hamrohealth

रामेछाप नगरपालिकाको निशुल्क घुम्ति स्वास्थ्य शिविर ओख्रेनीमा सम्पन्न ।

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिकाले सुरु गरेको नियमित निशुल्क घुम्ति स्वास्थ्य शिविर आज रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीमा सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको आयोजनामा सन्चालन भइरहेको  घुम्ति शिविरको आज तेस्रो दिन वडा नम्बर ६ ओख्रेनीका २३५  जनाले सेवा लिएका छन । जसमा १५ जनाले भिडियो एक्सरे र ४०  जनाले ल्याव सेवा लिएका छन । शिविरमा भिडियो एक्सरे,ल्याव,जनरल उपचार सेवा ,  सुरक्षित मातृत्व सेवा लगायत विभिन्न सेवाहरु प्रदान गरिएको ओख्रेनी स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभएको छ । 

मेची-महाकाली साइकल यात्रा-२ : यो जवानी फेरि कहाँ…

चौंथो दिन सप्तरीको बिसनपुरबाट हिँडेका हामीलाई जसरी पनि जनकपुर पुग्नु थियो। तर खोइ के भयो जति नै जोड गरे पनि साइकल चलिरहेकै थिएन। तीन पटकसम्म रोकेर साइकलको कन्डिसन चेक गरेँ। अघिल्लो दिन ब्रेक प्याडले टायर छोएर साइकल डेग चलेको थिएन। फेरि त्यही समस्या दोहोरिएछ भन्ठानेर झर्दै मिलाउँदै हिँडिरहेको थिएँ। अलि अघि पुग्छु त सागर साइकल दौडिएन भनेर धमाधम टायरमा हावा भर्दै रहेछ।

‘केटा हो मेरो पछाडिको चक्का हेरिदेओ त , फेरि पन्चर भएछ कि क्या हो?’ उता पचास हजारको साइकल पनि चल्न गाह्रो मानिरहेको रहेछ। त्यसपछि त कारण पत्ता लागिहाल्यो, हावा।

पश्चिमी वायुका प्रभावले मेघ गर्जनसहित वर्षा मात्र होइन, पूर्वबाट पश्चिम यात्रा गर्ने साइकल यात्रीलाई पनि प्रभावित बनाउँदो रहेछ! बेगले चलेको हावाले साइकलको गति निकै नै सुस्त भएको थियो। यस्तो थाहा पाएको भए महाकालीबाट मेची यात्रा गर्न हुन्थ्यो।

थाकेर हैरान भएका थियौं। सागरले घरमा फोन घुमायो, ‘गुरु, हावाले डेग चल्न सकिएन, लहान नै कटेको छैन कसरी जनकपुर पुगिन्छ?’ जवाफमा गुरु (सागरका बुवा) ले गजबको शेर सुनाउनुभयो-

सैर कर दुनिया की ग़ाफ़िल ज़िंदगानी फिर कहाँ 
ज़िंदगी गर कुछ रही तो ये जवानी फिर कहाँ

यो उमेर, यो समय फेरि फर्किएर आउनेवाला थिएन। त्यसमाथि हामी त यात्री यस्तै घामपानी, हावाहुरी अनुभव गर्न हिँडेका। यात्राबाट नै जीवन बुझ्न हिँडेका। यात्रामा केही अलमल हुनु सामान्य हो। तर असफल भइएला कहिल्यै सोचिएन। 

त्यस दिन हावाहुरीकै बीच मिर्चैयासम्म पुगियो।

बालापनको नोस्टाल्जिया
–’बाइबाई साइकलवाला अंकल।’
–’साइकल रेस हो अंकल? हामी पनि आउने नि!’
–’उ: खैरे-खैरे-खैरे, मोनी-मोनी-मोनी।’
–’आइजो केटा हो, गियरवाला साइकल।’ 

हाम्रो यात्राको एक भरपर्दो सहयात्री बाटा–बाटामा भेटिने केटाकेटी थिए। घरको आँगन, स्कुलको मैदान, खेतका आली जतासुकैबाट केटाकेटीले हात हल्लाइरहेका हुन्थे, ‘अंकल बाऽऽऽई’। 

बुटवलबाट यात्रामा जोडिएको प्रकाशले त यसरी बाटोमा भेटिएका केटाकेटीलाई दैनिक एक प्याकेटसम्म चकलेट बाँड्थ्यो।

जस्तो हामीलाई देखे, त्यस्तै भनिदिन्थे, ‘ओई खैरे’। 

क्या चञ्चलता थियो। खुरुरुरु आ-आफ्ना आँगनबाट दौडेर हामीलाई छुन आइपुग्थे। कोही हामीसँगै रेस खेल्न आए। कोही फोटो खिचिदिनु भन्दै धुइरिए। कोही चकलेट माग्न आए। कोही डराएर पर भागे त कसैले हामीसँग हात मात्र मिलाउन पाएको खुसी उफ्रिँदै रमाएर व्यक्त गरे।

दिउँसोको प्रचण्ड गर्मी छल्न कर्णालीमा नांगै डाइभ हान्दै गरेका। निजगढमा भैंसीमाथि चढेर सयर गर्दै गरेका। कैलालीमा पछाडीको गोजीमा कापी च्यापेर स्कुलतर्फ दौडँदै गरेका। बाँकेमा हेलो नानी भन्दा लजाएर तर्किएका सबै केटाकेटीले  हामीलाई आफ्ना पुराना दिनहरुको सम्झना दिलाए।  

जे थियो त्यो बितिसक्यो। सम्झनामा ती दिनहरुको एउटा कोलाज मात्र बाँकी थियो। यात्रामा भेटिएका यिनै सहयात्रीहरुले  बालापनको ती यादलाई झन् गाढा बनाए।

सुन्दर जनकपुर सबने माना
पर हमारा प्यारा मिथिला खाना

ढल्केवर जनकपुर निर्माणाधीन धुलाम्मे सडकले मिथिलाञ्चलसम्म पुग्दा हामीलाई साँच्चै खैरे बनायो। पथलैया–वीरगन्ज, भैरहवा–लुम्बिनी, अत्तरिया–धनगढी सबै ठाउँका बाटा एकैपटक भत्काइएका छन्। धुलाम्मे छन्। बाटैका कारण जनजीवन कष्टकर बनेको छ। धन्न बुटवल–भैरहवा, कोहलपुर–नेपालगन्ज सडकखण्डले देश बन्दैछ है भनेर थोरै भए पनि आशा दिलाएका छन्। 

यता जनकपुरको जिरोमाइल पुग्दा हामीलाई स्वागत गर्न होमेन्द्र तम्तयार भएर बसेको थियो। जानकी मन्दिर , विवाह मण्डप , धनुषसागर, गंगासागर, राम मन्दिर हुँदै श्मसान घाटसमेत घुम्दा जीवनको एक चक्र र जनकपुरको एक फन्को लागिसकेको थियो। बजारका घरहरु एकै रङले पोत्ने अनि स्वच्छ मिथिला अभियान पनि थप आकर्षक लाग्यो।

फर्कने बेलामा होमेन्द्रको घरमा गजबको मेजमानी पाइयो। खानामा गनिसाध्ये परिकार थिएनन्। अन्तमा दही तल जान नसकेर घाँटीमै बसेको आफैलाई महसुस भएको थियो।

‘बाबुहरुलाई जनकपुर कस्तो लाग्यो त?’ होमेन्द्रकी आमाले सोध्नुभयो।

थाल र औंला सँगसँगै चाट्दै हामीले भन्यौं, ‘जनकपुर धेरै राम्रो छ अन्टी। झन् मिथिला भोजनको त कुरै नगरौं!’

आधा फर्सी सेफ्टीको लागि, के हो?
हाइवेमा हरेक ३०-४० किलोमिटर अन्तरालमा गाडीको ठक्करले मरेका कुकुर, गाई–गोरु जस्ता जनावर भेटिन्थे। अझ दुर्घटनामा परी अवशेष मात्र बाँकी भएका मोटरसाइकल, कारहरु देख्दा त पानी छर्केर बोलाउन पर्ने गरी सातो हराउँथ्यो। अमलेखगन्ज र दाउन्नेका उकालामा ठसठस गर्दै उक्लिरहेका तेलका ट्यांकरहरु, चितवन–बुटवल हुइँकने टिपर, कोसीमा भेटिने मकालु यातायात अनि कर्णालीमा देखिने खप्तड डिलक्स सबैले यात्राका दौरान हामीलाई तर्साइरहे। लेन पनि नभएको अति व्यस्त राजमार्गमा साइकल चलाउनु साँच्चै जोखिमपूर्ण थियो।

१३ किलोमिटर लामो घना जंगल छिचोलेपछि बल्ल बाग्मतीबाट चन्द्रपुर पुगिन्छ। हामी जंगलको बीचैबीच चराचुरुंगीको चिरबिरसँगै रमाउँदै साइकलमा दौडिरहेका थियौं। बेलाबखत छेउछेउमा बाँदरहरु देखा पर्थे। भोकाएका आँखाले आफ्नै पुर्खाले आफैंतिर हेर्दा बिछट्टै माया लाग्दो रहेछ। झिकेर केही दिन सक्ने सामर्थ्य थिएन। एकैछिन त आफैसँग रिस उठ्यो।

सायद हामीभन्दा अगाडिको बसमा यात्रा गर्ने सज्जनलाई पनि सडकछेउ निस्केका आफ्ना पितापुर्खालाइ देखेर त्यस्तै भएको हुनपर्छ। धमाधम उनले झ्यालबाट सुन्तलाका बोक्रा फाल्न थाले। खानेकुराको लोभमा बाँदरहरु सडक छेउबाट सडक माझमा आइपुगे। पछाडिबाट हुँइकदै आएको बाइकले बाँदरहरुको झुण्डदेखि कस्सेर ब्रेक लगाए। स्पिडमा रहेको बाइक सडकमा चिप्लियो, बाइकवाला घिस्रिएर पर पुगे।

यो सब हाम्रै आँखाअघि घटेको थियो। त्यसरी लडेका बाइकवाला जीवित होलान् भनेर हामीले आस गरेका थिएनौं। तर उनी जुरुक्कै उठे। नजिक गएर हेर्दा कुइना र घुँडामा सामान्य चोट देखियो। कतै फ्र्याक्चर छ कि भनेर हेरियो। भाग्यवश थिएन। त्यसरी लड्दा पनि टाउकोमा कतै केही चोट थिएन। 

बच्चा बेलामा कसैले सोधेको गाउँखाने कथा याद आयो। आधा फर्सी सेफ्टीको लागि के हो?

उत्तर : हेल्मेट।

कहिले हस्तिनापुरको राज त कहिले चपरीमुनिको बास
लालबन्दी र अत्तरियाको बसाइ यात्राभरिकै सबैभन्दा कष्टकर रह्यो। डस्नामा उडुस, माथिबाट मच्छड, राम्रोसँग हावा पनि नपस्ने गुम्सिएको कोठामा चार जना। त्यसमाथि दुई भाइ भुइँमा। पेट पोल्ने पिरो तरकारी। त्यसैदिन थाहा भयो, भोजनभन्दा भोक मिठो अनि ओछ्यानभन्दा निद्रा प्यारो। गलेर लखतरान भएको शरीर आखिर जसरी पनि सुस्ताउँदो रहेछ। जस्तै कष्ट खेपे पनि अनिँदो बसिएन।

यात्रामा सधैं कष्ट मात्र कहाँ हुन्छ र। जसरी कालो बादलले शीतल बर्सात लिएर आउँछ। सेताम्मे हिउँले माटोमा उर्वरता लिएर आउँछ। त्यस्तै साइकलले उधुम दु:खपछिको सुखको मिठास बुझाउँछ। दुम्किबासदेखि दाउन्नेसम्मको उकालो ठसठस गरेर उकाल्नेले मात्र महसुस गर्न सक्छ। दाउन्नेदेखि बर्दघाटसम्म ओरालो झर्दा कुन लेभलको स्वर्गीय आनन्द  हुन्छ भन्ने कुरा। 

पथलैयादेखि चुरियामाइसम्म उक्लँदा जति कष्ट हुन्छ, त्योभन्दा हजार गुणा बढी आनन्द चुरियामाइदेखि हेटौंडा बजारसम्म ओर्लदा पाइन्छ। भालुवाङसम्म ओरालो झर्दा कति मजा आउँछ, त्यो उक्लनेलाई मात्र थाहा हुन्छ।

दाउन्ने उक्लँदै गर्दा गुरुङ होटलकी बूढी आमैले भन्नुभएको थियो, ‘दाउन्ने आयो, बाबुहरुका दु:ख पनि सकिए। अब त फिलिली न्युटलमा बुटवल।’ 

सायद जीवन पनि त्यस्तै होला। दु:ख गर्दैगर्दै दाउन्ने चढ्ने अनि केही क्षण भए पनि सुख सयलमा सयर गर्ने। 

आखिर त्यस्तै पनि भयो। अघिल्लो रात कष्टपूर्वक लालबन्दीमा काटिसकेपछि हामी हेटौंडा पुग्यौं। त्यहाँ हाम्रो भव्य स्वागत गर्न डा प्रवीण चौधरी अनि हेटौंडा राइडर्सका साथीहरु हुनुहुन्थ्यो। हाम्रै अग्रज डा प्रवीणको आतिथ्य यति गजबको थियो कि त्यस रात हामीले हेटौंडाकै सबैभन्दा भव्य रिजोर्टमा बितायौं।

यो पनि : मेची-महाकाली साइकल यात्रा-१ : इसिजीका बांगाटिंगा धर्साभन्दा अलिपर…

स्वस्थ रहन महिलालाई १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः

१. तनाव निर्मूल पार्नुहोस्ः अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। त्यसैले सकेसम्म तनाव लिनु हुँदैन। तनावरहित हुन हरदम कोसिस गर्नुपर्छ। तपाईंले लिएको तनावले तपाईंको काम बन्दैन बरु स्वास्थ्य बिगार्छ। आफूलाई तनाव नहुने उपाय खोज्ने र निरन्तर अवलम्बन गर्ने गर्नुहोस्।

२. डाइटिङ नगर्नुहोस्ः स्वस्थकर भोजनको अर्थ घरिघरि एक ग्लास वाइन, एक टुक्रा चकलेट वा केकको एक टुक्रा खानु होइन, बरु भोजनमा संयम र सुधार ल्याउनु हो। थोरै प्रोटिनयुक्त, स्वस्थ्यकर फ्याटयुक्त, कार्बोहाइड्रेट र फाइबर मिश्रित भोजन गर्नु उपयुक्त हुन्छ।

३. क्याल्सियम बढी मात्रा नलिनेः शरीरमा धेरै मात्रामा क्याल्सियम भए मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ। साथै, मुटसम्बन्धी रोगको जोखिम पनि बढ्छ। तपाईं ५० वर्षमुनि हुनुहुन्छ भने दैनिक एक हजार मिलिग्राम र ५० वर्षमाथि भए एक हजार दुई सय मिलिग्राम क्याल्सियम भए पुग्छ। यो क्याल्सियम पनि खासगरी भोजनबाट प्राप्त गर्नु उपयुक्त हुन्छ। जस्तो कि क्याल्सियमयुक्त खानेकुरा– दुध, साल्मन माछा, हाडे बदाम आदि खानुपर्छ।

४. पर्याप्त व्यायाम गर्नुहोस्ः महिलालाई मुटु बलियो पार्न र रोगप्रतिरोध क्षमता बढाउन ‘वेट बियरिङ एक्सरसाइज’ (शरीरको वजन वहन क्षमता बढाउने व्यायाम) सातामा पाँच दिन गर्नुपर्छ। जस्तै– नृत्य, जगिङ, कम्तिमा ३० मिनेट हिँड्नु, पौडी खेल्नु आदि। व्यायामले ‘ओस्टोपोरोसिस’जस्ता हाडसम्बन्धी रोग, मुटुसम्बन्धी रोग, क्यान्सर मधुमेहजस्ता रोगबाट जोगिन सघाउँछ। व्यायामले महिलामा आत्मविश्वास बढाउनुका साथै आफूप्रतिको धारणा पनि सकारात्मक बनाउने हुनाले मानसिक स्वास्थ्य सबल हुन्छ।

५. प्रजनन्बारे बेलैमा विचार गर्नुहोस्ः ३० वर्ष हाराहारीका अधिकांश महिलालाई गर्भवती हुँदा खासै समस्या आउँदैन। तर, सामान्यतया ३२ वर्षको उमेरपछि महिलाको प्रजनन् क्षमता घट्न थाल्छ। त्यसैले आफ्नो करियर बनाउन सन्तान ढिलो जन्माउने सम्बन्धमा चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ। (अहिले विदेशमा महिलाको ‘अन्डा’ वा विवाहित भए ‘भ्रुण’ नै पनि फ्रिज गर्ने प्रविधि आइसकेको छ, तर महँगो छ।)

६. गर्भ निरोधक प्रयोगः गर्भ निरोधकको प्रयोगले गर्भवती हुनबाट मात्र सुरक्षा दिँदैन, यससम्बन्धी भएका अध्ययनले पाठेघर र ओभ्यारियन क्यान्सरको जोखिम घटाउनुका साथै महिनावारी समेत नियमित गर्ने देखाएका छन्।

७. बर्सेनि स्वास्थ्य परीक्षण गराउनुहोस्ः २१ वर्ष पुगेका महिलाले ३–३ वर्षमा पाठेघरको मुख (सर्भाइकल) को क्यान्सर’ परीक्षण ‘प्याप स्मेयर टेस्ट’ गराउनुपर्छ। ३०–६५ वर्ष उमेर समूहका महिलाले ५–५ वर्षमा प्याप स्मेयर टेस्टसँगै ‘एचभिपी’ टेस्ट गर्नुपर्छ। ६५ वर्षभन्दा माथिका महिलाले भने चिकित्सकले क्यान्सरको सम्भावना न्यून बताए टेस्ट गरिरहनुपर्दैन। तर, सक्रिय यौनजीवन बिताइरहेका महिलाले भने गनोरिया, भिरिंगीजस्ता सरुवा रोगको बर्सेनि परीक्षण गराउनुपर्छ भने एचआइभीको पनि परीक्षण गराउनुपर्छ।

८. स्वस्थ यौन सम्पर्कः स्वस्थ यौन सम्पर्कले तनाव घटाउँछ भने दीर्घ (क्रोनिक) रोगको जोखिम पनि न्यून पार्छ। तर, यौनबाट आनन्द आउन छोड्यो भने त्यसले थप तनाव दिन्छ। यौन सम्पर्कमा सुख्खापन वा पीडा हुन थाले चिकित्सकसँग परामर्श लिनुपर्छ।

९. पर्याप्त सुत्नुहोस्ः व्यक्तिअनुसार कति घन्टा सुत्ने समय फरक फरक हुन सक्छ। तर, बिहान ओछ्यानबाट उठ्न अल्छि लाग्ने, छिटै थाक्ने, एकाग्र हुन कठिन हुने, ब्युझिँन कठिन हुने जस्ता कुराले तपाईं पर्याप्त सुत्नुभएको छैन भन्ने दर्शाउँछ। हालै भएका अध्ययनले निद्रा नपुग्दा मुटुसम्बन्धी रोग र मानसिक रोगको जोखिम उच्च हुने देखाएका छन्। त्यसैले शरीरलाई आराम पुग्नेगरी पर्याप्त सुत्नुपर्छ।

१०. जेनेटिक परीक्षणः स्तन क्यान्सर, ‘ओभ्यारियन क्यान्सर’ र विभिन्न दीर्घरोगको जोखिमको मात्रा थाहा पाउन र रोकथाम गर्न हिजोआज ‘जेनेटिक’ परीक्षण गर्न सकिन्छ। चिकित्सकहरूले महिलामा यस्ता रोगको जोखिम थाहा पाउन जेनेटिक परीक्षणको सहायता लिन थालेका छन्। त्यसैले चिकित्सकसँग परामर्श गरी जेनेटिक परीक्षण गरी यस्ता रोगबाट बेलैमा जोगिने उपाय गर्न सक्नुहुन्छ।

केहो अटिजम? लक्षण र रोकथाम

चाइल्ड केयरमा केटाकेटीलाई पढाउने गोमा आफ्नै छोरालाई भने ध्यान दिएर नपढेको भनेर कुट्दै थिइन्। छोराले अरु बच्चाहरुले जस्तो नपढी एकोहोरो भएर बसिरहने गरेको गोमाको भनाइ थियो। तर, उनका श्रीमान् भने आफ्नो छोराको बचाउ गरिरहेका थिए।

गोमालाई सिकाइमा व्यक्तिगत भिन्नता रहन्छ, सबैको क्षमता एकैनासको हुँदैन, मानसिक अथवा बौद्धिक क्षमताको विकास निश्चित उमेर समूहको बुद्धिअनुसार नै  हुँदै जाने हुन् भन्ने ज्ञान थिएन। श्रीमान् भने गोमासँग आफ्नो  नानीमा फरक समस्या रहेको जिकिर गरिरहन्थे। छोरा अटेरी, जिद्दी, कप्टी भएको भन्दै गोमा अफ्नो चार वर्षीय छोरालाई कराइरहन्थिन्।

श्रीमानको गगुवाइमा जब बच्चालाई बाल रोग विशेषज्ञकोमा लगियो, अनि थाहा लाग्यो, नानी कप्टी हैन, विशेष प्रकारको उपचारको पर्खाइमा पो रहेछ। त्यसपछि उसलाई व्यावहारिक थेरापीका लागि काउन्सेलिङमा  लगियो। त्यो बच्चालाई सामाजिक थेरापि अनि स्पिच थेरापिका निमित्त सम्बन्धित एक्सपर्टको सम्पर्कमा लगियो।

डाक्टरले त्यो नानीलाई ‘अटिजम’ भएको जानकारी गराए। त्यसपछि डाक्टरको सल्लाहबमोजिम उनको उपचार भइरहेको छ।

आज अटिजम सचेतना दिवस अथवा अटिजमका बारेमा सचेतना जगाउने दिन। आज सबै शिक्षित, अनुभवी र योसम्बन्धी जानकारले कम्तीमा आफ्ना सम्पर्कका परिवारलाई बुझाउने दिन। देसका विभिन्न ठाउँमा अटिजमसम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाइएको छ।

भनिन्छ, विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन्।

अटिजम के हो?
अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन। 

छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा  कठिनाइ आउने गर्छ।  

बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइहसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने मिलेर खेल्ने ईर्ष्या गर्ने गर्छन्। तर यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ।

अटिजमका लक्षण
बालबालिका दुईदेखि तीन वर्षको हुँदा अटिजमका लक्षण तथा चिह्न निगरानी गरिनुपर्छ। सामान्यतय: अटिजममा निम्नानुसारका लक्षण चिह्न तथा संकेत देखापर्छन्:

केहो अटिजम ? लक्षण र रोकथाम

– साथीभाइलाई धकेल्ने, कुटपिट  गर्ने
 – सिधा आँखा जुधाएर गफ गर्न नसक्ने
– रोइरहने
– एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने
– कुनै क्रियाकलाप गर्दा एकोहोरिने
– आफूलाई चोटपटक लागेको थाहा नपाउने
– पढाइलेखाइमा ध्यान केन्द्रित नहुने
– अरुलाई हानि पुर्या उने गतिविधि गर्ने
– बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने
– मनमा लागेको कुरा भन्न नसक्ने
– साथीभाइसँग दोहोरो सञ्चार गर्न नसक्ने

अटिजम को प्रतसत कसरी कम गर्ने.?
अटिजम यही कारणले हुन्छ भन्ने यकिन तथ्य विज्ञहरुसँगै नै नरहे पनि जेनेटिकलाई प्रमुख कारण मान्नेहरु बहुमतमा छन्। यसको कुनै उपचारभन्दा पनि नानीहरू दुई वर्ष हुँदा अथवा उसमा शारीरिक क्रियाकलाप र सञ्चारका बारेमा अवलोकन र निदान नै यो समस्याको रोकथाम हो। 

साथै समयमा नै गरिने मनोवैज्ञानिक परामर्श, सामजिक परामर्श, बोलीमा समस्या भएकाहरुलाई स्पिच थेरापी, कम्युनिकेसन यसको प्रतिशत कम गर्ने उत्तम उपाय हुन्। विशेषगरी दुई वर्षसम्मको हुँदा बच्चाको निम्न कुरामा विकास भएको छैन भने ख्याल गर्नुपर्छ:
–  १८ महिनपछि पनि हिंड्न सक्दैन भने, 
–  दैनिक प्रयोग गर्ने सामान चलाउन सक्दैन भने, 
–  १८ महिना हुँदा पनि कम्तीमा ६ शब्द प्रयोग गर्न सक्दैन भने,
–  २४ महिनाको हुँदा २ शब्द जोडेर हरफ बनाउन सक्दैन भने, 
–  बोली वा ठूलोले गर्ने कार्य नक्कल गर्दैन भने, 
–  सरल कुरा गर भन्दा पनि बुझ्दैन/गर्दैन भने,
–  पहिला सिकेको कुरा बिर्सिंदै जान्छ भने, 
 
ती वर्षको हुँदा
–  आफ्नो परिवारभन्दा बाहिरको मान्छेसँग घुलमिल गर्दैन भने, 
–  अरु बच्चाहरुसँग खेल्दैन भने, 
–  अरुसँग आँखा जुधाउन सक्दैन भने, 
–  बल फ्याँक्न सक्दैन वा उफ्रिन सक्दैन भने, 
–  २ खुट्टाले १-१ गरी सिंढी चढ्न सक्दैन भने, 
–  लेख्न सक्दैन भने, 
–  बोल्दा १ हरफमा ३ वटाभन्दा बढी शब्द प्रयोग गर्न सक्दैन भने, 
–  हरफ पूरा गर्न सक्दैन, बीचमा अड्किन्छ भने,   
–  बोली प्रस्ट छैन भने, बाहिरको मान्छेले बोली बुझ्दैनन भने, 
– दिनहुँ गरिने सामान्य कार्य आफैं गर्न सक्दैन जस्तै: लुगा लगाउने, सुत्न जाने
– पहिले सिकेको कला बिर्सिंदै गयो भने।

नेपालमै हुने उपचारका लागि विदेश जान रोक्ने प्रयासमा छौं : प्राडा मोहनराज शर्मा [अन्तर्वार्ता]

नेपाल न्युरो सर्जन समाज (निसोन) को दोस्रो अन्तर्राष्ट्रिय तथा सातौं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलनको उद्देश्य, क्रियाकलाप, नेपालमा न्युरो सर्जरीको अवस्थाबारे समाजका अध्यक्ष प्राडा मोहनराज शर्मासँग स्वास्थ्यखबरका लागि कल्पना पौडेलले गरेको कुराकानीः

निसोनले आयोजना गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय तथा सातौं राष्ट्रिय सम्मेलनको उद्देश्य के हो?
नेपाल न्युरो सर्जन समाज (निसोन) को जन्म २००८ मा भएको हो। यसको संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटा हुनुहुन्थ्यो। अहिलेको कार्यकारी कमिटी पाँचौ हो। 

विदेशी विशेषज्ञबाट हामीले ज्ञान हासिल गर्ने मात्र नभई, विदेशी विज्ञलाई पनि नेपालको न्युरो सर्जरीको अवस्था अन्तर्राष्ट्रिय स्तरको भएको महसुस गराउनु सम्मेलनको मुख्य उद्देश्य हो।

हामीले विश्व फेडेरेसन अफ न्युरोसर्जिकल सोसाइटीसँग मिलेर एजुकेसन कोर्ष पहिलो पटक नेपालमा गर्दैछौं। त्यो संस्थाको एक दिनको एजुकेसन कोर्ष नेपालमा गर्न हामी सक्षम भयौं।  

सम्मेलनको अर्को आकर्षण भनेको स्वदेश तथा विदेशमा न्युरो सर्जरीसम्बन्धी तालिम लिइरहेका र हालसालै तालिम सकेका ४० वर्षसम्मका युवा न्युरो सर्जनलाई प्रोत्साहन गर्न योङ इनभेस्टिगेटर अवार्डको पनि व्यवस्था गरेका छौं। जसमा प्रथम हुनेलाई ५० हजार र द्वितीय हुनेलाई ३० हजार रुपैयाँ दिने व्यवस्था मिलाएका छौं।

यो एजुकेसन कोर्ष किन महत्वपूर्ण छ?
विश्व फेडेरेसन अफ न्युरोसर्जिकल सोसाइटी हाम्रो सर्वोच्च संस्था हो। यो संस्थामा १ सय १९ देशका २० हजार न्युरो सर्जन आवद्ध छन्। यो संस्थाले एक दिनको कोर्ष नेपालमा गर्दैछ। फेडेरेसन र हामीले मिलेर यो कोर्ष गर्न लागेका हौं। यो कोर्ष दुई कारणले महत्वपूर्ण छ। कोर्षको राम्रो अन्तर्राष्ट्रिय फ्याकल्टी भेट्न गाह्रो छ। त्यसको खर्च सबै हामीले व्यहोर्नुपर्छ। 

एजुकेसन कोर्षमा मस्तिष्क नशा तथा मेरुदण्डसम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धान, न्युरो सर्जरी, बच्चाको न्युरो सर्जरी, दिमागको रगतको नलीसम्बन्धी रोग विशेषज्ञहरु आउनुभएको छ। 

न्युरो सर्जरीका ७/८ विधाका विशेषज्ञले रोगको निदान र उपचारबारे कसरी उपचार भइरहेको छ? नेपालमा हामीले पनि केके गरिरहेका छौं? त्यस विषयमा विचार आदानप्रादन हुनेछ।

विश्वका वरिष्ठ न्युरोसर्जनहरुले न्युरो सर्जरीमा अपनाइएका अन्तर्राष्ट्रिय पद्धति, प्रविधि र नयाँ विकास भएका उपकरणबारे बताउनेछन् भने हामीले पनि नेपालमा गरिरहेको उपचार पद्धतिबारे विचार आदानप्रदान गर्ने छौं। 

सम्मेलनमा कुनकुन देशका, कतिको संख्यामा सहभागिता हुँदै छ?
एजुकेसन कोर्षका लागि चीन, अस्ट्रेलिया, पोर्चुगल, जापान, भारत, अस्ट्रियाबाट आएका १० र नेपालका ४ न्युरो सर्जरीसम्बन्धी कार्यपत्र प्रस्तुत हुँदै छ।

स्वदेशी–विदेशी न्युरो सर्जन, न्युरोलोजिस्ट, न्युरो नर्स, फिजियोथेरापिस्ट लगायत १ सय ५० बढीको सहभागिता हुने छ। उचारका क्रममा भएका अनुभव उपचारका क्रममा आइपरेका जटिलता, सहजताको बारेमा अनुभव सेयर हुने छ। 

निसोनले यो सम्मेलनबाहेक गरिरहेका अन्य क्रियाकलाप केके हुन्?
हाम्रो मुख्य काम अन्तर्राष्ट्रिय सम्मेलन हो। त्यसबाहेक एड्भोकेसी गर्दै आएका छौं। एड्भोकेसी भन्नाले न्युरो सर्जनले केके गर्न सक्छन्, केके सुविधा छ, नेपालमा न्युरो सर्जरीसम्बन्धी उपचार कस्तो हुन्छ, कस्तो अवस्थामा बाहिर जानुपर्छ भन्ने कुरा बुझाउने काम गरिरहेका छौं। नेपालमै हुने उपचारका लागि बाहिर जान रोक्ने प्रयास गरिरहेका छौं।

अर्को महत्वपूर्ण कुरा, हामी टाउकाको बिरामी न्युरो सर्जरी भएको अस्पतालमा आउनुअघि कति वटा अस्पतालमा धोका खाएर आउँदारहेछन् भनेर अध्ययन गरिरहेका छौं। त्यो अध्ययनले अगामी दिनमा कसरी सुधार गर्ने भनेर सरकारलाई पनि फाइदा हुने विश्वास छ।

त्यसबाहेक एमबिबिएस/एमएस पढाइ हुने हरेक कलेजमा न्युरो सर्जरी पठाउने तर फुल टाइम न्युरो सर्जन नराख्ने चलन छ। यसबारे हामीले स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा कुरा राखेका छौं। किनभने जिल्लाजिल्लाका स्वास्थ्य संस्थामा उहाँहरुकै नेतृत्व हुन्छ। त्यसैले उहाँहरुलाई कस्तो अवस्थामा कहाँ रेफर गर्ने, कस्तो अवस्थामा आफैं हेर्ने भन्ने ज्ञान दिन आवश्यक छ। 

प्रचारपसार गर्ने, बस दुर्घटना रोक्न जनचेतना जगाउने, टाउकोमा चोट लाग्नबाट कसरी जोगिने, चोट लागेपछि न्युरो सर्जनकहाँ जानुपर्छ भनेर बुझाउने, कस्तो चोट लाग्दा कुन अस्पतालमा जाने भनेर बुझाउने काम पनि हामीले गर्दै आएका छौं।

अहिले नेपालको अवस्था कस्तो छ? विशेषज्ञ चिकित्सक जिल्ला जान किन मान्दैनन्?
नेपालमा टाउकोमा चोट लागिसकेपछि सम्बन्धित अस्पताल र चिकित्सककहाँ निकै ढिलोगरी पुग्दा धेरैजसो बिरामीको मृत्यु हुने वा पक्षघात हुने अवस्था धेरै छ। अन्तिम समयमा अस्पताल पुग्दा न्युरोसर्जनले चाहेर पनि केही गर्नसक्ने अवस्था हुँदैन।

नेपालमा ८० जना न्युरो सर्जन छन्। त्यसबाहेक २० जनाजति रेजिजेन्ट डाक्टर छन्। यो संख्याले अहिलेको अवस्थामा पुग्छ। तर सरकार तथा अस्पतालले काम गर्ने वातावरण बनाउनु आवश्यक छ।

धेरैजसो बिरामी सिधै न्युरो सर्जरी सेवा भएका अस्पतालमा पुग्नै सक्दैनन्। उनीहरुलाई धेरैतिर घुमाएर बल्ल सही ठाउँमा ल्याइन्छ। त्यो समयमा बिरामी, बिरामीका आफ्न्तको तनावको अवस्था र खर्चको स्थिति पनि धेरै माथि पुगिसकेको हुन्छ।

चिकित्सक राजधानी बाहिर नजाने भन्ने कुरै छैन। न्युरो सर्जरीका लागि अस्पतालमा आवश्यक उपकरण, भौतिक संरचना पनि हुनुपर्‍यो नि। आवश्यक पूर्वाधार केही नबनाउने अनि राजधानी बाहिर विशेषज्ञ चिकित्सक जाँदैनन् भन्नु गलत हो।

सरकारले आवश्यक सबै पूर्वाधार र उपकरण, औषधि व्यवस्था गरोस् निसोनले चिकित्सक पठाउने ग्यारेन्टी लिन्छ। उपकरण र भौतिक पूर्वाधार भएन भने न्युरो सर्जनले कसरी सेवा दिने?

ठूलो आन्द्रा र मलासय क्यान्सर : जोखिम कसरी घटाउने? उपचार के?

अंग्रेजी क्यालेन्डरअनुसार मार्चलाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासय क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा लिइन्छ। नेपालमा पनि यो महिनामा विभिन्न कार्यक्रम गरेर रोगको रोकथाम, उपचार लगायतका विषयमा चेतना फैलाउने काम भएको छ। 

ठूलो आन्द्रा (कोलन) र मलासय (रेक्टम) मा हुने क्यान्सर मानिसलाई हुने क्यान्सरमध्ये तेस्रो ठूलो रोगमा पर्छ। नेपालमा यो रोगका कति बिरामी छन् भन्ने आधिकारिक तथ्यांक छैन। तर, अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको हेर्दा बिरामीको संख्या निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ।

विश्वको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन्। तीमध्ये झन्डै ५० प्रतिशत अर्थात् ९ लाखले यो रोगका कारण ज्यान गुमाउने गरेका छन्। समयमा नै रोगको पहिचान हुने हो भने अकालमा हुने यो मृत्युलाई धेरै कम गर्न सकिन्छ।

नियमित स्वास्थ्य जाँच/परीक्षण गराउने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोग लाग्ने सम्भावना कम हुन्छ।
 
रोगको जोखिम कसरी घटाउने?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छः 

–    ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलासय क्यान्सरको जाँच/परीक्षण गराउने, किनकि यदि ठूलो आन्द्रा तथा मलासय क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगीमध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। 

–    पर्याप्त रेशेदार तथा चिल्लो कम भएको सन्तुलित भोजन गर्ने,

–    यदि मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, धूमपानको बानी भए तुरुन्तै त्याग्ने। मद्यपान र धूमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलासयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्छ। 

–    साताको ३ देखि ४ पटक कम्तीमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने। सामान्य शारीरिक व्यायाममा छिटो छिटो हिँड्डुल गर्ने, करेसाबारी वा बगैंचामा काम गर्ने वा भर्‍याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ। 

यो रोगको उपचार हुनसक्छ?
ठूलो आन्द्रा र मलासयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखापर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ। यस रोगको जाँच/परीक्षण विशेषतः दुई कारणले लाभदायक हुनसक्छ। 

–    यदि ठूलो आन्द्राका फोकाहरु, जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने।

–    यस रोगको उपचार धेरै सफलतापूर्वक गर्न सकिन्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ। 

रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलासयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुनसक्छ। शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि चलाउनुपर्ने हुनसक्छ। रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुन्छ। यसले समयमै र नियमित रुपमा गरिने जाँच/परीक्षणको महत्व दर्शाउँछ।

यसका अतिरिक्त चिकित्सा अध्ययनले के देखाएको छ भने, ठूलो आन्द्रा तथा मलासयका विशेषज्ञ शल्यचिकित्सक जो तत्सम्बन्धित रोगहरूको निदानात्मक एवं उपचारात्मक (चिकित्सकीय र शल्यचिकित्सकीय) प्रक्रियामा निपूर्ण हुन्छन्, तिनद्वारा उपचार गराउँदा रोगको व्यवस्थापन सहज रुपमा हुनसक्ने तथा उपचारपश्चात्का जटिलताहरु समेत कम मात्रै देखापर्ने गर्छन्।

रेबिज सुई लगाउने नयाँ तालिका : सुई लगाउँदा के खान हुने, के नहुने?

विश्व स्वस्थ संगठनले सन् २०१० मा प्रकाशित रेबिज विरुद्धको निर्देशिकामा केही परिवर्तन गरेको छ। सन् २०१७ को अक्टुबर महिनामा भएको विज्ञहरुको गहन छलफलपछि निकालिएको निर्क्योलको सिफारिसलाई विश्व स्वस्थ्य संगठनले हालै प्रकाशित गरेको निर्देशिकामा समावेश गरेको हो।

यो निर्देशिकाको मुख्य विशेषता भनेको आजसम्म लगाउँदै आइरहेको सुईको अवधि पहिलेको निर्देशिकामा उल्लेख गरेकोभन्दा छोटो हुनु हो। यसबाट उपचार गर्दा लाग्ने समय अवधि र आर्थिक भार कम हुनेछ।
  
नेपालले पनि रेबिज विरुद्धको सुई लगाउने अवधिलाई छोट्याएको छ। यो नयाँ तालिका केही दिनयता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले पनि लागू गरिसकेको छ।

धेरै स्वास्थकर्मीले अहिले पनि पुरानै तालिका प्रयोग गरिरहेको र सुई लगाइरहेकाहरुबीच पनि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउँदा लगाउने अवधिलाई लिएर केही अन्योल छाएको देखिन्छ। 

नयाँ तालिकामा के छ?
रेबिज विरुद्धको सुई हाल दुई प्रकारले लगाउने गरिन्छ। 
१) छाला मुनि लगाउने।  
२) मासु मुनि लगाउने।   

छाला मुनि लगाउने- नयाँ तालिकाअनुसार छाला मुनि लगाउँदा अब तीन पटक मात्र लगाए हुन्छ। योभन्दा अगाडि चार पटक लगाउनु पर्थ्यो। यो तरिका अनुसार हरेक पटक आउँदा  ०.१ एमएल दुई पाखुराको छाला मुनि दिने गरिन्छ। यो तालिमप्राप्त स्वस्थकर्मीहरुबाट मात्र लिनुपर्छ। 

मासु मुनि लगाउने- यो तरिकाबाट लगाउँदा अब चार पटक लगाए पुग्छ। यो भन्दा अगाडि पाँच पटक लगाउनु पर्थ्यो। यो एक पटकमा एक भाइल एउटा पाखुराको मासु मुनि दिने गरिन्छ। यो टिटानसको सुई जस्तैगरी मासु मुनि दिने भएकोले अस्पताल आउन समय नहुनेले बाहिर पनि लगाउन सक्छन्।  
  
सुई लगाउँदा के खान हुने के नहुने?
यो प्रश्न सबैभन्दा बढी सुई लगाउन आउनेले सोध्ने गरेको पाइन्छ। सुई लगाउने अवधिभर यो अथवा त्यो खाने वा नखाने भन्ने हुँदैन तर धूमपान, मधिरापान, खैनी जस्ता अम्मल छोड्नु राम्रो हुन्छ। 

(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

के हो युनिभर्सल हेल्थ कभरेज? नेपालले लक्ष्य पूरा गर्न कस्ता छन् चुनौती?

काठमाडौं— आज विश्व स्वास्थ्य दिवस। विश्व स्वास्थ्य संगठनले यो पटकको नारा ‘युनिभर्सल हेल्थ कभरेज ः सबैजना, सबै ठाउँमा’ तय गरेको छ।

दिगो विकास लक्ष्यमध्येको एउटा प्रमुख लक्ष्य स्वास्थ्यमा पहुँच पनि हो। विश्वभरमा जस्तै नेपालमा पनि यही नाराका साथमा यो दिवस मनाइँदै छ।

धेरै नागरिक स्वास्थ्यको आधारभूत पहँुचभन्दा बाहिर रहेको अवस्था छ। गरिबीका कारण धेरैको पहिलो रोजाई गाँस, बास र लत्ता कपडाको जोहो गर्नु हो। यी कुराहरुको जोहो भएपछि मात्र मानिस स्वास्थ्यका बारेमा सोच्न सक्छन्। 

नेपालको मात्र नभई यो विश्वव्यापी समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार  विश्वका लाखौं मानिसको अझै पनि स्वास्थ्य हेरविचारमा कुनै पहुँच पुग्न सकेको छैन। 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले निर्माण गर्ने नीति, नियम  र कार्यक्रमहरु पनि दिगो विकास लक्ष्यलाई आधार मानेर निर्माण गर्ने गरेको छ। 

मन्त्रालयले भर्खरै बनाएको स्वास्थ्यको पञ्चवर्षीय योजना पनि दिगो विकास लक्ष्यलाई आधार मानेर तय गरेको छ। 

स्वास्थ्यमा हरेक सुमदायका हरेक नागरिकको सहज पहुँच पुर्‍याउने यो लक्ष्य नेपालले पूरा गर्न सक्ला त?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ भन्छन्ः


सन् १९७७ मा सबै नागरिकले न्यूनतम स्वास्थ्य सेवा पाउनुपर्छ भनेर कन्सेप्ट बनेको थियो।

त्यसको एक वर्षपछि सन् १९७८ मा भएको विश्व सम्मेलनले यो कन्सेप्ट पारित गर्दै कुनै पनि ठाउँको कुनै पनि नागरिक न्यूनतम स्वास्थ्य सेवा पाउनबाट बन्चित हुनुहुँदैन भनेर बोलेको थियो।

नागरिकले औषधि, स्थानीय महामारीको उपचार, स–साना चोटपटकको औषधोपचार, सबै प्रकारका खोप, पोषण, परिवार नियोजन सेवा लगायतका न्यूनतम सेवा पाउनुपर्ने कुरा बोलिएको थियो। 

त्यो समयमा न्यूतनम स्वास्थ्य सेवाबारे बोलियो तर यसको आर्थिक पक्षका बारेमा केही बोलिएन।

आर्थिक रुपमा कमजोर भएकाले सेवा पाउन सक्दैनन् कि भन्ने कुरा पनि उठ्यो। 

त्यसपछि सन् २००० मा भएको अर्को सम्मेलनले आर्थिक अभावका कारणले कोही पनि नागरिक स्वास्थ्य सेवाबाट वन्चित हुनुहँुदैन भन्यो। तर यो सम्मेलनले केके सेवा निःशुल्क हुने भन्नेबारे बोलेको छैन। ती सेवा हरेक राष्ट्रले आफ्नो आवश्यकता अनुसार दिनुपर्छ। 

नेपालले यो लक्ष्य प्राप्तिका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्य बिमा लगायतका कार्यक्रम लागू गरेको छ। आर्थिक अभावको कारण कोही पनि स्वास्थ्य सेवा पाउनबाट बन्चित नहुन् भनेर विपन्न नागरिक उपचार, निःशुल्क औषधि, कडा रोगमा आर्थिक सहयोग पनि गर्ने गरेको छ। 

संयुक्त राष्ट्रसंघको सहश्राब्दी विकास लक्ष्यमा नेपालले पनि लक्ष्य प्राप्तिका लागि थुप्रै काम गरेको छ। यो लक्ष्य हासिल गर्न सफल हुने विश्वास पनि छ। 

हरेक पालिकादेखि वडासम्म स्वास्थ्य सेवा दिन थालिएको छ। सोही अनुसार स्वास्थ्य संस्थाको निर्माण पनि भइरहेका छन्।  

हामीकहाँ यो लक्ष्य प्राप्तिका लागि केही चुनौती पनि छन्। बोलेको जस्तै सजिलै लक्ष्य प्राप्त गर्न गाह्रो छ। 

अझै पनि धेरै स्थानमा आवश्यकता अनुसार स्वास्थ्य संस्था छैनन्। स्वास्थ्य संस्था भएका स्थानमा जनशक्ति छैनन्। स्वास्थ्य संस्था र जनशक्ति पुगेको स्थानमा आवश्यक औषधि उपचारका लागि उपकरणको व्यवस्था हुन सकेको छैन। 

यी यावत् चुनौतीसँगै सबैलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउन हामी सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ।

मन्त्रीज्यू, माफ पाउँ

कर्मचारी समायोजनका विषयमा हामी स्वास्थ्यकर्मीले कहिले समायोजनको सूची आउला भनेर व्यग्र प्रतीक्षा गरिरहेकै अवस्थामा कति पटक तपाईंलाई नराम्रो बचन समेत लगाइयो। बल्ल आज मैले थाहा पाएँ, वास्तवमा कर्मचारी समायोजन सकिएको विषयमा तपाईंले गरेको पत्रकार सम्मेलन सही रहेछl

कर्मचारी भनेको प्रशासन अन्तर्गतका कर्मचारी मात्र हुन्, उनीहरुको संघमा  समायोजन भयो भनी घोषणा गर्नसक्नु अत्यन्त प्रशंसनीय कार्य हो। यस्तो महान कार्य समापन गरेर संसारका देशहरुलाई छक्क पारेको कुरो मैले नबुझेको रहेछुl प्राविधिक कर्मचारीलाई एउटा दरबन्दी देखाई रोज्न लगाएको नाटक गरी पछि उक्त दरबन्दी संसोधन गरिएकोले समायोजन नमिलेको भनी सामान्य नागरिकले प्राप्त गर्नुपर्ने सूचनाको मौलिक हक (नेपालको संविधानको धारा २७) समेतबाट बन्चित गर्दा समेत केही नबोली आफ्नो काममा निरन्तर लागिरहने पनि कर्मचारी हुन सक्छन् र?

हो मन्त्रीज्यू, हजुरले गरेको कर्मचारीको परिभाषा सही रहेछl प्राविधिकहरु पनि कर्मचारी हुन् भन्ने कुरा यसअघि सूची आउट भएका शिक्षाका प्राविधिक कर्मचारी, नवौं, दसौं तहका उपसचिवहरु, संघअन्तर्गत रहेका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (जो छैटौं, सातौं) तहको मातहतमा स्थानीय तहमा नै समायोजन भएका छन् त्यसबाट थाहा पाउनुपर्थ्यो।

त्यसैगरी समायोजन गरिएका महिला विकासका प्राविधिक कर्मचारी, जसको घरबार नै बिचल्ली हुनेगरी समायोजन ऐनले  परिभाषित गरेको कुनै प्रकारले पनि समायोजन गर्न सकिने भन्ने पुष्टि हुने आधारसँग मेल नखानेगरी स्थानीय तहमा समायोजन भएको छ।

यस्तै कृषि तथा पशु स्वास्थ्यका प्राविधिक कर्मचारी र हालसालै गरिएको आठौं तहका स्वास्थ्यका कर्मचारी (मेडिकल अधिकृत) हरुको समायोजनको नतिजाबाट प्राविधिकहरु पनि कर्मचारी हुन् भन्ने मैले थाहा पाउनु पर्थ्यो। यति सानो विषय पनि जानकारी नराखी र आफूलाई एउटा प्राविधिक हो भन्ने नबुझी तपाईंप्रति गरिएको गालीगलोज सम्बन्धमा माफी चाहन्छुl  

सामाजिक विकास मन्त्रालय, प्रदेश ३ , हेटौंडा

‘स्क्रब’ नर्सले दह्रो मुटु बनाएर काम गर्नुपर्छ

शिक्षण अस्पताल महाराजगञ्जकी नर्स हुन् श्रीदेवी शर्मा। उनी ६ वर्षदेखि अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत छिन्। एक महिनाको प्रयोगात्मक अभ्यासकै भरमा शल्यक्रिया कक्षको स्क्रब नर्सजस्तो चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्न पुगिन् शर्मा। शल्यक्रिया कक्षमा काम गर्न थालेको ६ वर्षको अवधिसम्म उनले कुनै तालिम समेत लिन पाएकी छैनन्।

सुरु–सुरुमा शल्यक्रिया कक्षमा काम गर्न रमाइलो लागे पनि तालिमको व्यवस्था नहुँदा विस्तारै मनोबल घट्दै जाने अनुभव छ नर्स शर्माको। शल्यक्रिया कक्षमा रहेर शल्य चिकित्सकको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने भएकोले स्क्रब नर्सलाई नयाँ–नयाँ उपकरणको बारेमा जानकार बनाउनुपर्ने उनको धारणा छ। स्क्रब नर्स भएर भोगेका अनुभव उनकै शब्दमा :

पिसिएल नर्स पढ्दैगर्दा मलाई एक महिना शल्यक्रिया कक्षमा प्रयोगात्मक अभ्यास गर्ने मौका मिलेको थियो। शल्यक्रिया कक्षमा काम गर्ने दिदीहरुले जस्तोसुकै मुस्किल अवस्थामा पनि सबै काम छिटोछिटो गरेको देख्दा लाग्थ्यो, म पनि पढाइ सकिनासाथ शल्यक्रिया कक्षमा काम गर्ने  नर्स बन्छु। 

पिसिएल नर्सको पढाइ पूरा हुनासाथ सिभिल सर्भिस हस्पिटलमा काम गर्ने अवसर मिल्यो। त्यहाँ एनेस्थेसिया नर्स (शल्यक्रिया गर्नुभन्दा पहिला बिरामीलाई बेहोस बनाउने नर्स) भएर काम गर्ने अवसर प्राप्त भयो। त्यहाँको अनुभवले टिचिङ अस्पतालमा स्क्रब नर्स भएर काम गर्न सहज भयो। 

शल्यक्रिया कक्षमा काम गर्दा धेरै कुरा सिक्ने मौका मिल्छ। टिममा काम गर्ने भएकाले घरकै जस्तो वातावरण अनुभुति गर्न पाइन्छ। 

शल्यक्रिया कक्षमा काम गर्न सजिलो भने छैन। केस हेरेर ५÷६ घन्टासम्म पनि भोक, तिर्खा त्यागेर उभिनु पर्छ। जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि बाहिर निस्कन पाइँदैन। स्क्रब नर्सले बिरामीसँग  भावुक हुनुभन्दा शल्यक्रियालाई कसरी सफल बनाउने भन्नेमा ध्यान दिन जरुरी छ।

स्क्रब नर्सको बिरामीसँग भावनात्मक सम्बन्ध हँुदैन। बिरामीसँग कुराकानी गर्ने अवस्था नै रहँदैन, किनकि शल्यक्रिया कक्षमा पस्नासाथ बिरामी बेहोस भइसकेका हुन्छन्। तर पनि आफूले शल्यक्रियामा सहयोग गरेको बिरामी कस्तो अवस्थामा छ भनेर हेर्न मन लाग्छ। कुनै बेलामा विशेष कारण शल्यक्रिया सफल हुन सकेन भने धेरै दुःख लाग्छ।   
 
जीवनको महत्व बुझाउने घटना 
शल्यक्रिया कक्षमा धेरैजसो दुर्घटनाका बिरामी आउँछन्। एउटा घटना मलाई अझै पनि याद छ। भूकम्पको बेला, एक जना १८ वर्षका किशोर घरले थिचेर हात–खुट्टा कामै नलाग्ने अवस्थामा आएका थिए। उनको हात–खुट्टा काटेर फाल्नु परेको थियो। त्यो घटनाले मलाई निकै दुःखी तुल्यायो। हात–खुट्टा गुमाएर बाँच्नु निकै पीडादायी हुन्छ। उनलाई अहिले पनि सम्झन्छु।

अर्को दुःखदायी घटनाले पनि मलाई झस्काइरहन्छ। १८÷१९ वर्षकी एक किशोरी जो सवारी चालक अनुमतीपत्र लिएकै दिन स्कुटर दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा उनको शरीरका भित्री अंग नै बाहिर निस्केका थिए। सबै विभागका डाक्टरहरु आएर शल्यक्रिया गर्दा पनि उनलाई बचाउन सकिएन।  

कति सुन्दर मान्छेहरु जलेर अनुहार नै पहिचान गर्न नसकिने अवस्था अस्पताल आउँछन्। अनुहारको स्टक्चर नै बिग्रिएर परिवारले नै नचिन्ने अवस्थामा पुगेको हुन्छ। हातमा ट्याटु बनाएर हिँड्ने मानिसको इन्फेक्सन भएर हात नै काटेर फाल्नुपर्ने अवस्थासम्म सिर्जना हुने गर्छ। यस्ता घटना देख्दा जीवन कति महत्वपूर्ण छ भन्ने कुरा सिकाउँछ। 

यस्ता दुखद घटनासँग प्रत्यक्ष जोडिएको छु म। यस्ता घटनाले जीवनमा सबैसँग मिलेर हाँसीखुसी बाँच्नु पर्छ, कसैलाई दुःख दिनु हँुँदैन भन्ने सिकाउँछ। आफ्नो काम इमान्दारपूर्वक गर्नुपर्छ भन्ने ज्ञान दिलाउँछ। सवारी साधन चलाउँदा पनि निकै सावधानी अपनाउन म सबैलाई अनुरोध समेत गर्छ चाहन्छ।

साहसी हुनुपर्छ स्क्रब नर्स 
स्क्रब नर्स भावनामा बग्नु हुँदैन। दिन–रात सर्जरी गर्ने डाक्टरलाई सहयोग गर्नुपर्ने हुँदा रगत र घाउको सामना गर्नुपर्छ। दह्रो मुटु बनाएर काम गर्नुपर्छ। सुरुसुरुमा त मेरा कतिपय साथीहरु रगत देखेर बेहोस हुन्थे। म नर्स पढ्ने बेलामा एक महिना प्रयोगात्मक अभ्यास गरेको हुनाले आत्मबल बलियो बनाएर काम गर्ने प्रयास गर्छु। सुरुदेखि नै मेरो कारणले शल्यक्रियामा समस्या आउला भनेर धेरै चिन्ता लाग्थ्यो। सुरु–सुरुमा सपनामा पनि शल्यक्रिया भएको देख्थें, सायद त्यसैको बारेमा धेरै सोचेर होला। 

सानो गल्तीले संक्रमणको डर
शल्यक्रिया कक्षभित्र प्रयोग हुने सामान, लगाउने लुगा सबै किटाणुरहित बनाइएको हुन्छ। त्यसलाई संक्रमणरहित राख्न स्क्रब नर्सको ठूलो भूमिका हुन्छ। शल्यक्रिया कक्षभित्र काम गर्ने स्क्रब नर्सको सानो लापरबाहीले बिरामीलाई संक्रमण हुनसक्छ। त्यसैले शल्यक्रिया कक्षभित्र सानो–ठूलो केसको सरसफाइमा बराबरी ध्यान दिनुपर्छ। शल्यक्रिया गर्दा थुप्रै जटिलता आउन सक्छन्। त्यसैले पहिले नै तयारी अवस्थामा बस्नुपर्छ। कसरी संक्रमणबाट बचाउने शल्यक्रिया कसरी सफलतापूर्वक व्यवस्थापन गर्ने भन्ने कुरामा ध्यान हुनुपर्छ। 

तालिमको व्यवस्था छैन 
मैले टिचिङ अस्पतालको शल्यक्रिया कक्षमा स्क्रब नर्स भएर काम गर्न सुरु गरेको ६ वर्ष भयो। तर अहिलेसम्म कुनै तालिमको व्यवस्था छैन। सुरु–सुरुमा त काम गर्न रमाइलो हुन्छ। काम गर्दै जाँदा हौसला प्रदान गर्ने र नयाँ–नयाँ कुरा सिकाउने तालिमको जरुरत पर्छ। तर हामीकहाँ त्यस्तो व्यवस्था छैन। कहिलेकाहीं तालिमको अवसर आयो भने पनि हामीभन्दा माथिल्लो तहमा रहेका दिदीहरु जानुहुन्छ। त्यसो गर्दा हामी नयाँ पिढीले सिक्ने मौका पाउँदैनौं र सेवालाई गुणस्तरीय बनाउन सक्दैनौं। त्यही कारणले नर्सहरु काम नै छोडेर विदेश गएका थुप्रै उदाहरण छन्। 

जोखिम भत्ता पनि छैन 
शल्यक्रिया कक्षमा काम गर्दा विभिन्न किसिमका ग्याँस, एक्सरे मेसिनसँग एक्सपोज हुनुपर्छ। अन्य स्वास्थ्यकर्मीले त्यस्तो मेसिनमा एक्सपोज भएबापत जोखिम भत्ता पाउने व्यवस्था छ तर नर्सहरुलाई कुनै भत्ता हुँदैन। नर्सले जोखिम भत्ता नपाउँदा दुःख लाग्छ।

पुरानो पोस्ट