि चल्न गाह्रो मानिरहेको रहेछ। त्यसपछि त कारण पत्ता लागिहाल्यो, हावा।

पश्चिमी वायुका प्रभावले मेघ गर्जनसहित वर्षा मात्र होइन, पूर्वबाट पश्चिम यात्रा गर्ने साइकल यात्रीलाई पनि प्रभावित बनाउँदो रहेछ! बेगले चलेको हावाले साइकलको गति निकै नै सुस्त भएको थियो। यस्तो थाहा पाएको भए महाकालीबाट मेची यात्रा गर्न हुन्थ्यो।

थाकेर हैरान भएका थियौं। सागरले घरमा फोन घुमायो, ‘गुरु, हावाले डेग चल्न सकिएन, लहान नै कटेको छैन कसरी जनकपुर पुगिन्छ?’ जवाफमा गुरु (सागरका बुवा) ले गजबको शेर सुनाउनुभयो-

सैर कर दुनिया की ग़ाफ़िल ज़िंदगानी फिर कहाँ 
ज़िंदगी गर कुछ रही तो ये जवानी फिर कहाँ

यो उमेर, यो समय फेरि फर्किएर आउनेवाला थिएन। त्यसमाथि हामी त यात्री यस्तै घामपानी, हावाहुरी अनुभव गर्न हिँडेका। यात्राबाट नै जीवन बुझ्न हिँडेका। यात्रामा केही अलमल हुनु सामान्य हो। तर असफल भइएला कहिल्यै सोचिएन। 

त्यस दिन हावाहुरीकै बीच मिर्चैयासम्म पुगियो।

बालापनको नोस्टाल्जिया
–’बाइबाई साइकलवाला अंकल।’
–’साइकल रेस हो अंकल? हामी पनि आउने नि!’
–’उ: खैरे-खैरे-खैरे, मोनी-मोनी-मोनी।’
–’आइजो केटा हो, गियरवाला साइकल।’ 

हाम्रो यात्राको एक भरपर्दो सहयात्री बाटा–बाटामा भेटिने केटाकेटी थिए। घरको आँगन, स्कुलको मैदान, खेतका आली जतासुकैबाट केटाकेटीले हात हल्लाइरहेका हुन्थे, ‘अंकल बाऽऽऽई’। 

बुटवलबाट यात्रामा जोडिएको प्रकाशले त यसरी बाटोमा भेटिएका केटाकेटीलाई दैनिक एक प्याकेटसम्म चकलेट बाँड्थ्यो।

जस्तो हामीलाई देखे, त्यस्तै भनिदिन्थे, ‘ओई खैरे’। 

क्या चञ्चलता थियो। खुरुरुरु आ-आफ्ना आँगनबाट दौडेर हामीलाई छुन आइपुग्थे। कोही हामीसँगै रेस खेल्न आए। कोही फोटो खिचिदिनु भन्दै धुइरिए। कोही चकलेट माग्न आए। कोही डराएर पर भागे त कसैले हामीसँग हात मात्र मिलाउन पाएको खुसी उफ्रिँदै रमाएर व्यक्त गरे।

दिउँसोको प्रचण्ड गर्मी छल्न कर्णालीमा नांगै डाइभ हान्दै गरेका। निजगढमा भैंसीमाथि चढेर सयर गर्दै गरेका। कैलालीमा पछाडीको गोजीमा कापी च्यापेर स्कुलतर्फ दौडँदै गरेका। बाँकेमा हेलो नानी भन्दा लजाएर तर्किएका सबै केटाकेटीले  हामीलाई आफ्ना पुराना दिनहरुको सम्झना दिलाए।  

जे थियो त्यो बितिसक्यो। सम्झनामा ती दिनहरुको एउटा कोलाज मात्र बाँकी थियो। यात्रामा भेटिएका यिनै सहयात्रीहरुले  बालापनको ती यादलाई झन् गाढा बनाए।

सुन्दर जनकपुर सबने माना
पर हमारा प्यारा मिथिला खाना

ढल्केवर जनकपुर निर्माणाधीन धुलाम्मे सडकले मिथिलाञ्चलसम्म पुग्दा हामीलाई साँच्चै खैरे बनायो। पथलैया–वीरगन्ज, भैरहवा–लुम्बिनी, अत्तरिया–धनगढी सबै ठाउँका बाटा एकैपटक भत्काइएका छन्। धुलाम्मे छन्। बाटैका कारण जनजीवन कष्टकर बनेको छ। धन्न बुटवल–भैरहवा, कोहलपुर–नेपालगन्ज सडकखण्डले देश बन्दैछ है भनेर थोरै भए पनि आशा दिलाएका छन्। 

यता जनकपुरको जिरोमाइल पुग्दा हामीलाई स्वागत गर्न होमेन्द्र तम्तयार भएर बसेको थियो। जानकी मन्दिर , विवाह मण्डप , धनुषसागर, गंगासागर, राम मन्दिर हुँदै श्मसान घाटसमेत घुम्दा जीवनको एक चक्र र जनकपुरको एक फन्को लागिसकेको थियो। बजारका घरहरु एकै रङले पोत्ने अनि स्वच्छ मिथिला अभियान पनि थप आकर्षक लाग्यो।

फर्कने बेलामा होमेन्द्रको घरमा गजबको मेजमानी पाइयो। खानामा गनिसाध्ये परिकार थिएनन्। अन्तमा दही तल जान नसकेर घाँटीमै बसेको आफैलाई महसुस भएको थियो।

‘बाबुहरुलाई जनकपुर कस्तो लाग्यो त?’ होमेन्द्रकी आमाले सोध्नुभयो।

थाल र औंला सँगसँगै चाट्दै हामीले भन्यौं, ‘जनकपुर धेरै राम्रो छ अन्टी। झन् मिथिला भोजनको त कुरै नगरौं!’

आधा फर्सी सेफ्टीको लागि, के हो?
हाइवेमा हरेक ३०-४० किलोमिटर अन्तरालमा गाडीको ठक्करले मरेका कुकुर, गाई–गोरु जस्ता जनावर भेटिन्थे। अझ दुर्घटनामा परी अवशेष मात्र बाँकी भएका मोटरसाइकल, कारहरु देख्दा त पानी छर्केर बोलाउन पर्ने गरी सातो हराउँथ्यो। अमलेखगन्ज र दाउन्नेका उकालामा ठसठस गर्दै उक्लिरहेका तेलका ट्यांकरहरु, चितवन–बुटवल हुइँकने टिपर, कोसीमा भेटिने मकालु यातायात अनि कर्णालीमा देखिने खप्तड डिलक्स सबैले यात्राका दौरान हामीलाई तर्साइरहे। लेन पनि नभएको अति व्यस्त राजमार्गमा साइकल चलाउनु साँच्चै जोखिमपूर्ण थियो।

१३ किलोमिटर लामो घना जंगल छिचोलेपछि बल्ल बाग्मतीबाट चन्द्रपुर पुगिन्छ। हामी जंगलको बीचैबीच चराचुरुंगीको चिरबिरसँगै रमाउँदै साइकलमा दौडिरहेका थियौं। बेलाबखत छेउछेउमा बाँदरहरु देखा पर्थे। भोकाएका आँखाले आफ्नै पुर्खाले आफैंतिर हेर्दा बिछट्टै माया लाग्दो रहेछ। झिकेर केही दिन सक्ने सामर्थ्य थिएन। एकैछिन त आफैसँग रिस उठ्यो।

सायद हामीभन्दा अगाडिको बसमा यात्रा गर्ने सज्जनलाई पनि सडकछेउ निस्केका आफ्ना पितापुर्खालाइ देखेर त्यस्तै भएको हुनपर्छ। धमाधम उनले झ्यालबाट सुन्तलाका बोक्रा फाल्न थाले। खानेकुराको लोभमा बाँदरहरु सडक छेउबाट सडक माझमा आइपुगे। पछाडिबाट हुँइकदै आएको बाइकले बाँदरहरुको झुण्डदेखि कस्सेर ब्रेक लगाए। स्पिडमा रहेको बाइक सडकमा चिप्लियो, बाइकवाला घिस्रिएर पर पुगे।

यो सब हाम्रै आँखाअघि घटेको थियो। त्यसरी लडेका बाइकवाला जीवित होलान् भनेर हामीले आस गरेका थिएनौं। तर उनी जुरुक्कै उठे। नजिक गएर हेर्दा कुइना र घुँडामा सामान्य चोट देखियो। कतै फ्र्याक्चर छ कि भनेर हेरियो। भाग्यवश थिएन। त्यसरी लड्दा पनि टाउकोमा कतै केही चोट थिएन। 

बच्चा बेलामा कसैले सोधेको गाउँखाने कथा याद आयो। आधा फर्सी सेफ्टीको लागि के हो?

उत्तर : हेल्मेट।

कहिले हस्तिनापुरको राज त कहिले चपरीमुनिको बास
लालबन्दी र अत्तरियाको बसाइ यात्राभरिकै सबैभन्दा कष्टकर रह्यो। डस्नामा उडुस, माथिबाट मच्छड, राम्रोसँग हावा पनि नपस्ने गुम्सिएको कोठामा चार जना। त्यसमाथि दुई भाइ भुइँमा। पेट पोल्ने पिरो तरकारी। त्यसैदिन थाहा भयो, भोजनभन्दा भोक मिठो अनि ओछ्यानभन्दा निद्रा प्यारो। गलेर लखतरान भएको शरीर आखिर जसरी पनि सुस्ताउँदो रहेछ। जस्तै कष्ट खेपे पनि अनिँदो बसिएन।

यात्रामा सधैं कष्ट मात्र कहाँ हुन्छ र। जसरी कालो बादलले शीतल बर्सात लिएर आउँछ। सेताम्मे हिउँले माटोमा उर्वरता लिएर आउँछ। त्यस्तै साइकलले उधुम दु:खपछिको सुखको मिठास बुझाउँछ। दुम्किबासदेखि दाउन्नेसम्मको उकालो ठसठस गरेर उकाल्नेले मात्र महसुस गर्न सक्छ। दाउन्नेदेखि बर्दघाटसम्म ओरालो झर्दा कुन लेभलको स्वर्गीय आनन्द  हुन्छ भन्ने कुरा। 

पथलैयादेखि चुरियामाइसम्म उक्लँदा जति कष्ट हुन्छ, त्योभन्दा हजार गुणा बढी आनन्द चुरियामाइदेखि हेटौंडा बजारसम्म ओर्लदा पाइन्छ। भालुवाङसम्म ओरालो झर्दा कति मजा आउँछ, त्यो उक्लनेलाई मात्र थाहा हुन्छ।

दाउन्ने उक्लँदै गर्दा गुरुङ होटलकी बूढी आमैले भन्नुभएको थियो, ‘दाउन्ने आयो, बाबुहरुका दु:ख पनि सकिए। अब त फिलिली न्युटलमा बुटवल।’ 

सायद जीवन पनि त्यस्तै होला। दु:ख गर्दैगर्दै दाउन्ने चढ्ने अनि केही क्षण भए पनि सुख सयलमा सयर गर्ने। 

आखिर त्यस्तै पनि भयो। अघिल्लो रात कष्टपूर्वक लालबन्दीमा काटिसकेपछि हामी हेटौंडा पुग्यौं। त्यहाँ हाम्रो भव्य स्वागत गर्न डा प्रवीण चौधरी अनि हेटौंडा राइडर्सका साथीहरु हुनुहुन्थ्यो। हाम्रै अग्रज डा प्रवीणको आतिथ्य यति गजबको थियो कि त्यस रात हामीले हेटौंडाकै सबैभन्दा भव्य रिजोर्टमा बितायौं।

यो पनि : मेची-महाकाली साइकल यात्रा-१ : इसिजीका बांगाटिंगा धर्साभन्दा अलिपर…