डक्टर्स आर्टिकल

ठूलो आन्द्रा र मलासय क्यान्सर : जोखिम कसरी घटाउने? उपचार के?

अंग्रेजी क्यालेन्डरअनुसार मार्चलाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा लिइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न कार्यक्रम गरेर रोगको रोकथाम, उपचार लगायतका विषयमा चेतना फैलाउने काम भएको छ। 

ठूलो आन्द्रा (कोलन) र मलासय (रेक्टम) मा हुने क्यान्सर मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो रोगमा पर्छ। नेपालमा यो रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको हेर्दा बिरामीको संख्या निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन्। तीमध्ये झन्डै ५० प्रतिशत अर्थात् ९ लाखले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्। समयमा नै रोगको पहिचान हुने हो भने अकालमा हुने यो मृत्युलाई धेरै कम गर्न सकिन्छ।

नियमित स्वास्थ्य जाँच/परीक्षण गराउने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोग लाग्ने सम्भावना कम हुन्छ।
 
रोगको जोखिम कसरी घटाउने?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः 

–    ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलासय क्यान्सरको जाँच/परीक्षण गराउने, किनकि यदि ठूलो आन्द्रा तथा मलासय क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। 

–    पर्याप्त रेशेदार तथा चिल्लो कम भएको सन्तुलित भोजन गर्ने,

–    यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, धूमपानको बानी भए तुरुन्तै त्याग्ने। मद्यपान र धूमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलासयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ। 

–    साताको ३ देखि ४ पटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने। सामान्य शारीरिक व्यायाममा छिटो छिटो हिँड्डुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भर्‍याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ। 

यो रोगको उपचार हुनसक्छ?
ठूलो आन्द्रा र मलासयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ। यस रोगको जाँच/परीक्षण विशेषतः दुई कारणले लाभदायक हुनसक्छ। 

–    यदि ठूलो आन्द्राका फोकाहरु, जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने।

–    यस रोगको उपचार धेरै सफलतापूर्वक गर्न सकिन्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ। 

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलासयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ। शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि चलाउनुपर्ने हुनसक्छ। रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुन्छ। यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँछ।

यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने, ठूलो आन्द्रा तथा मलासयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचारपश्चात्का जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्छन्।

रेबिज सुई लगाउने नयाँ तालिका : सुई लगाउँदा के खान हुने, के नहुने?

विश्व स्वस्थ संगठनले सन् २०१० मा प्रकाशित रेबिज विरुद्धको निर्देशिकामा केही परिवर्तन गरेको छ। सन् २०१७ को अक्टुबर महिनामा भएको विज्ञहरुको गहन छलफलपछि निकालिएको निर्क्योलको सिफारिसलाई विश्व स्वस्थ्य संगठनले हालै प्रकाशित गरेको निर्देशिकामा समावेश गरेको हो।

यो निर्देशिकाको मुख्य विशेषता भनेको आजसम्म लगाउँदै आइरहेको सुईको अवधि पहिलेको निर्देशिकामा उल्लेख गरेकोभन्दा छोटो हुनु हो। यसबाट उपचार गर्दा लाग्ने समय अवधि र आर्थिक भार कम हुनेछ।
  
नेपालले पनि रेबिज विरुद्धको सुई लगाउने अवधिलाई छोट्याएको छ। यो नयाँ तालिका केही दिनयता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले पनि लागू गरिसकेको छ।

धेरै स्वास्थकर्मीले अहिले पनि पुरानै तालिका प्रयोग गरिरहेको र सुई लगाइरहेकाहरुबीच पनि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउँदा लगाउने अवधिलाई लिएर केही अन्योल छाएको देखिन्छ। 

नयाँ तालिकामा के छ?
रेबिज विरुद्धको सुई हाल दुई प्रकारले लगाउने गरिन्छ। 
१) छाला मुनि लगाउने।  
२) मासु मुनि लगाउने।   

छाला मुनि लगाउने- नयाँ तालिकाअनुसार छाला मुनि लगाउँदा अब तीन पटक मात्र लगाए हुन्छ। योभन्दा अगाडि चार पटक लगाउनु पर्थ्यो। यो तरिका अनुसार हरेक पटक आउँदा  ०.१ एमएल दुई पाखुराको छाला मुनि दिने गरिन्छ। यो तालिमप्राप्त स्वस्थकर्मीहरुबाट मात्र लिनुपर्छ। 

मासु मुनि लगाउने- यो तरिकाबाट लगाउँदा अब चार पटक लगाए पुग्छ। यो भन्दा अगाडि पाँच पटक लगाउनु पर्थ्यो। यो एक पटकमा एक भाइल एउटा पाखुराको मासु मुनि दिने गरिन्छ। यो टिटानसको सुई जस्तैगरी मासु मुनि दिने भएकोले अस्पताल आउन समय नहुनेले बाहिर पनि लगाउन सक्छन्।  
  
सुई लगाउँदा के खान हुने के नहुने?
यो प्रश्न सबैभन्दा बढी सुई लगाउन आउनेले सोध्ने गरेको पाइन्छ। सुई लगाउने अवधिभर यो अथवा त्यो खाने वा नखाने भन्ने हुँदैन तर धूमपान, मधिरापान, खैनी जस्ता अम्मल छोड्नु राम्रो हुन्छ। 

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

पुरानो पोस्ट