समाचार

प्युठानका ११ बर्षे क्यान्सर पीडित बालकलाई सहयोगको अपिल।

प्युठान जिल्ला गौमुखी गा.पा.-७, नारिकोट अवस्थित ११ बर्षे बालक सन्दिप सुनार ब्लड क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित छन।एक हप्ता अगाडि बाल कान्ति अस्पतालमा भर्ना भएका सन्दिपलाइ २ दिन अगाडि मात्र अस्पतालले ब्लड क्यान्सर भएको प्रमाणित गरेको हो।

बुवा राजु सुनार र आमा शान्ता सुनारको जेठा सुपुत्रका रुपमा जन्मिएका सन्दीपलाइ यति ठुलो रोग लाग्ला भनेर परिवारले कल्पना सम्म पनि गरेको थिएन।राजु आफैमा अपांग छन। एक हातको मदतले दिनभर मजदुरी गरि परिवारको छाक टार्दै आएका थिए राजु।चार छोराछोरी सहित ६ जनाको परिवारलाई बिहानबेलुका छाक टार्न पनि धौधौ थियो।जेठो छोरा बढ्ला र छिट्टै कमाउने होला भनेर आश गरिरहेका राजु र शान्ता माथी एक्कासी बज्रपात निम्तियो र सपनाको किरण सन्दिप अस्पतालको बेडमा पुग्यो।

“जहाँ होचो त्यही घोचो” भनेझै अत्यन्तै विपन्न परिवारमाथी यति ठुलो समस्या निम्तियो।आर्थिक स्थिति अत्यन्तै कमजोर भएकाले भोली पैसाकै कारण छोरालाई बचाउन नसकिने होकि भन्ने चिन्ताले राजुलाइ पिरोल्छ।उहाँ संगको भेटमा गुनासो पोख्दै हामीसंग कुराहरु साट्न थाल्नुभयो, “भाइ मेरो दुर्घटना परेको पनि १४ बर्ष भैसक्यो।त्यतिबेला ईन्डियामा मेरो राम्रो कमाइ हुन्थ्यो।तर भाग्यले साथ नदिएपछि कसैको केहि लाग्दो रहिन्छ।हात यस्तो भएपछि घरमै फर्की एक हातले मजदुरी गर्नुबाहेक मसंग अरु विकल्प रहेन”।

अन्तिममा उहाँले आफ्नै छोरा-भाइ सम्झी सहयोग गरि बचाइदिनुहुन अपिल पनि गर्नुभयो।
सहयोगको लागी सम्पर्क नम्बर:
बुव राजु सुनार- 9867675623
सामाजिक अभियन्ता शन्तोस कुवर-9851049837

घरमै बसेर अस्पतालको टिकट लिन सकिने, सिभिल अस्पतालबाट सुरु भयो सेवा।

काठमाडौं– सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्ने वित्तिकै धेरैले टिकट काट्न लामो लाइन बस्नुपर्ने दुःख सम्झन्छन्। 

हुन पनि नेपालका सबै सरकारी अस्पतालमा जाँच गर्न जाँदा बिरामी र बिरामीका आफन्तले लामो लाइन बसेर ओपिडी टिकट लिनुपर्ने बाध्यता छ। लाइनलाई व्यवस्थित गर्न अस्पतालले टोकन प्रणालीको सुरुवात गरेको भए पनि टोकन पाउन पनि बिरामीका आफन्त बिहानैदेखि अस्पतालको लाइनमा नै बस्नुपर्ने बाध्यता छ।

अब भने अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्नु नपर्ने सुविधा भएको छ।

अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्ने छन्।

प्रभु पे मोबाइल एप मार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको सुरुवात सिभिल अस्पतालबाट भएको छ।

मेडिफ्लो सोलुसनले मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्नसक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था सुरु गर्ने सिभिल अस्पताल पहिलो भएको छ। मेडिफ्लोले अन्य अस्पतालमा पनि यो सेवा विस्तार गर्दै लैजाने मेडिफ्लोका सिइओ सुरेन्द्र न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार मेडिफ्लोले अहिले यो सेवा आफ्नो एपबाट नभई प्रभु पेसँगको सहकार्यमा सुरु गरेको छ। भविष्यमा आफ्नो लगायत अन्य एपबाट पनि यो सेवा सुरु गर्ने उनले बताए। 

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै एप मार्फत टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्राडा दीर्घराज आरसीले जानकारी दिए। 

‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले विभिन्न प्रविधिको प्रयोग मार्फत यसलाई व्यवस्थित बनाउने काम गरिरहेका छौं। अब मोबाइल एपबाट नै काट्न सकिने भएपछि बिरामीले घरबाट नै टिकट काट्नसक्ने भएका छन्।’

कार्यकारी निर्देशक डा आरसीका अनुसार अस्पतालमा हाल दैनिक ८०० सय बिरामी ओपिडीमा आउने गरेका छन्।

मोबाइलबाट टिकट काट्न के गर्ने?


अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे नामक एपलाई डाउनलोड गर्नुपर्छ। हाललाई यो सेवा एन्ड्रोइडमा उपलब्ध भएको र केही दिनपछि आइओएसमा पनि उपलब्ध हुने प्रभु टेक्नोलोजीका सिइओ खुसल रेग्मीले जानकारी दिए।

प्रभु पे वालेटमा रजिस्टर भएपछि व्यक्तिले आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिने छ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामती अस्पताल (सिभिल सर्भिस हस्पिटल)मा जानुपर्ने हुन्छ। सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ। 

त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने। त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकटको मूल्य प्रभु पेमा तपाईंको खातामा रहेको रकमबाट काटिने छ।

अनलाइन टिकट काट्ने समय

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ। तर, यो समय पनि क्रमशः आवश्यकता अनुसार बढाउँदै लैजाने कार्यकारी निर्देशक डा आरसीले जानकारी दिए।

उनका अनुसार पेइङ क्लिनिकतर्फ मोबाइल मार्फत टिकट काट्नका लागि भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ। यो समय पनि विस्तारै बढाउँदै लैजाने कार्यकारी निर्देशक आरसीले बताए।

यसका साथै अस्पतालले अस्पताल  हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’ बाट पनि टिकट लिनसक्ने व्यवस्था समेत गरेको छ। 

यसैगरी, अस्पतालले ल्याब रिपोर्टहरु अनलाइनमा हेर्न सकिने व्यवस्था समेत सुरु गरेको छ।

श्रोत:-स्वास्थ्य खबरपत्रिका२०७६ श्रावण २२ बुधबार १३:२१:००प्रकाशित

अब टुंगियो समायोजन,केही दिनमै छिट्टै पत्र हातमा आउने

काठमाडौँ, १ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।

स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ ।

सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । उनले १४ हजार बढीको गुनासो प्राप्त भएपनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यबाट सूची आइसकेको भन्दै भोलिबाट नै कर्मचारीलाई पठाउने तयारी भएको बताए । उनले कम विवाद भएको समूहबाट चिठी पठाउने समेत जानकारी दिए ।

सूची सार्वजनिक नगर्ने ?
यसअघि समायोजनको सूची वेवसाइटमार्फत सार्वजनिक गरेको स्वास्थ्य तथा सामान्यले यसपटक भने सूची सार्वजनिक नगर्ने बताएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘यो पटक सूची सार्वजनिक नगरी सम्वन्धीत व्यक्तिलाई सिधै चिठी पठाउने योजना छ ।’

यता स्वास्थ्यकर्मीका ट्रेड युनियनका नेताहरुले भने सूची सार्वजनिक गर्नुपर्ने बताएका छन् । यो खबर आजको नेपाली हेल्थमा लेखिएको छ।

स्वास्थ्यको समायोजन अब केही समयमै छिट्टै टुंगिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका कर्मचारीको समायोजनको काम छिट्टै सकिने सम्भावना बढेर गएको छ। समायोजनका क्रममा गुनासो दर्ता गराएका १३ हजारभन्दा बढीमध्ये ७ हजार ७ सय ४० जनाको गुनासो जायज ठहर भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक एक जनाको गुनासो केलाउँदै तयार पारेको प्रतिवेदनले उक्त संख्या देखाएको हो। यो संख्यापछि जायज ठहर भएका कर्मचारीको समायोजन छिट्टै समाधान गर्ने तर्फ काम अगाडि बढेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए। 

सोमबार गुनासो सुनुवाइ प्राविधिक उपसमितिले जायज ठहर भएका गुनासालाई सच्याउँदै समायोजन प्रक्रिया टुंग्याउन सामान्य प्रशासनका सचिव समक्ष सिफारिस गरेको छ। समितिको सिफारिस अनुसार काम अगाडि बढाउन सचिवले हस्ताक्षर समेत गरिसकेको मन्त्रालय स्रोत बताउँछ।

सरकारले स्वास्थ्य सेवा अन्तर्गतका २७ हजार कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको थियो। तर, उक्त सूचीमा धेरै समस्या आएपछि वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिइएको थियो। सो अवधिमा गुनासो दर्ता गरेकामध्ये जायज ठहर भएकाको समस्या समाधान गर्ने गरी काम अगाडि बढेको एक कर्मचारीले जानकारी दिए।

श्रोत: स्वास्थ्य खबर पत्रीका
 

प्यूठानमा ड्रोनमार्फत खकार संकलन लागि ‘ड्रोट्स’ परियाेजना आरम्भ

प्यूठान : प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रविधिबाट स्वास्थ्य परीक्षणका लागि ड्रोट्स यन्त्र सञ्चालन भएको छ। प्यूठान र स्वर्गद्बारी नगरपालिकामा ड्रोट्स नेपाल परियोजना लागू भएको हो। 

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका हुन्। प्यूठानका दुई स्थानीय तहमा पाइलट परियोजनाको रुपमा यो परियोजना सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए। नयाँ प्रविधिबाट क्षयरोगका विरामी पत्ता लगाउन र बिरामीलाई उचित उपचारमा ल्याई न्यूनीकरणमा सघाउ पुर्‍याउने उद्देश्यसहित नेपालमा पहिलो पटक यो पाइलट परियोजना सञ्चालन गरिएको हो।

‘नयाँ प्रविधिले दुर्गम बस्तीमा पुगेर खकार लिई विरामीलाई सहजता ल्याउने अपेक्षा छ’ प्रमुख सुवेदीले भने ‘यो प्यूठानका दुई स्थानीय तहमा परीक्षण परियोजना हो।’ गाउँ गाउँमा स्वास्थ्य स्वयंसेवीकाको माध्यमबाट विरामीको खकार संकलन गरी ड्रोनमार्फत ढुवानी गरिने छ। 

पछिल्लो समय क्षयरोगले धेरै व्यक्ति संक्रमित भएका कारण यस्को निवारण गर्न अत्यावश्यक छ। क्षयरोग परीक्षणका लागि नेपाल सरकारले चेक जाँच, औषधि उपचार र पोषण भत्ता समेत निशुल्क सेवा प्रदान गरेको छ। निशुल्क पाइने सेवा सुविधा भएका कारण यसको निवारणमा सहज हुने विश्वास लिइएको प्रमुख सुवेदीको भनाई छ। 

सन् २०५० सम्म नेपालबाट क्षयरोग अन्य गर्ने उद्देश्यसहित नेपाल सरकारले क्षयरोग विरुद्धका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख श्रेष्ठले जानकारी दिए। स्थानीय भाषामा यसलाई टि.भी पनि भनिन्छ।

‘ड्रोट्स नेपाल परियोजनाले क्षयरोग नियन्त्रणका समस्या तथा चुनौतीलाई निदान गर्नेछ’ महाशाखाका प्रमुख श्रेष्ठले भने ‘भौगोलिक रुपमा विकट मानिने दुर्गम वस्तीका जनसमुदायमा यस परियोजनाले सर्वसुलभ माध्ययम बन्ने छ।’ यसकालागि स्वयंसेवीलाई गाउँगाउँ पठाइ खकारको नमुनाजम्मा गर्ने र ड्रोट्सबाट औषधि खकार ढुवानी गरी समयमै रोग पत्तालगाउन सकिने उपेक्षा गरिएको छ। 

ड्रोट्स कार्यक्रमले क्षयरोग, यसको रोगथाम र नियन्त्रण सम्बन्धी समुदायको जागरुकतामा बृद्धि गराउने, क्षयरोग पत्तालाग्ने दरमा बृद्धि, क्षयरोगको उपचार सफलता दरमा बृद्धि, क्षयरोग नियन्त्रण र व्यवस्थापनकालागि सम्बन्धित सरोकारवालाको संलग्नतामा बृद्धि गरी क्षयरोग अन्त्य गर्ने उपेक्षा राखेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

गतआवमा प्यूठान जिल्लामा ३८९ जना क्षयरोगका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयमा तथ्यांक छ। यसमध्ये प्यूठान नगरपालिकामा ८१ जना र स्वर्गद्बारी नगरपालिकामा ६१ जना क्षयरोगका विरामी छन्। क्षयरोग सरुवा रोग भएकोले एकजना व्यक्तिले १० जना सम्मलाई सहज सार्ने सक्ने हुँदा एक पटक सबैले स्वास्थ्य परीक्षण गरी औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ। 

ड्रोनले के के गर्छ ? 

ड्रोट्स परियोजनामार्फत सञ्चालनमा ल्याइएको ड्रोनले प्यूठान नगरपालिका र स्वर्गद्बारी नगरपालिका भित्रका गाउँमा गइ स्वास्थ्य स्वयंसेवीकाले जम्मा गरेका खकारको ढुवानी गरी अस्पतालसम्म ल्याउने व्यवस्था रहेको छ। करिव ७ के.जी ढुवानी गर्न सक्ने यी प्रविधिले स्वास्थ्यकर्मी र ग्रामीण समुदायका बृद्धबृद्धा, असहाय लगायतलाई सहजता ल्याउने छ। यसले क्षयरोग परीक्षणमा सर्वसुलभ माध्ययम बन्ने अपेक्षा पनि गरिएको छ।

स्रोत थाहा खबर

स्वास्थ्यमा समायोजन अपडेट: आफ्नो विवरण http://samayojan.gov.np/ वेबसाईटमा हेर्न सकिने लगायत …..

धेरै लामो समय देखि समायोजन भएर पनि स्वास्थ्य तर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्न माग गरेको निवेदन उपर भएको परिमाण सार्बजनिक हुन नसकेको बेला आम स्वास्थ्य कर्मीहरु बिच विभिन्न अड्कलबाजि भैरहेका छ्न !

यस बिषयमा समायोजन महाशाखा, सामान्य प्रशासन मन्त्रालय पुगेर बुझ्दा श्रोतले भन्यो लगभग सम्पुर्ण तयारी पूरा भै सकेको छ ! हिजो बाट स्वास्थ्य तर्फका सम्पुर्ण कर्मचारीहरु ले आफ्नो विवरण http://samayojan.gov.np/ मा गएर हेर्न सक्नुहुनेछ ! यदि वेबसाईट कसैको विवरण छैन भने उहाँ ब्यबस्थापन हुदैछ या गुनासो वा संसोधनमा परेको हुन सक्छ !

श्रोतले बतायो : नेपालकै निजामतीहरुको ठुलो हिस्सा समेटेको स्वास्थ्य क्षेत्रको समायोजन सक्नु, न्यायोचित ब्यबस्थापन गर्नु चुनैतीको बिषय हो ! स्वास्थ्यमा पछिल्लो चोटि देखिदै आएको तहगत विवाद र दरबन्दी सृजना लगायतका बिषयलाई लिएर दिनौ जसो स्वास्थ्य सेवाको कुनै न कुनै समुह बिज्ञापति लिएर आउने गर्छ्न ! संगै स्वास्थ्य सम्बद्ध ट्रेड युनियनहरु त कहिले माननीयहरु कै साथ दवाव दिन उपस्थित हुने गरेको पनि श्रोतले जानकारी दियो !

श्रोत भन्छ : स्वास्थ्य तर्फको समायोजन अब क्रमशः पहिला गुनासो सम्बोधन, संसोधित समायोजनको लिस्ट सार्बजनिक र पछि समायोजनको पत्र क्रमशः १० औं हुँदै सहायक स्तर सम्म आउने तयारी रहेको बताएको छ !

साभार

स्वास्थ्य चौकीको कर्मचारी आवास भवन निर्माण सम्झौता भएको ४ वर्षपछि निर्माण कार्य सम्पन्न भइ उद्घाटन तथा हस्तान्तरण।

वागमती गाउँपालिका वडा नं ६ , आश्राङ मा अवस्थित आश्राङ स्वास्थ्य चौकीमा नवनिर्मित २ परिवार अनमी आवास भवनको हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

वागमती गाउँपालिका वडा नं ६ , आश्राङ मा अवस्थित आश्राङ स्वास्थ्य चौकीमा नवनिर्मित २ परिवार अनमी आवास भवनको हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

मिति २०७१/६/३० मा निर्माण सम्झौता भएको भवनको ठेक्का शान्ति देवि ब्रह्मायणी ज्वाइन्ट भेन्चर ले लिएको थियो। उक्त निर्माण कम्पनीले सो भवनको काम समयमा सम्पन्न गर्न नसकेर केहि समय निर्माण कार्य ठप्प रहेको र हाल आएर २०७५ माघ देखी अर्को तेस्रो निर्माण व्यवसायी सानोकान्छा लोप्चन (प्रेम लामा) लाइ जिम्मा दिइएको कुरा शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडा ले बताउनुभयो ।

आज सम्पन्न भवन हन्तान्तरण तथा उद्घाटन कार्यक्रमको सन्चालन आश्राङ स्वास्थ्य चौकी प्रमुख अरविन्द कुमार शाहीले गर्नुभएको थियो भने कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडा, वागमती गाउँपालिका स्वास्थ्य संयोजक राजकुमार सापकोटा, बागमती गा.पा.-६ नम्बर वडाध्यक्ष लाल बहादुर भोम्जन, निर्माण व्यवसायी लगायत स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितीका पदाधिकारीहरु, ९ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरु र आश्राङवासीहरु को उपस्थिति रहेको थियो ।
नवनिर्मित भवनको उद्घाटन आश्राङ स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर भोम्जनले गर्नुभएको थियो।साथै कार्यक्रममा भवन निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने शहरी विकास तथा भवन निर्माण विभाग, निर्माण कम्पनी र निर्माण व्यवसायी लाइ स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिले सम्मान पत्र समेत प्रदान गरेको थियो ।


एजेन्सी :-स्याउजत्री छोरी जन्मेपछि डाक्टरले उनलाई भने- दुनियाँमा ऊ एक घन्टाका लागिमात्र छे

जतिबेला उनले यो धर्ती देखिन्। उनी एउटा ठूलो स्याउको दानाजत्री थिइन्। उनको तौल २ सय ४५ ग्राममात्र थियो।

सामान्य बच्चा आमाको पेटमा झन्डै ४० साता बस्छन्। तर उनी २३ सातामै बाहिर आइन्। भिडिओ एक्सरेमा गर्भमा रहेको बच्चा नबढेको र यसले आमाको स्वास्थ्यलाई असर पार्ने देखिएपछि अपरेशन गरेर उनलाई बाहिर निकालिएको थियो।

गत डिसेम्बरमा उनी जन्मिएपछि डाक्टरले उनका बुवालाई भने- तपाईंकी छोरी जन्मेकी छन्!  तपाईं एक घन्टाका लागिमात्र उनीसँग हुनहुन्छ। त्यसपछि उनी बाँच्ने छैनन्।

डाक्टरले भनेको त्यो एक घन्टा बित्यो, दुई घन्टा बित्यो, दिन बित्यो अनि महिना पनि बित्यो।

ती स्याउजत्री छोरीले डाक्टरलाई गलत सावित गरिन् र आफ्ना बाबुआमाको आँखामा हेरिरहिन्।

पाँच महिनापछि उनी स्वस्थ्य बच्चा बनेर अस्पतालबाट घर फर्किएकी छन्।

आमाबुवाले उनको नाम सार्वजनिक गरेका छैनन्। अस्पतालमा हुँदा स्टाफहरूले उनको नाम सेबाई राखिदिएका थिए।  सेबाईको कथा अमेरिकाको सान डिएगोस्थित एक अस्पतालले बुधबार सार्वजनिक गरेको छ।

सेबाई अहिले दुई किलोग्रामकी छन्। इओवा विश्वविद्यालयले उनलाई कम तौल भएर बाँच्ने संसारकै पहिलो बच्चा भनेको छ। यसअघि सन् २०१५ मा जर्मनी २ सय ५२ ग्राम तौलको बच्चा जन्मिएको थियो।

अस्पतालले बनाएको भिडियोमा उनकी आमाले सेबाई जन्मेको दिन जिन्दगीकै सबैभन्दा डरलाग्दो दिन भएको बताएकी छन्।

‘अपरेशन कक्षमा पुगेपछि पनि मैले उनीहरू (डाक्टर) लाई भनेकी थिएँ, यो बच्चा २३ साताको मात्रा भयो। ऊ बाँच्दैन होला,’ उनले भनेकी छन्।

सेबाई बाँचिन्। उनको तौल पनि विस्तारै बढ्यो। उनको ओछ्यानको छेउमा गुलाबी अक्षरमा लेखिएको थियो- ‘टाइनी बट माइटी’ अर्थात् सानी तर बलियी।

‘ऊ यति सानी थिई कि ओछ्यानमा मुस्किलले देखिन्थी,’ सेबाईको रेखदेख गरेकी नर्स एमा विस्टले भनेकी छन्।

सुत्केरी र बच्चाको स्वास्थ्यमा काम गर्ने मार्च अफ डायम्सकी मिसेल क्लिंगलेका अनुसार यस्तामध्ये धेरै बच्चा वर्षदिन कट्दैनन्।

तर सेबाईले अहिलेसम्म सबै बाधाहरूलाई छिचोलेकी छन्।

‘उनी पक्कै चामत्कारीक छन्,’ सेबाईको रेखदेख गरेकी अर्की नर्स किम नर्वीले भनेकी छन्।

नयाँ बजेट भाषणको चमत्कार।पालिकाहरुले एम्बुलेन्स खरीद गर्दा लाग्ने भन्सारमा ९९ प्रतिशत छुट

काठमाडौँ, १६ जेठ । सरकारले स्थानीय तहले खरीद गर्ने एम्बुलेन्सको भन्सार महशुलमा ९९ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा पालिकाहरुले खरीद गर्ने एम्बुलेन्समा १ प्रतिशत मात्रै भन्सार महशुल लिइने उल्लेख छ ।

बजेटमा यस्तो सुविधा मन्त्रालयको सिफारिसमा गाँउपालिकाले २ वटा, नगरपालिकाले तीनवटा र उपमहानगर तथा महानगरपालिकाले चार वटासम्म एम्बुलेन्स गर्दा पाइने उल्लेख छ ।

यो छुटले एम्बुलेन्स खरीदको लागत मूल्यमा कमी हुने देखिएको छ ।

बढ्यो कर्मचारीको तलब राजपत्र अनंकितलाई २० प्रतिशत र राजपत्र अंकितलाई १८ प्रतिशतले बढ्यो कर्मचारीको तलब कसको कति?

काठमाडौं– सरकारी कर्मचारीको तलब रकम बढेको छ। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढेको हो।

महंगीभत्ता र पोशाक भत्ता यथावत राखिएको छ।

कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि पछिल्लो तीन वर्षयता तलब सुविधा बढेको थिएन। 

यद्यपि, चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घुमाउरो पाराले महंगी भत्ता २ हजार रुपैयाँ र पोशाकभत्ता ८ हजार बाट १० हजार रुपैयाँ बनाएको थियो।

त्यसैगरी चालु आर्थिक वर्षको बजेटले सबै राष्ट्रसेवक कर्मचारीको २ लाख रुपैयाँ बराबरको बीमामा ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने व्यवस्था गरेको थियो।